बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसा शृङ्खला रोकिने संकेत देखिएको छैन। शुक्रबार राति नरसिंहदी जिल्लामा २५ वर्षीय हिन्दु युवक चञ्चल भौमिकको आगोमा जलेर बीभत्स मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार भौमिक एक ग्यारेजभित्र सुतिरहेको अवस्थामा आगलागी भएको थियो। नरसिंहदीका प्रहरी उपरीक्षक अब्दुल्लाह अल फारुकले सिसीटिभी फुटेजमा एक शंकास्पद व्यक्ति घटनास्थल वरपर घुमिरहेको देखिएकाले यो हत्या हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
‘सटर तोडेर हेर्दा शव मात्र भेटियो
प्रहरीका अनुसार आगो पसलको भित्रैबाट सुरु भएको थियो। दमकलकर्मीहरूले सटर तोडेर उद्धारको प्रयास गरे पनि भौमिकको घटनास्थलमै मृत्यु भइसकेको थियो। उनको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको छ। ‘हामी अनुसन्धान गरिरहेका छौँ, यो विद्युतीय सर्टका कारण भएको हो कि कसैले नियतवश लगाएको हो भन्ने खुल्न बाँकी छ,’ प्रहरी उपरीक्षक फारुकले भने ।
बंगलादेशमा हिन्दुमाथि बढ्दो हिंसा
अगामी फेब्रुअरी १२ मा हुने निर्वाचनको पूर्वसन्ध्यामा बंगलादेशमा हिन्दु समुदायमाथि आक्रमणका घटनाहरू तीव्र गतिमा बढिरहेका छन्। केही समयअघि मात्रै दीपु चन्द्र दास नामका एक व्यक्तिलाई ईश–निन्दाको झूटो आरोपमा भीडले रुखमा बाँधेर जलाएको थियो। त्यस्तै, नरसिंहदीमै एक ४० वर्षीय किराना पसल सञ्चालकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
६४५ घटना, अन्तर्राष्ट्रिय चासो
बंगलादेशका मुख्य सल्लाहकार मोहम्मद युनुसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२५ मा मात्रै अल्पसंख्यकमाथि आक्रमणका ६४५ घटनाहरू दर्ता भएका छन्। जसमध्ये ७१ वटा घटना सीधा साम्प्रदायिक प्रकृतिका रहेको पाइएको छ।
भारत सरकारले पनि बंगलादेशमा भइरहेको अल्पसंख्यकहरूको उत्पीडनप्रति पटक–पटक गम्भीर चासो व्यक्त गर्दै उनीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दै आएको छ। अवामी लीगमाथिको प्रतिबन्ध र बढ्दो साम्प्रदायिक तनावका कारण बंगलादेशको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ।