वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार अमिताभ बच्चन दासले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै मतदाताहरूको घरदैलोमा पुग्न थालेका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार दासले मंगलबार पर्सागढी नगरपालिकाका विभिन्न वडामा उत्साहपूर्ण घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । वडा नम्बर १ र २ अन्तर्गतका पशुपति नगर, बसबरिया, गुलरिया, कटानी, छतिवनटारी र शान्तिनगर क्षेत्रका मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो उम्मेदवारी र पार्टीका एजेन्डाहरूबारे स्पष्ट पारे ।
घरदैलोका क्रममा मतदाताहरूसँग कुरा गर्दै उम्मेदवार दासले पर्सा क्षेत्र नम्बर २ को विकासका लागि आफूसँग स्पष्ट खाका रहेको दाबी गरे । उनले भने, "हाम्रो क्षेत्र कृषिमा धनी छ, तर किसानले उचित मूल्य र प्रविधि पाएका छैनन् । म निर्वाचित भएमा पर्सालाई 'कृषि हब' को रूपमा विकास गर्नेछु।"
उनले थप प्रतिबद्धता जनाउँदै युवाहरू विदेशिनु पर्ने बाध्यता अन्त्य गर्न स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने, गरिब तथा विपन्नका लागि निःशुल्क प्राविधिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्याउने आश्वासन दिए ।
प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘आँखा’ छाप लिएर मैदानमा उत्रिएका दासलाई स्थानीय मतदाताले सकारात्मक प्रतिक्रिया दिएका छन् । विकास, सुशासन र सामाजिक सेवालाई मुख्य प्राथमिकतामा राखेर अघि बढेको भन्दै स्थानीयले दासको एजेन्डाप्रति ऐक्यबद्धता जनाएका छन् ।
भेटघाटका क्रममा केही मतदाताले दासलाई 'आँखा' छापमा मतदान गरी विजयी गराउने उत्साह व्यक्त गर्दै क्षेत्रको अधुरो विकास निर्माणका कार्यहरू पूरा गर्न आग्रह गरेका थिए ।
पार्टीले पर्सा २ मा यसपटक विकासप्रेमी र नयाँ सोच भएको नेतृत्वलाई जनताले छान्ने विश्वास लिएको छ । घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा सुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।