जनकपुरके घाट पर देबै अरघिया
देखब हे छठी मैया ।
हम नई जायब दोसर घाट
देखब हे छठी मैया ।।
अहिले मिथिला छठमय भएको छ । छठका गीतहरूले गाउँ, टोल र शहरहरू झुमेका छन् । घरघरमा छठका सामग्रीहरू जोरिन थालिएको छ । शनिबारबाट विधिवत रुपमा सुरु भएको छठ पर्वको स्वागतमा मिथिलाञ्चल उल्लासमय भएको छ ।
आस्था, श्रद्धा, सम्मान, सद्भाव, मिहिनेत र परम्पराको प्रतीक छठ पर्व हुन त सबै क्षेत्रमा त्यक्ति नै उल्लासका साथ मनाइन्छ । तर, जनकपुरको छठ नेपालमै अद्भूत र मनमोहक हुने गर्दछ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई पोखरीको शहर पनि भनिन्छ । यो शहरको आफ्नै ऐतिहासिक पहिचान छ । जसमा छठले दिएको पहिचान पनि एक हो । जनकपुरमा भएका गंगासागर, धनुषसागर, अंगराजसर, दुधमति, अग्नीसरलगायतका तलावहरूसहित दर्जनौैं पोखरी र कुण्डहरू छठ आउनुभन्दा एक महिनापूर्वदेखि नै सरसफाई हुन थाल्छ । छठ पर्व मनाउने प्रक्रियामा जलस्रोतहरूको सरसफाईलाई निकै महत्वका साथ लिइन्छ । मान्यता यो पनि छ कि जलका स्रोतहरूले जीवन प्रवाहित गर्ने हुँदा हामीले त्यसको सफाई नियमित गरिराख्नु पर्छ ।
पोखरी, तलाव र नदीहरूको घाँटलाई सुन्दर र सफा गरी त्यहाँ मनमोहक सजावट गरेपछि छठको प्रारम्भ हुन्छ । पोखरी सफाईमा मात्रै सरोकारवाला निकायहरू नभई स्थानीयहरूको पनि व्यापक सहभागिता हुन्छ ।
चार दिवसीय छठ पर्वको पहिलो दिन अर्थात् चौथी तिथिका दिन नहायखाय गरिन्छ । कठिन निर्जला व्रतको संकल्पको दिनका रुपमा यस दिनलाई लिइन्छ । व्रतालुहरू पवित्र सरोवरमा नुहाईधुवाई गरेर चोखो भई माटोको चुल्हामा चोखो भोजन बनाउँछन् । जसमा लौका र भातको निकै प्रचलन छ । लौका खाँदा पेटमा चिसो भएर व्रत गर्न सहज बनाउने भएकोले लौका र भात खाने गरिन्छ । व्रतालुहरूले चनादालमा लौका मिसाएर बिना लहसुन प्याजको चोखो तरकारी बनाउँछन् र भातसँग निकै नियम र निष्ठाका साथ खाने गर्छन् ।
दोस्रो दिन खर्ना विधि गरिन्छ । पञ्चमी तिथिमा दिनभरी निर्जला उपवास गरेर साँझपख माटोले बनाइएको नयाँ र चोखो चुल्होमा आँपको दाउरा बालेर त्यसमा सख्खर र चामल मिसाएर खीर बनाउँछन् । गहुँको पिठोबाट बनाइएको रोटी प्रसाद बनाइन्छ । यो प्रसाद छठी मैयालाई भोग लगाएर खाने गर्छन् । सो प्रसाद ग्रहण गरेपछि शुरु हुन्छ थप दुई दिनको निराहार र निर्जला व्रत ।
छठका विधिविधानमा अत्यधिक संवेदनशीलता अपनाउने गरिन्छ । यतिसम्म कि प्रसाद बनाउनका लागि धोएर सुकाइने गहुँलाई चराहरूले जुठो नपारुन् त्यसका लागि विशेष सजगता अपनाइन्छ । छठको गीतमै यसको बखान पनि गरिएको छ ।
उजे केरवा जे फरेला घउदपर
ओहिपर सुगा मडराय ।
मारवौ रे सुगवा धनुष से
सुगा दिहले जुठिआई ।।
उजे सुगनी जे रोएला विगोय से
आदित होई न सहाय ।।
पशुपंछीलाई समेत छठको पवित्रता भंग गर्ने अनुमतिी दिइँदैन् । छठ पर्वका लागि बनाइने प्रसादहरूमा ठेकुवा, भुसुवा, पिरुकीया, खाजा, लड्डुको विशेष प्रधानता छ । यसका साथै किसानले उब्जाएका अधिकांश बस्तुहरू छठमा प्रसादको रुपमा अर्पण गरिन्छ । त्यसैले पनि यस पर्वलाई कृषि पर्वको रुपमा पनि मानिन्छ । यस पर्वमा ऊखु, केरा, नरिवल, मुला, कागती, भोगटे, बेसार, अदुवासहितको खेतमा सजिलै उपलब्ध हुने कृषि उपजहरूको प्रधानता छ ।
खरनाको भोलिपल्ट अर्थात षष्ठी तिथिका दिनलाई छठ पर्वको मुख्य दिनका रुपमा मानिन्छ । यस दिनलाई सझुका घाट पनि भनिन्छ । व्रतालुहरू दिउँसोको समयमा नुहाइधुवाइ गरी नयाँ चोखो वस्त्र लगाएर पूजाका लागि नदी, पोखरी र जलाशय जाने गर्छन् । घरका सदस्यहरूले प्रसादहरूले भरिएको बाँसको छिट्टा र टोकरीहरू टाउँकोमा राखेर खाली खुट्टा घाटसम्म पु¥याउँछन् । यो दृश्य अतिनै सुन्दर हुन्छ ।
काँचही बाँसके बहगिया
बहगि लचकैत जाय ।
होइन बलमजी कहरिया
बहगि घाँटे पहुचाय ।।
छठका यि गितहरूले यस पर्वको रौनकता र सद्भावलाई अझ बढी मुखरित गर्छन् । अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभरि नदी घाटमै भजनकिर्तन गरी जाग्राम बस्ने व्रतालुहरूले अर्को दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा यो पर्व समापन हुन्छ ।
छठ व्रतले समाजमा एकता र सद्भावको सन्देश दिन्छ । यस पर्वमा सबै जातजाति, धर्म समुदाय र वर्गको प्रधानताको सन्देश दिइएको छ । समाजमा तल्लो जात भनी अपहेलित डोम समुदायको हातले बनेका बाँसका सामग्रीहरूबिना यो पर्व अधुरो हुन्छ । माटोको भाँडा बनाउने कुम्हाल समुदायले माटोको भाँडाकुडाहरू नदिएसम्म व्रत सम्पन्न गर्न गाह्रो हुन्छ । मालीको घरबाट आउने फूल र चुडिहारको घरबाट आउने लहठीबिना यो पर्वको कल्पना गर्न सकिँदैन । त्यसैले यसलाई समुदायको साझा पर्व पनि भनिएको छ ।
मिथिलाञ्चलमा यो पर्वले अझ बढि प्रधानता पाएको छ । यसलाई जीवन्त राख्न मिथिलाञ्चलका नारीहरूको भूमिका महत्वपूर्ण छ । सासुहरूले बुहारीलाई आफ्नो घरको सम्मान र पुस्ताको निरन्तरताको रुपमा यो पर्व सुम्पिने गर्छन् । पुस्तौदेखि चल्दैआएको यो पर्व हाम्रो लोकआस्थाको जीवन्त उदाहरण हो ।