वीरगञ्जकी सञ्जु महत्तो महिला तेस्रो लिङ्गी हुन् । सहयात्री समाज नेपालमा काम गरिसकेकी उनले मेन्टल हेल्थ कार्यक्रममा काम गरिरहेकी छन् । उनले विद्यालय शिक्षामा हासिल गर्ने मात्र मौका पाइन् । आर्थिक अवस्था र समाजले गर्ने अवहेलनाको कारण उनी अध्ययन छोड्न बाध्य भई कामको खोजीमा लागिन् । उनलाई अध्ययनको समयमा पनि यौनिकताबारेमा कुनै ज्ञान थिएन । विगत २० वर्षदेखि अल्पसंख्यक समुदायको सेवामा काम गरिरहेकी सञ्जु महतोसँग गरिएको कुराकानी:
तपाईंको बाल्यकालबारे बताइदिनुस् न ?
म जन्मदाँ छोरा नै भएर जन्मेको थिएँ । परिवारमा दिदी, दाई र म थियौं । म सबैभन्दा कान्छो थिए । बोडिङ्ग स्कुलमा पढ्न जान्थेँ । म केटा भएपनि केटीहरूसँग बस्न, खेल्न, बोल्न र घुम्न रुचाउँथे । केटाहरूसँग बोल्न र बस्न मन लाग्दैनथ्यो । केटाहरू त केटीसँग मात्र बस्ने, हिड्ने, बोल्ने गर्छस् । हामीसँग बोल्दैनस् भनेर जिस्क्याउँथे । सर र म्यामले पनि केटाहरूसँग बस्न नमान्दा कुखुरा बनाउने, उभ्याएर राखिदिने जस्ता सजायहरू दिन्थे । बोर्डिङ्गमा पढ्न छाडेर कक्षा १ देखि ५ सम्म गहवाको सरकारी विद्यालयमा पढेँ । कक्षा ६ देखि ८ सम्म माईस्थान विद्यापिठमा पढँे । सरकारी विद्यालयमा पढ्दा पनि केटी नै साथी भएँ । कक्षा ४ मा पढ्दा अरू केटी साथीहरूले केटा साथी बनाएका थिए । त्यो देखेर म पनि एउटा केटा साथीसँग नजिक भएँ । मलाई केटाप्रति आकर्षण बढ्दै गयो । म केटा भएर पनि किन केटाप्रति आकर्षित छु । मन, मस्तिष्कले किन केटाकोजस्तो काम र व्यवहार गरिरहेको छैन भन्ने कुरा सोच्दा तनावमा थिएँ । मनमा धेरै कुरा खेलाएर आफूसँग लड्दै थिएँ । रातभर नसुत्ने, खाना नखाने, ऐनामा आफ्नो अनुहार हेरेर म को हो ? म किन यस्तो छु ? समाजमा मलाई किन गाली गर्छन् ? किन तनाव दिन्छन् ? भन्ने कुरा सोच्थेँ । छक्का, हिजडा, मौगियाजस्ता शब्द प्रयोग गरेर बोलाउँथे, धेरै मन दुख्थ्यो । त्यो समयमा आफैसँग लाजले मर्न मन लाग्थ्यो । त्यो समयमा पनि यौनिकताको विषयमा ज्ञान थिएन । गहवाको एकजना दिदी संस्थामा काम गर्नुहुन्थ्यो । एचआईभीसम्बन्धी जीवन उपयोगी सीप कार्यक्रम ल्याउनुभएको थियो । म जीवनदेखि हतोत्साहित भइरहेको समयमा जीवनउपयोगी सीपसम्बन्धी तालिम पाएँ । त्यो कार्यक्रमपछि उहाँसँगै काम गर्न थालँे । केटाको पहिरन लगाउथेँ । कहिले दिदीको चोरेर र साथीहरूको मागेर लिपिस्टिक, आईस्याडो लगाएर हल्का मेकअप गर्थेँ । कपाल टेडोमेडो बनाएर स्कुल जान्थेँ । कक्षा ८ पढेपछि घरको आर्थिक समस्याले र अरूले दिएको तनाबको कारणले पढ्न छाडँे । मलाई काम गर्नु थियो । के काम गर्ने ? गहवामा नै मजस्तै एकजना साथी थियो । उसले कोठा लिएर बसेको थियो । उसको कोठामा केटीको पहिरन र मेकअप गरेर डिजे बजाएर रातभरि नाच्थ्यौँ । घरमा काम गर्नु पर्दैन भनेर गाली गरेपछि घर छोडेर सडकमा आएर बसेँ । रातिका १० बजे आमा लिन आउनुभयो । फर्केर घर गएँ । घर नजिकको अजीले माडेको घरमा काम लगाइदिनु भयो । त्यहाँ बिहान ७ बजेदिखि दिउँसो ५ बजेसम्म काम गर्थे । चिया, खाना पकाउने र भाडा माझ्ने काम गर्थे ।
काम गर्दा पहिचान लुकाएर काम गर्नुभएको थियो कि ?
माईस्थान विद्यापिठमा कक्षा ८ मा पढ्दै थिएँ । मेरो पहिचानको बारेमा लुकाएको थिएँ । अध्ययनलाई निरन्तरता दिन्छु भनेर गहवाको रात्रि माविमा भर्ना भएँ । बेलुका ५ बजेदेखि ८ बजेसम्म विद्यालयमा पढ्थेँ । एक वर्ष पढे पनि परीक्षा दिइनँ । त्योभन्दा अगाडि पढ्न मन र मस्तिष्कले नै दिएन । पढाई छाड्दिए । साथीहरू सट्टामा नाच्न थाले । रातभरि नाच्दा २५ सय हुन्थ्यो । मेरो मन पनि त्यतातिर नै गयो । म पनि साथीहरूसँग सट्टामा नाँच्न थाले । तेस्रोलिङ्गीहरूको संस्था वीरगञ्जमा छ भन्ने कुरा थाहा पाएँ । सहयात्री समाज नेपालको अफिस खोज्दै गएँ । अफिसमा तेस्रोलिङ्गी ममता दिदीसँग भेट भयो । हिजडा र छक्काको अफिसमा गएमा हामीलाई पनि उनीहरू जस्तै बनाइदिन्छ भन्ने समाजको डर थियो । उहाँहरूले एचआईभी परीक्षणको लागि हाम्रो रगत परीक्षण गराउनुभयो । त्यसपछि तेस्रोलिङ्गीका समुदायहरूसँग बोल्न शुरू भयो । ममता दिदीको घर र अफिस जान थाल्यौं ।
सहयात्रीको अफिस जाँदा कस्तो अनुभव भयो ?
जब म सहयात्रीको अफिसमा जान थालेँ । सन्ध्या लामा कोडिनेटर भएर आएपछि हामी पनि बेलाबेलामा भेट्न अफिस जान थाल्यौं । म को हो ? भनेर धेरै अगाडिदेखि घरमा म जुधिरहेको थिएँ । मेरो प्रश्नको उत्तर पाउन थालेँ । झन धेरै मेकअप गर्न थालेँ । बिस्तारै संस्थामा जोडिएर जागिर खान थालेँ । अफिसमा हप्ताको १ दिन काम गर्नुपथ्र्यो । महिनाको ३ हजार दिन्थ्यो । संस्थामा काम गर्न थालेपछि घरमा पनि केही पैसा दिन थालेँ । घर परिवारले र समाजले हेर्ने दृष्टिकोण, गाली, बेइज्जत कम भएको थिएन । पहिलाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ । तेस्रोलिङ्गी समुदाय र अन्य समुदायको हिंसामा परेकाहरूको लागि सहजकर्ताको काम गर्न लागेँ । नागरिकता सन्तोष महतोको नामबाट लिएको छु । तर, सञ्जु महतोको नामले नागरिकता लिन मन छ । यसको प्रक्रिया लामो छ । संस्था र समाज सेवामा निरन्तर लागिरहेको छु ।
तेस्रोलिङ्गी समुदायमा काम गर्दा कस्ता समस्याहरू आउँछन् ?
तेस्रोलिङ्गी समुदायमा म जुन समस्याले गुज्रिरहेको थिएँ । मभन्दा पनि ठूलो समस्याबाट गुज्रिरहेका छन् । धेरै साथीहरू घरपरिवार छाडेर वीरगञ्जमा आएर बसेका छन् । कोहीले विवाहमा नचाउँछन् । पेट पाल्नको लागि नाँचगान गर्नु पर्छ । धेरै मुस्किलले कमाएर पेट पालेर बसेका छन् । हामीलाई संस्थाले तलब दिन्छ । तर, सबै तेस्रोलिङ्गीलाई संस्थाले तलब दिन सक्दैन । वास्तावमा सरकारले तेस्रोलिङ्गीका समुदायलाई हेर्नुपर्ने हो । सरकारले महिला र पुरुष भनेर हरेक ठाउँमा कोटा छुट्याएको हुन्छ । तर, लैंगिक अल्पसंख्यक समुदायको लागि कतै कोटा छुट्याएको हुँदैन । अन्य समुदायका साथीहरूले कुरा मात्र उठाएका हुन्छन् । उनीहरू वकालत गर्न सहयोग गरेका हुँदैनन् । तेस्रोलिङ्गीका समुदायका साथीहरूको बारेमा हामीले नै वकालत गर्नु पर्छ ।
तेस्रोलिङ्गीका समुदायका व्यक्तिहरू यौन व्यवसायमा लागेका हुन्छन् भन्ने आरोप छ नि ?
घरमा बस्दा समुदायको मानिसले गरेको व्यवहारले गर्दा आमाबुबाको बेइज्जत हुन्छ । आमाबुबाले लाजले गाली गर्न थाल्छन् । तेस्रोलिङ्गीका समुदायका साथीहरू घर छाडेर हिड्न बाध्य हुन्छन् । कहाँ बस्ने र कहाँ खाने केही ठेगान हँुदैन । उनीहरूलाई कसैको आश्रय हुँदैन । तेस्रोलिङ्गीका समुदायका सबैमा सीप हुँदैन । कोही नाँचगानमा जान्छन् । कोही यौन व्यवसायमा जान्छन् । ढलाई र माटो बोक्ने काम पनि गरेका छन् । मेरो जागिर नभएको बेलामा मलाई काम चाहियो भनेर फेसबुकमा हालेको थिएँ । मलाई नदेखेको मानिसले तपाईलाई के को जागिर चाहियो ? तपाईं त त्यत्तिकै पैसावाला हुनु हुन्छ भनेर जवाफ आयो । म काम गर्न सक्षम छु । महिला र पुरुषले जुन काम गर्न सक्छ म पनि त्यो काम गर्न सक्छु । तर, तेस्रोलिङ्गी समुदायका हरेक व्यक्तिहरू काम गर्न सक्षम छन् । तर, समाजको हात अगाडि बढेको छैन । नेता, मुखिया र हाकिमहरू बैठकमा आएर यो गर्नुस् भन्ने गर्छन् । तर, दिनेकाम अहिलेसम्म भएको छैन । भन्ने र गर्नेमा धेरै फरक छ ।
तेस्रोलिङ्गी समुदायलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?
रातको समयमा बाटोहरूमा तेस्रोलिङ्गीहरूको उपस्थिति देखिन्छ । यसमा हाम्रो समुदायको पनि कमजोरी छ । हरेक देशमा तेस्रोलिङ्गीका समुदायका मानिसहरू यौनव्यवसाय गरिरहेका छन् । भारतमा सरकारले नै तेस्रोलिङ्गीका समुदायका लागि कोठा दिएको छ । नेपाल सरकारले तेस्रोलिङ्गीका समुदायका लागि के दिएको छ त ? यो विषयमा सोच्ने हो भने उहाँहरूले देह व्यपार गरिरहनु भएको छ । राम्रोसँग गर्नु भए त ठिकै छ । दुवै व्यक्तिहरू रक्सी खाएको तालमा झगडा गरिरहेको छ । कसैले भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिरहेको छ । तेस्रोलिङ्गीका समुदायका साथीहरूले कम मूल्यमा देहव्यापार गरिरहेका हुन्छन् । तेस्रोलिङ्गीका समुदायका मानिसहरूले पनि सोच्नुपर्ने हो । रक्सी खाएका केटाहरूले छोरीचेलीहरूमाथि धेरै घटना पनि घटाएका छन् । केटाहरूले थोरै पैसामा आफ्नो यौन चाहाना मेटाउन पाउँछन् । छोरीचेलीहरूमाथि घटना घट्ने सम्भावना कम हुन्छ । तेस्रोलिङ्गीका समुदायका कारणले पनि धेरै गाउँघरका चेलीहरू सुरक्षित छन् । निर्दोष चेलीबेटीहरू घटनाको शिकार हुन्थे ।
कस्ता खालका मानिसहरू तेस्रोलिङ्गीका समुदायमा आउँछन् ?
समाजमा धेरै ठूलाठूला व्यक्तिहरू सबै अफिसमा भेट्न आउने गर्छन् । रक्सी खाएर मातेका मानिसहरू बढी गरेर आउने गर्छन् । प्रेममा परेका हुन्छन् । कसैले पैसा खाएर भागिदिन्छन् । कसैले ज्यान मार्ने केसमा पुलिससम्म पनि पुगेको हुन्छ । महिला, पुरुष, अल्पसंख्यकलाई पनि मन पराउने पनि हुन्छन् ।
विगत ५ वर्षको अवधिमा एचआईभी एड्सको अवस्था कस्तो छ ?
विश्व एड्स दिवसको अवसरमा आएको तथ्यांकअनुसार पर्सामा एचआईभी एड्स संक्रमण हुनेको संख्या बढेको छ । एचआईभी एड्स संक्रमण हुनेको संख्या बढ्ने कारण सहयात्री समाज नेपालमा काम गर्दा सेवा प्रदायकहरूलाई एचआईभी संक्रमितहरूको जिम्मेवारी थियो । औषधी खुवाउने, बेलाबेलामा उपचार गर्ने समुदायका साथीहरूलाई गथ्र्यौं । युएसएडको कार्यक्रम बन्द भएको कारणले संस्थाहरूमा कर्मचारीहरू कटौती भएको कारणले पहिलाजस्तो सेवा संस्थाहरूले दिन सकेको छैन । मैले सकेको सहयोग साथीहरूलाई गरिरहेको छु ।