गोवाको उत्तर भागस्थित अर्पोरामा रहेको बिर्च बाइ रोमियो लेन नामक नाइटक्लबमा एलपीजी सिलिन्डर विस्फोटबाट लागेको मानिएको आगलागीमा २५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृतकमध्ये धेरैजसो कर्मचारी छन्। चार जना पर्यटकको मृत्यु पुष्टि भएको छ भने सात जनाको पहिचान हुन बाँकी छ। छ जना घाइते भएका छन् र उपचार भइरहेको छ।
शनिबार मध्यरातपछि आइतबार बिहानतिर लागेको आगो अत्यन्त छिटो फैलिएको थियो, किनकि क्लब अत्यधिक दहनशील सामग्रीले बनेको थियो। बेसमेन्टमा काम गरिरहेका अधिकांशले भाग्ने समय नपाएकाले दम घुटिएर ज्यान गुमाएको प्रहरीले जनाएको छ। मृतकमध्ये तीन महिला पनि छन्।
गोवा प्रहरीले वक्तव्य जारी गर्दै आगलागीको कारण पुष्टि भइनसकेको र प्रहरीले फायर डिपार्टमेन्टसँग मिलेर अनुसन्धान गरिरहेको जनाएको छ।
गोवाका मुख्यमन्त्री प्रमोद शावन्तले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कडाभन्दा कडा कानुनी कारबाही गर्ने चेतावनी दिए। “मैले तत्कालै छानबिन समिति गठन गरेको छु। आगलागीको वास्तविक कारण र सुरक्षाका मापदण्ड पालना भए–नभएको जाँच हुनेछ,” उनले भने।
स्थानीय सांसद माइकल लोबोले गोवा सुरक्षित पर्यटन गन्तव्यको पहिचान रहेको उल्लेख गर्दै सबै क्लब र रेस्तराँको सुरक्षा अडिट अनिवार्य गर्नुपर्ने बताएका छन्।
मुख्यमन्त्रीका अनुसार उक्त नाइटक्लब धेरै अनिवार्य स्वीकृति बिना नै सञ्चालनमा रहेको थियो। साल्टप्यान क्षेत्रमा बनेको क्लबलाई स्थानीय पञ्चायत र तटीय क्षेत्र व्यवस्थापन प्राधिकरणले डिमोलिसन नोटिस समेत दिएका थिए। तर, अपिलमा गएपछि पञ्चायत महानिर्देशनालयले नोटिस स्थगित गरेको थियो, जसकारण क्लब चलिरह्यो।
प्रहरीका अनुसार मृतकहरूको पहिचानका लागि प्रक्रिया सुरु गरिएको छ।