सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको नवौँ समन्वयात्मक बैठक भारतको नयाँ दिल्लीमा २६–२८ कात्तिकसम्म सफलतापूर्वक सम्पन्न भएको छ।
बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसार–पसार रोकथाम, अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत रोकथाम, सूचना तथा तालिम आदान–प्रदान, संयुक्त सीमा गस्ती लगायतका विषयमा दुई सुरक्षा निकायबीच गहिरो छलफल भएको छ।
साथै, २०८१ मंसिरमा काठमाडौंमा सम्पन्न आठौँ समन्वयात्मक बैठकबाट पारित एजेन्डाको समीक्षा गरिएको र आगामी रणनीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा निर्णय भएको छ।
बैठकको नेतृत्व सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल र भारतको एसएसबी तर्फ महानिर्देशक सञ्जय सिंघलले गरेका थिए। नेपालबाट भाग लिन गएको टोलीमा सीमा सुरक्षा विभाग प्रमुख, अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक राम प्रसाद दास, साथै अन्य वरिष्ठ अधिकारीहरू समावेश थिए।
बैठकको सफल समापनपछि महानिरीक्षक राजु अर्यालसहितको टोली २९ कात्तिकमा स्वदेश फिर्ता भएको छ।
यो बैठकले नेपाल–भारत सीमा सुरक्षा र सहयोगलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदम मानिएको छ।