वीरगञ्ज कपडा बैंकले शुक्रबार वीरगञ्जको घण्टाघरमा नियमित मासिक कार्यक्रमअन्तर्गत नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । विपन्न, असहाय तथा आवश्यकतामा परेका नागरिकलाई लक्षित गरी आयोजित उक्त कार्यक्रममा करिब १ हजार थान नयाँ तथा पुराना लत्ताकपडा वितरण गरिएको बैंकका कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए ।
बैंकले हरेक आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म वीरगञ्ज-८ स्थित कार्यालयबाट नि:शुल्क कपडा उपलब्ध गराउँदै आएको छ । सोही अभियानलाई निरन्तरता दिँदै सार्वजनिक स्थल घण्टाघरमा विशेष वितरण कार्यक्रम आयोजना गरिएको हो ।
वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै सल्लाहकार अधिवक्ताद्वय पन्नालाल गुप्ता र प्रकाश कुमार उपाध्याय तथा समाजसेवी वरुण चौरसिया विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, सीए देवराज सराफ, आईज नेपाल पर्साकी कोषाध्यक्ष रुपसिला जैसवाल, सल्लाहकारहरू हुकुम सिंह, ओमप्रकाश सराफ, श्रवण बहादुर रायमाझी, सदस्यहरू जानकी देवी, इन्द्रकुमार मानन्धर, सञ्जय मण्डल, नवराज भट्टराई, केदार गुप्ता, राहुल सिंह राजपुत, अभय बस्नेत लगायतको उपस्थिति रहेको थियो। साथै विभिन्न सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जो सँग धेरै कपडा छ, हामीलाई दिएर जानुस् र नहुने वा आवश्यकतामा परेकाले हामीसँग नि:शुल्क लिएर जानुस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै बैंकले विगत ७ वर्षदेखि निरन्तर मानवीय सेवा गर्दै आएको उल्लेख गरे । आगलागी, बाढी, शीतलहर, चिसो याम जस्ता विपद्का समयमा पीडितहरूको घरआँगनमै पुगेर लत्ताकपडा तथा आवश्यक सामग्री सहयोग गर्दै आएको कार्य प्रशंसनीय रहेको उनको भनाइ थियो ।
उनले समाजमा मानवता बलियो बनाउन प्रत्येक व्यक्तिले आफ्नो आम्दानीको कम्तीमा ५ देखि १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्नुपर्नेमा जोड दिए ।
अध्यक्ष सिंहले बैंकको मानवीय अभियानमा सहयोग पुर्याउने सम्पूर्ण दाता, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सेवा कार्यलाई अझ विस्तार गरिने प्रतिबद्धता जनाए ।