मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै जनमत पार्टीसँग पनि औपचारिक रूपमा नाता तोडेका छन्।
सिंहले सोमबार प्रदेशसभा सदस्यबाट विधिवत रूपमा राजीनामा दिएको जानकारी गराउँदै जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बाहिरिएको घोषणा गरेका हुन्।
‘आज विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएँ । साथै जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको छु,’ सिंहले भने।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिंहले आफ्नै छुट्टै राजनीतिक दल दर्ता गरिसकेका छन्। आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गरिएको र सोही पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका उनी निकट स्रोतले जनाएको छ।
सिंह २०७९ सालको निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीको तर्फबाट निर्वाचित भएका थिए। जनमत पार्टीले उनलाई मधेश प्रदेशसभाको अर्थ समितिको सभापति बनाएको थियो भने पछि मुख्यमन्त्रीको जिम्मेवारीसमेत दिएको थियो।
जेनजी आन्दोलनको क्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतको निर्देशनमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका सिंहले पछि आफ्नो अभिव्यक्ति फेरेपछि पार्टीसँगको सम्बन्ध विवादित बनेको थियो। त्यसपछि जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै उनी पार्टीभित्र अलग–थलग पर्दै आएका थिए।
यसअघि सिंह २०७४ देखि २०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षसमेत थिए। ४३ वर्षीय सिंह तिलाठी कोइलाडी गाउँपालिका–४, तिलाठीका स्थायी बासिन्दा हुन्।