जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलले मन्त्रालयका कर्मचारीहरूलाई झारा टार्ने शैलीमा काम नगर्न कडा निर्देशन दिएका छन् । शपथग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा उनले अब भाषण र कागजी योजनाभन्दा ठोस नतिजा देखिनुपर्ने स्पष्ट पारे ।
मन्त्री पटेलले कर्मचारीहरूलाई लक्ष्य गर्दै भने, “म भाषण होइन, काम मन पराउँछु। कागजमै सीमित योजना, ढिलासुस्ती र जिम्मेवारीबाट पन्छिने प्रवृत्ति अब स्वीकार्य हुँदैन ।” उनले मन्त्रालयलाई नतिजामुखी, जिम्मेवार र किसानमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।
मधेस प्रदेश कृषिमा आधारित प्रदेश भएकाले यहाँका किसानहरू गम्भीर समस्यामा रहेको उल्लेख गर्दै मन्त्री पटेलले मलखाद्यको अभाव, सिँचाइको समस्या, उत्पादन लागतको वृद्धि र बजार व्यवस्थापनजस्ता विषयमा कर्मचारीहरू अझै पर्याप्त संवेदनशील नदेखिएकोप्रति असन्तुष्टि जनाए ।
“किसानका समस्या टार्ने होइन, समाधान गर्ने जिम्मेवारी तपाईंहरूको हो,” उनले कडा शब्दमा भने, “झारा टार्ने काम मलाई मन पर्दैन, र अब त्यो चल्ने पनि छैन।”
मन्त्री पटेलले मधेस प्रदेशलाई कृषिमा देशकै नमुना प्रदेश बनाउने लक्ष्य हासिल गर्न कर्मचारीहरूको भूमिका निर्णायक हुने उल्लेख गरे। उनले सबै कर्मचारीलाई दत्तचित्त भएर फिल्डमा खटिन र किसानसँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्न निर्देशन दिए ।
कार्यक्रममा मन्त्रालयका अधिकारीहरूले प्रदेशको कृषि अवस्था, किसानका विद्यमान समस्या र चुनौतीबारे मन्त्री पटेललाई ब्रिफिङ गरेका थिए । ब्रिफिङपछि मन्त्री पटेलले समस्या थाहा पाएर पनि निष्क्रिय बस्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने स्पष्ट सन्देश दिए ।
किसानलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह नदेखिए मन्त्रालयभित्रै जवाफदेहिता खोजिने संकेत गर्दै उनले भने, “अब कामको मूल्याङ्कन नतिजाका आधारमा हुन्छ। परिणाम देखिने गरी काम गर्नुहोस्।”