फुटबल स्टार लियोनल मेसीको भारत भ्रमणका क्रममा उनीलाई ८९ करोड भारतीय रुपैयाँ पारिश्रमिक दिइएको र भारतीय सरकारले ११ करोड रुपैयाँ कर प्राप्त गरेको खुलासा भएको छ । यो जानकारी कोलकातामा आयोजना गरिएको लियोनल मेसी GOAT इन्डिया टुर कार्यक्रमका मुख्य आयोजक सतद्रु दत्ताले अनुसन्धानकर्तासमक्ष दिएको बयानका आधारमा सार्वजनिक भएको हो ।
डिसेम्बर १३ मा कोलकाताको साल्ट लेक स्टेडियममा आयोजना गरिएको उक्त कार्यक्रमपछि दत्तालाई पक्राउ गरिएको थियो । कार्यक्रमको अव्यवस्थापन र तोडफोड घटनाको अनुसन्धानका लागि गठन गरिएको विशेष अनुसन्धान टोली (एसआईटी) समक्ष दत्ताले दिएको बयान उद्धृत गर्दै समाचार संस्था पीटीआईले यो विवरण सार्वजनिक गरेको हो ।
दत्ताका अनुसार मेसीको भारत भ्रमणमा कुल खर्च करिब १०० करोड रुपैयाँ पुगेको छ । यसमध्ये ३० प्रतिशत रकम प्रायोजकबाट जुटाइएको थियो भने अर्को ३० प्रतिशत टिकट बिक्रीबाट उठाइएको थियो ।
कार्यक्रम अव्यवस्थित, दर्शक आक्रोशित
कार्यक्रम हेर्न हजारौँ दर्शकले महँगो टिकट खरिद गरेका थिए । तर, मैदानमै ठूलो संख्यामा मानिस प्रवेश गरी मेसीलाई घेराबन्दी गरेपछि ग्यालरीबाट मेसी प्रस्ट देखिन नसक्ने अवस्था सिर्जना भयो । यसले दर्शकहरू आक्रोशित बने र पछि स्टेडियमका केही भागमा तोडफोडसमेत भएको थियो ।
यस घटनापछि वरिष्ठ आईपीएस अधिकृतहरू पियुष पाण्डे, जावेद शमीम, सुप्रतिम सरकार र मुरलीधर सम्मिलित विशेष अनुसन्धान टोली गठन गरिएको हो । एसआईटीले सुरक्षामा कमजोरी, पहुँच उल्लंघन तथा आयोजक र सम्बन्धित अधिकारीहरूको भूमिकाबारे अनुसन्धान गरिरहेको छ ।
‘प्रभावशाली व्यक्ति’ कारण अव्यवस्था भएको दाबी
सतद्रु दत्ताले प्रारम्भमा मैदान प्रवेशका लागि १५० वटा मात्र ग्राउन्ड पास जारी गरिएको तर एक ‘अत्यन्त प्रभावशाली व्यक्ति’ स्टेडियम पुगेपछि त्यो संख्या तीन गुणा बढाइएको दाबी गरेका छन् । ती व्यक्तिले आफूलाई दबाबमा पारेको र त्यसपछि कार्यक्रमको सम्पूर्ण व्यवस्थापन बिग्रिएको उनले बताएका छन् ।
एसआईटीका एक अधिकारीका अनुसार, ग्राउन्ड पासको संख्या अचानक बढाइएपछि भीड नियन्त्रण पूर्ण रूपमा असफल भएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।
मेसीलाई छोइन नदिन आग्रह गरिएको थियो
दत्ताले मेसीको सुरक्षामा खटिएका विदेशी सुरक्षाकर्मीहरूले कार्यक्रमअघि नै मेसीलाई पछाडिबाट छोइन नहुने वा अँगालो हालिन नहुने स्पष्ट निर्देशन दिएको बताएका छन् । तर, सार्वजनिक उद्घोषणाका बाबजुद भीड नियन्त्रण हुन नसकेको र मेसीलाई घेरेर छोइने तथा अँगालो हालिने व्यवहार विश्वकप विजेता फुटबलरका लागि अस्वीकार्य भएको उनले अनुसन्धानकर्तालाई बताएका छन् ।
खेलकुद मन्त्रीले राजीनामा दिए
कार्यक्रमभरि पश्चिम बंगालका खेलकुद मन्त्री अरूप बिस्वास मेसीको नजिक देखिएका थिए । सार्वजनिक तस्बिर तथा भिडियोमा बिस्वासले मेसीलाई कम्मरबाट समातेर फोटो खिचेको देखिएपछि उनको आलोचना भएको थियो ।
बिस्वासमाथि आफ्नो प्रभाव प्रयोग गरी आफन्त र चिनजानका व्यक्तिलाई मैदानमा प्रवेश गराएको आरोप लागेपछि उनले अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि खेलकुद मन्त्री पदबाट राजीनामा दिएका छन् ।
अनुसन्धानकर्ताहरूले मैदान क्षेत्रमा यति ठूलो संख्यामा मानिस कसरी प्रवेश गर्न सफल भए भन्ने विषयमा पनि थप छानबिन गरिरहेका छन् ।