भारतको गुजरात राज्यस्थित अहमदाबादका थुप्रै प्रतिष्ठित विद्यालयमा सोमबार बम राखिएको धम्की दिने इमेल आएपछि हड्कम्प मच्चिएको छ। “हामी बदला लिन्छौँ” भन्ने आशयको धम्की इमेल करिब १० वटा विद्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
जोन–१ का प्रहरी उपआयुक्त हर्षद पटेलका अनुसार अहमदाबादका करिब १० विद्यालयमा धम्कीपूर्ण इमेल प्राप्त भएपछि प्रहरीका विभिन्न टोलीले तत्कालै विद्यालय परिसरमा खोजतलास सुरु गरेका छन्। प्रारम्भिक जाँचमा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको र सुरक्षाका कारण दिउँसोको सत्रका कक्षाहरू स्थगित गरिएको उनले जानकारी दिए।
पटेलले भने, “अहमदाबादका करिब १० विद्यालयमा बम धम्कीको इमेल आएको छ। महानगर प्रहरीका वरिष्ठ अधिकारी, स्थानीय प्रहरी चौकीका प्रमुख तथा अन्य टोलीले विद्यालय परिसरमा जाँच गरिरहेका छन्। अहिलेसम्म कुनै पनि विद्यालयमा शंकास्पद सामग्री फेला परेको छैन। दिउँसोका कक्षा स्थगित वा सारिएका छन्। इमेलको स्रोतबारे साइबर अपराध शाखाले अनुसन्धान गरिरहेको छ।”
धम्की प्राप्त गर्ने विद्यालयहरूमा वेजलपुरस्थित जाइडस स्कूल, जेब्रा स्कूल, महाराजा अग्रसेन स्कूल, वास्त्रापुरको निर्माण स्कूल तथा डीएभी इन्टरनेशनल स्कूल रहेका छन्।
इमेलको ठ्याक्कै विवरण सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ, किनभने घटनाबारे अनुसन्धान जारी छ।
धम्कीको गम्भीरताका कारण विद्यालय प्रशासनले तत्काल प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि अहमदाबाद प्रहरीले सुरक्षा टोली तथा कुकुर दस्ता परिचालन गरी विद्यालय परिसरको निरीक्षण गरेको थियो। अभिभावकलाई तत्काल विद्यालयमा आएर आफ्ना बालबालिका लैजान सूचित गरिएको थियो।
प्रहरीका अनुसार अभिभावकलाई पठाइएको सूचनामा भनिएको थियो, “केही असहज परिस्थितिका कारण विद्यालय परिसर खाली गर्नुपर्ने भएको छ। कृपया सकेसम्म चाँडो आफ्ना बालबालिकालाई लिएर जानुहोला।”
अहमदाबादका विद्यालयमा आएको धम्की पछिल्लो समय भारतभरका विद्यालयहरूमा आएका यस्तै धम्की इमेलको शृंखलाकै हिस्सा भएको बताइएको छ। यसअघि डिसेम्बर १५ मा पञ्जाबको जलन्धरका कम्तीमा ११ निजी विद्यालयमा यस्तै धम्की इमेल आएको थियो। डिसेम्बर १२ मा अमृतसरका विद्यालयमा आएको धम्की झुटो सावित भएको थियो भने डिसेम्बर १० मा दिल्लीका विद्यालयहरू पनि यस्तै धम्कीको निशानामा परेका थिए। गुरुग्रामको एक विद्यालयमा पनि बम धम्की आएको भए पनि ती घटनाबीच सम्बन्ध रहेको वा नरहेको स्पष्ट हुन सकेको छैन।