बिहीबार सम्पन्न बिहार विधानसभा चुनावको पहिलो चरणमा छिटपुट घटनाबीच पनि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। १९५२ पछि पहिलोपटक ६४.६९ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै ऐतिहासिक रेकर्ड कायम गरेका छन्।
भारत निर्वाचन आयोगका अनुसार पछिल्ला २७ वर्षमा यो सर्वाधिक मतदाता सहभागिता हो। यसअघि सन् १९९८ को लोकसभा चुनावमा ६४.६६ प्रतिशत मत खसेको थियो। त्यस्तै, सन् २००० को विधानसभा चुनावमा ६२.५७ प्रतिशत मतदान भएको थियो।
बिहारका मुख्य निर्वाचन अधिकृत विनोदसिंह गुंजियालका अनुसार यो अन्तरिम तथ्यांक हो र यसमा थोरै फेरबदल सम्भव छ। पटना जिल्लामा ५८.४० प्रतिशत मतदान भएको छ। ग्रामीण क्षेत्रमा मतदातामा उत्साह देखिए पनि शहरी क्षेत्र केही उदासीन देखिएको छ।
प्रदेशभर सबैभन्दा कम मतदान कुम्हरार (३९.५७%), बाँकीपुर (४०.९७%) र दीघा (४१.४%) क्षेत्रमा भएको बताइएको छ। २०२० को विधानसभा चुनावको तुलनामा यसपटक करिब ७ प्रतिशत बढी र २०२४ को लोकसभा चुनावको तुलनामा करिब ८ प्रतिशत बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।
पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा क्षेत्रका मतदाताले १,३१४ उम्मेदवारको भाग्य इभीएममा बन्द गरेका छन्। तीमध्ये १०२ साधारण र १९ दलितका लागि आरक्षित सिट हुन्।
लखीसरायमा उपमुख्यमन्त्री सिन्हाको गाडीमाथि पथराव
लखीसरायसहितका केही जिल्लामा राजनीतिक दलका कार्यकर्ताबीच सामान्य झडप र नोकझोक भएका समाचार आएका छन्।
राज्यका उपमुख्यमन्त्री तथा लखीसरायबाट भाजपा उम्मेदवार विजय सिन्हाले आरोप लगाउँदै भने, “हल्सी प्रखण्डको खुरिहारी बूथमा मेरो पोलिङ एजेन्टलाई बस्न दिइएन।”
उनको कारबाहक दलमाथि पथराव र गोबर फ्याँकिएको दाबी पनि गरिएको छ। सिन्हाले राजद समर्थकमाथि आक्रमणको आरोप लगाउँदै प्रशासनमा असन्तुष्टि जनाएका छन्।
राजद विधान परिषद्का सदस्य अजय सिंह र विजय सिन्हाबीच पनि तीव्र वादविवाद भएको बताइएको छ। सिंहले सिन्हामाथि मतदातालाई डराउने आरोप लगाउँदा, सिन्हाले उनलाई ‘असफल नेता र नशामा धुत व्यक्ति’ भनेका छन्।
आरोप–प्रत्यारोपको श्रृंखला
मतदानका क्रममा सबै दलबीच एक–अर्कामाथि तीव्र आरोप–प्रत्यारोप चलेका छन्। राजदका आधिकारिक एक्स (पूर्व ट्विटर) ह्यान्डलमार्फत भारतीय जनता पार्टी समर्थित क्षेत्रमा मतदान जानाजानी ढिलो गराएको आरोप लगाइएको थियो, जसलाई निर्वाचन आयोगले खारेज गरेको छ।
यसबीच, सारण जिल्लाको मांझी विधानसभा क्षेत्रमा महागठबन्धनका उम्मेदवार डा. सत्येन्द्र यादवको गाडीमाथि उपद्रवी समूहले आक्रमण गरेको समाचार छ। उक्त घटनामा गाडीका सिसा फुटेका थिए।
सबै मतदान केन्द्रमा वेबकास्टिङ
यसपालि पहिलोपटक १०० प्रतिशत मतदान केन्द्रमा प्रत्यक्ष वेबकास्टिङ गरिएको थियो। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारसहित आयोगका आयुक्तहरूले नियन्त्रण कक्षबाट सम्पूर्ण प्रक्रिया अवलोकन गरेका थिए।
त्यस्तै, छवटा देशका १६ विदेशी प्रतिनिधिले पनि ‘अन्तर्राष्ट्रिय निर्वाचन अवलोकन कार्यक्रम (IEVP)’ अन्तर्गत बिहारको निर्वाचन प्रक्रिया अवलोकन गर्दै यसको प्रशंसा गरेका छन्।
दोस्रो चरण ११ नोभेम्बरमा
अब बिहार विधानसभा चुनावको दोस्रो चरणको मतदान ११ नोभेम्बरमा हुनेछ भने मतगणना १४ नोभेम्बरमा गरिनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदी, अमित शाह, नीतीश कुमार, तेजस्वी यादव, राहुल गांधी र प्रियंका गांधीलगायत नेताहरूले जनसभामार्फत प्रचार अभियान तीव्र पारेका छन्। सबै दल मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आह्वान गरिरहेका छन्।