भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्साले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लागत फारम इन्ट्री प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको एकदिने कम्प्युटर तालिम सम्पन्न गरेको छ।
आयोगका सदस्य-सचिव राकेश झाको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा जिल्ला अध्यक्ष तबरेज अहमद प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विज्ञ सदस्य सन्तोष राम, सदस्य शिव नारायण राम तथा सम्बन्धित प्राविधिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष अहमदले भूमिहीन समस्या केवल प्रशासनिक विषय नभई सामाजिक न्याय र संविधानले प्रत्याभूत गरेको नागरिक अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गरे। उनले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई लालपूर्जा उपलब्ध गराउने अभियान सरकारको प्राथमिकतामा रहेको बताए ।
“यस अभियानलाई सफल बनाउन तथ्याङ्कको शुद्धता, प्रविधिको सही प्रयोग र दक्ष जनशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ,” उनले भने, “आजको कम्प्युटर तालिमले लागत फारम इन्ट्री प्रक्रियालाई छिटो, पारदर्शी र त्रुटिरहित बनाउन महत्वपूर्ण योगदान दिनेछ।”
अध्यक्ष अहमदले स्थानीय तह, प्राविधिक र आयोगबीचको समन्वय र सहकार्य बिना लक्ष्य हासिल गर्न नसकिने स्पष्ट पार्दै तालिम प्राप्त जनशक्तिले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए । साथै, आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष तथा सदस्य–सचिव राकेश झाले तालिमको उद्देश्यबारे प्रकाश पार्दै लागत फारम इन्ट्री प्रक्रियामा देखिँदै आएका समस्या न्यूनीकरण गर्न र डिजिटल प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तालिम आयोजना गरिएको बताए। उनले सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न आग्रह गरे ।
तालिमका क्रममा प्राविधिकहरूले लागत फारम इन्ट्री प्रक्रिया, डाटा व्यवस्थापन, प्रविधिको प्रयोग, त्रुटि सच्याउने विधि तथा प्रतिवेदन तयारीसम्बन्धी व्यावहारिक जानकारी प्रदान गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले तालिम उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिँदै यसले कार्यसम्पादनमा आत्मविश्वास बढाएको बताएका छन् ।