फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको छ।
निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएका उजुरी, प्रचलित कानूनअनुसार तोकिएको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा उम्मेदवारहरूको नाम रुजु गर्दा ७६ जना उम्मेदवार बन्दसूचीबाट हटाउने निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, २५ वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना र मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जनाको नाम हटाइएको हो।
यस्तै, महिला उम्मेदवार पेस गर्नुपर्ने स्थानमा पुरुष उम्मेदवार पेस गरिएको १ जना, सम्बन्धित राजनीतिक दलले नाम हटाउन निवेदन दिएका १० जना तथा एकभन्दा बढी कारणले अयोग्य ठहरिएका २ जनाको नाम पनि बन्दसूचीबाट हटाइएको आयोगले स्पष्ट पारेको छ।
यससम्बन्धी विस्तृत विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।