वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले मधेश आन्दोलनका शहीद दिलिप चौरसियाको परिवारसँग भेटघाट गरेका छन् । चुनावी घरदैलो कार्यक्रमका क्रममा वीरगन्ज महानगरपालिका-२२, जगरनाथपुर पुगेका पन्तले शहीद चौरसियाकी आमा रामज्योति देवी र दाजु पृथ्वीनारायण चौरसियालगायत परिवारका सदस्यहरूसँग भेट गरेका हुन् ।
भेटका क्रममा शहीद परिवारले मधेशवादी दलका नेताहरूप्रति कडा आक्रोश र दुःख व्यक्त गरेका छन् । मधेश आन्दोलनको जगमा आफ्नो राजनीतिक दुनो सोझ्याएका नेताहरू अहिले आएर आन्दोलनकारीमाथि गोली चलाउने दलहरूसँगै मिलेर सत्ताको खेलमा लागेको भन्दै उनीहरूले यसलाई शहीदको बलिदानको उपहास भएको बताए । "जसले मधेसीको हत्या गरे, तिनै दलसँग मिलेर हाम्रा छोराहरूको बलिदान बिर्सिए," परिवारले भने, "अब हाम्रो पूर्ण समर्थन र आशाको केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी नै हो।"
सो अवसरमा रास्वपाका पर्सा सभापति समेत रहेका उम्मेदवार पन्तले मधेस आन्दोलनका शहीदहरूलाई राज्यले गर्ने व्यवहारमा विभेद गर्न नहुने बताए । उनले मधेश आन्दोलनका शहीदहरूलाई पनि 'जेन्जी' (नयाँ पुस्ताको) आन्दोलनका शहीद सरह सम्मान र व्यवहार दिलाउन आफूले राज्यलाई निरन्तर घचघचाउने प्रतिबद्धता व्यक्त गरे ।
मंगलबार जगरनाथपुरमा आयोजित घरदैलो कार्यक्रममा स्थानीयको उत्साहपूर्ण सहभागिता थियो । श्रीराम जानकी मन्दिरमा पूजाअर्चना गरी सुरु भएको घरदैलो कार्यक्रम जगरनाथपुर चोक हुँदै वडाका विभिन्न टोलहरूमा पुगेको थियो ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले शिक्षा, रोजगारी, खानेपानी, सरसफाइ, सडक, स्वास्थ्य र सुशासनका क्षेत्रमा देखिएका समस्याहरूबारे पन्तलाई ध्यानाकर्षण गराएका थिए । उम्मेदवार पन्तले जनस्तरबाट आएका सुझाव र समस्याहरूलाई टिपोट गर्दै आफूले जितेमा ती समस्याहरूको समाधानमुखी पहल गर्ने र सधैं जनताको साथमा रहने वाचा गरे ।
कार्यक्रममा रास्वपाका नेता-कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो । निर्वाचन परिचालन समिति वीरगञ्ज-२२ का संयोजक युवराज पटेलले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीय र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरे । रास्वपाले आगामी दिनमा पनि यस्ता जनस्तरका संवाद र घरदैलो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।