विवाहेतर सम्बन्धबाट उत्पन्न विवादले बाराको परवानीपुर गाउँपालिकामा एकै परिवारका दुई जनाको विभत्स हत्या भएको खुलासा भएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले मृतककी बुहारी र उनका प्रेमी भनिएका व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार बिहान परवानीपुर गाउँपालिका–१ रहरिया डिहस्थित ५० वर्षीय जगरुप मण्डलको घरमा अज्ञात व्यक्तिहरू प्रवेश गरी सुतेका परिवारका सदस्यहरूमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए। उक्त आक्रमणबाट जगरुपका ३१ वर्षीय छोरा राम ईश्वर मण्डल र ४६ वर्षीया बुहारी सुमित्रा मण्डलको घटनास्थलमै मृत्यु भएको थियो।
घटनामा घरमुली जगरुप मण्डल र उनकी २१ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको वीरगञ्जस्थित एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए।
एसपी कुँवरको कमाण्डमा खटिएको अनुसन्धान टोलीले घटनाको मुख्य कारण विवाहेतर सम्बन्धबाट उत्पन्न घरायसी विवाद रहेको निष्कर्ष निकालेको छ। सोही आधारमा प्रहरीले हत्या योजनामा संलग्न रहेको आरोपमा मृतक राम ईश्वर मण्डलकी २३ वर्षीया श्रीमती मनिता देवी मण्डल र उनका प्रेमी भनिएका प्रसौनी गाउँपालिका–७ बन्जरिया टोल निवासी २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार आरोपी धर्मेन्द्र महतो धानुक वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका थिए। उनी गत माघ ११ गते नेपाल फर्किएपछि घरपरिवारसँग सम्पर्क नगरी मनिता देवीसँग मिलेर हत्याको योजना बनाउन सक्रिय रहेको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका धर्मेन्द्रलाई विश्रामपुर गाउँपालिका–४ स्थित मुसहर्वा नाकाबाट भारततर्फ भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यस्तै घटनामा घाइते भएकी अर्की आरोपी मनिता देवी मण्डललाई उपचारपछि अस्पतालबाट नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत बाराबाट बिहीबार पाँच दिनको म्याद थप गरी ज्यानसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।