मधेश प्रदेश यो वर्ष अभूतपूर्व मौसमी अस्थिरताको चपेटामा परेको छ । असार–साउनमा पर्नुपर्ने पानी नपर्दा धानको बीउ ब्याडमै सुक्यो । साउनमै रोपाइँ सक्नुपर्ने धान रोपाइँ असोजसम्म तन्कियो । त्यसपछि आएको असोजको दोस्रो साता आएको मुसलधारे वर्षाले रोपिएको धान बगायो भने कात्तिकको बेमौसमी वर्षाले पाकेको बालीमा क्षति पु¥यायो । सुक्खा र डुबानको दोहोरो मारले मधेशको कृषि प्रणाली गम्भीर संकटतर्फ धकेलिएको छ ।
मधेशमा यो वर्ष देखिएको धानखेतीको यो अवस्था कुनै एक वर्षको संयोग होइन । जलवायु परिवर्तनका कारण मौसमी चक्रमा आएको दीर्घकालीन परिवर्तनको प्रतिफल हो । विज्ञहरूले एक दशकअघि देखि नै पर्यावरणीय प्रभावको असरको चेतावनी दिँदै आएका थिए । वर्षा ढिलो हुने, छोटो समयमै अत्यधिक पानी पर्ने र बेमौसमी झरीको क्रम बढ्दै जाँदा परम्परागत खेती प्रणाली असफल हुँदै गएको छ । यस्तो अवस्थामा पहिलेजस्तै खेती, पहिलेजस्तै बीउ भन्ने सोचले अब किसानलाई जोगाउन सक्दैन ।
कृषि अनुसन्धानका निकायहरूले सुक्खा र डुबान दुवै सहन सक्ने धानका जातहरू विकास गरिसकेका छन् । बहुगुणी–१, बहुगुणी–२, स्वर्णसब–१, सम्बा मन्सुली, सुक्खा–१ देखि सुक्खा–६ सम्मका जातहरू जलवायुले धानखेतीमा पु¥याउन सक्ने जोखिम न्यूनीकरणका लागि उपयुक्त मानिएका छन् । अनुसन्धानका निकायले गहुँमा पनि जलवायु सहनशील जात सिफारिस गरेका छन् । समस्या बीउको अभावभन्दा बढी जानकारीको अभाव हो ।
आज पनि मधेशका ठूलो हिस्साका किसानहरूले सिफारिस नभएको सोनामन्सुली जातको धान रोपिरहेका छन् । मधेशका करिब ४० प्रतिशत खेलमा आज पनि सोनामन्सुली धान रोपिने गरेको छ । जलवायु अनुकूल बीउ, रोपाइँको समय र बाली चक्रबारे किसानसम्म प्रभावकारी रूपमा जानकारी नपुग्नु राज्य संयन्त्रको गम्भीर कमजोरी हो । कृषि अनुसन्धान प्रयोगशालामा सीमित हुँदा र प्रचार प्रसार सेवा कमजोर हुँदा किसान परिवर्तनसँग तालमेल गर्न असमर्थ भएका छन् ।
धान उत्पादन घट्ने अनुमान आफैंमा चिन्ताजनक छ । अघिल्लो वर्षको तुलनामा लाखौं मेट्रिक टन धान घट्ने प्रक्षेपणले खाद्य सुरक्षामाथि प्रश्न उठाएको छ । खाद्यान्न उत्पादनको केन्द्र मानिएको मधेशमा नै यो वर्ष धान उत्पादन ३ लाख मेट्रिकटनले घट्ने प्रक्षेपण भइसकेको छ । यसअघिको वर्षमा १३ लाख मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष १० लाख मेट्रिकटनमा सीमित हुने कृषि अनुसन्धानका निकायको अनुमान छ । खेतीयोग्य क्षेत्र नै खुम्चँदै जानु, उत्पादन लागत बढ्नु र किरा–रोगको प्रकोप बढ्नुले किसानको जीविकोपार्जन झनै असुरक्षित बन्दै गएको छ ।
अब समाधान स्पष्ट छ–मधेशको खेती प्रणालीलाई जलवायुअनुकूल बनाउनुको विकल्प छैन । त्यसका लागि पहिलो, बाली र बीउ छनोटमा वैज्ञानिक सिफारिस अनिवार्य रूपमा लागू गर्नु पर्छ । दोस्रो, कृषि विस्तार सेवा बलियो बनाइ किसानलाई समयमै सूचना, तालिम र बीउ उपलब्ध गराउनुपर्छ । तेस्रोमा धानमै निर्भरता घटाई बाली विविधीकरणतर्फ जानु पर्छ । सिँचाइ, जल व्यवस्थापन र जोखिम बीमा प्रणालीलाई जलवायु परिवर्तनको वास्तविकतासँग जोड्नु पर्छ ।
मधेशको खेती संकट केवल किसानको समस्या होइन । यो राष्ट्रिय खाद्य सुरक्षा, अर्थतन्त्र र सामाजिक स्थायित्वसँग जोडिएको विषय हो । जलवायु परिवर्तनले देखाइसकेको संकेतलाई अझै बेवास्ता गर्ने हो भने सुक्खा र डुबान अब अपवाद होइन, नियमित नियति बन्दै जानेछ । अब पनि खेती प्रणाली पुनरावलोकन नगर्ने हो भने मधेशको हरियो खेत क्रमशः उजाड मैदानमा परिणत हुने निश्चित छ ।