भैरहवामा जन्मिएकी मोनिका जैसवाल नर्सिङ पेसामा स्थापित छिन् । वीरगञ्जको हिमालयन स्कुलबाट एसईई र हरिखेतान कलेजबाट प्लस टु पूरा गरेकी उनी भारतको बैंगलोरस्थित राजीव गान्धी युनिभर्सिटीबाट नर्सिङमा स्नातक गरेर स्वदेश फर्किइन् । हाल उनले एभरग्रिन नर्सिङ कलेज, वीरगञ्जमा नर्सिङ चिफको जिम्मेवारी सम्हालिरहेकी छन् । मधेशी समुदायमा छोरीलाई बाहिर पढाउन अझै पनि संकोच गरिने सामाजिक संरचनामा परिवारको साथ र विश्वासमा अघि बढेकी जैसवालको यात्रा, संघर्ष, नर्सिङ पेसाको अवस्था र महिलाको नेतृत्वबारे केन्द्रित रहेर मध्य नेपालले गरेको कुराकानीको सम्पादित अंश:
मधेशमा छोरीलाई पढाउन अभिभावक धेरै उदार हुँदैनन् भन्ने मान्यता छ । तपाईंलाई भने बाहिर पढाउन परिवार कसरी तयार भयो ?
यसको सबैभन्दा ठूलो श्रेय मेरो बुबालाई जान्छ । उहाँले ममाथि पूर्ण भरोसा गर्नुभयो । मेरी आमाको पनि ठूलो सपना थियो, आफू पढ्न नपाए पनि छोरीलाई पढाएको हेर्ने । उहाँ आफ्नो अधुरो सपना ममार्फत पूरा गर्न चाहनुहुन्थ्यो । यही सोच र विश्वासले मलाई अगाडि बढायो । हाम्रो परिवारबाट बाहिर निस्किएर पढ्ने पहिलो छोरी म नै हुँ ।
तपाईंले व्यक्तिगत रूपमा कत्तिको संघर्ष गर्नुप¥यो ?
इमान्दारीपूर्वक भन्नुपर्दा मैले त्यति धेरै संघर्ष गर्नु परेन । तर, मेरो परिवारले निकै ठूलो संघर्ष व्यहोर्नुप¥यो । समाजबाट ‘छोरीलाई बाहिर पठाउनु हुँदैन, बिग्रेर आउँछ’ भन्ने दबाब आइरहन्थ्यो । तर, मेरा बुबा दृढ रहनुभयो । उहाँको विश्वासका कारण मेरो बाटो सहज बन्यो । मेरो विवाह पनि दाइजो बिना भयो । अहिले पनि दाइजो प्रथा हाम्रो समाजमा कायमै छ । तर, मेरो ससुराले ‘मलाई दाइजो चाहिँदैन, पढेलेखेको बुहारी पाएको छु’ भन्नुभएको थियो । त्यो कुरा मेरो जीवनको ठूलो उपलब्धि जस्तै लाग्छ ।
दाइजो नलिँदा पनि नकारात्मक टिप्पणी गर्ने चलन छ नि ?
हो, समाजमा यस्तो पनि छ । केही कमजोरी भएर दाइजो नलिएको होला पनि भन्ने चलन छ समाजमा । तर, मेरा सासु ससुराले समाजको कुरा नसुनी आफ्नो निर्णयमा अडिग रहनुभयो । त्यस्तो परिवार पाउनु मेरो सौभाग्य हो ।
‘छोरा बिगार्नु छ भने कमर्स पढाऊ, छोरी बिगार्नु छ भने नर्स बनाऊ’ भन्ने मानसिकता अझै छ । तपाईंलाई कत्तिको गाह्रो भयो ?
यो मानसिकता अहिले पनि समाजमा गहिरोसँग जरा गाडेर बसेको छ । मेरो हकमा भने बुबाआमाको विश्वासले काम सहज बनायो । समाजले भने राति ड्युटी गर्दा छोरी बिग्रिन्छ, घरबाहिर बस्दा चरित्रमा प्रश्न उठ्छ भन्ने कुरा सुनायो । तर, मेरो परिवारले ती कुरालाई महत्व दिएन । विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति बन्यो ।
काम गर्ने वातावरणमा कस्ता चुनौती झेल्नुप¥यो ?
महिलाका लागि काम र घर दुबै सम्हाल्नु ठूलो चुनौती हो । बिहानै उठेर घरको काम, बच्चालाई स्कुल पठाउने, खाजा बनाउने, त्यसपछि अफिस । बेलुका फर्किएपछि फेरि बच्चाको हेरचाह, खाना बनाउने, यही चक्र हो । यसले अतिरिक्त अध्ययन, नयाँ ज्ञान लिन समय नै दिँदैन ।
यसले महिलालाई पछि पारिरहेको छ जस्तो लाग्दैन ?
पक्कै पनि, यसले महिलालाई पछि पारेको छ । विदेशमा वर्क फ्रम होमको सुविधा छन्, यहाँ त्यस्तो व्यवस्था छैन । यस्ता कुराले महिलाको करियरमा प्रत्यक्ष प्रभाव पार्छ । नेतृत्व तहमा पुग्न समाजको सोच परिपक्व हुनु पर्छ । नेतृत्वले महिलाको अवस्था बुझ्नुपर्छ । परिपक्व नेतृत्वका लागि सामाजलाई पढ्नु पर्छ, ज्ञान हुन आवश्यक छ ।
महिलाको नेतृत्व सहज हुन के आवश्यक छ ?
काम गर्ने ठाउँमा नेतृत्वले समस्या बुझ्यो भने धेरै कुरा सजिलो हुन्छ । मैले काम गरिरहेको संस्थामा वातावरण निकै सहज छ । यहाँ काम गर्न असहज महसुस हुँदैन । अगाडिको व्यक्तिले बुझिदिँदा, जति कामको प्रेसर भए पनि काम गर्ने प्रेरणा मिल्छ ।
नर्सिङ चिफको रूपमा विद्यार्थी नर्सहरूको मनोस्थिति कस्तो देख्नुहुन्छ ?
सबैलाई समान व्यवहार गर्दै अघि बढाउनु नै ठूलो चुनौती हो । शिक्षाको गुणस्तर कायम राख्नु अर्को चुनौती हो । विद्यार्थीका व्यक्तिगत समस्या, मानसिक दबाब, पारिवारिक अवस्था यी सबैलाई बुझेर समाधान दिनु पर्छ । कसलाई कसरी ह्यान्डल गर्ने भन्ने कुरा निकै संवेदनशील हुन्छ ।
अहिले नर्सिङ पेसामा पुरुष पनि आउन थालेका छन् । तर, सुविधा र सम्मानको संघर्ष किन अझै कायमै छ ?
नर्सले सबै काम गर्छ, तर नाम भने डाक्टरकै आउँछ । नर्स डाक्टरको दाहिने हात हो, तर त्यो भूमिका समाजले अझै खुलेर स्वीकारेको छैन । यति धेरै काम गर्दा पनि राम्रो तलब नपाउँदा नर्सहरू डिमोटिभेटेड हुन्छन् । सुधार हुँदैछ, तर अझै धेरै गर्न बाँकी छ ।
नर्स एसोसिएसनले नर्सहरूको अधिकारका लागि कस्तो काम गरिरहेको छ ?
हामी नर्सलाई एकजुट बनाउने प्रयासमा छौं । दुःखको कुरा, धेरै ठाउँमा महिलाले नै महिलाको खुट्टा तान्ने अवस्था छ । ‘म कसरी अघि बढूँ’ भन्दा पनि ‘उ किन अघि बढ्यो’ भन्ने सोच हाबी छ । यसलाई तोड्न महिलाहरू एकजुट हुनै पर्छ ।
महिलाले नेतृत्वमा के चाहन्छन् ?
महिलाले नेतृत्वमा सम्मान चाहन्छन्, र सबैभन्दा महत्वपूर्ण कुरा विश्वास हो । सम्मान र विश्वासबिना महिलालाई टिक्न गाह्रो हुन्छ । विश्वास भयो भने महिला सहज रूपमा नेतृत्व गर्न सक्छन् ।
नर्सलाई सम्मान दिलाउन के गर्नु पर्छ ?
सबैभन्दा पहिले विश्वासको वातावरण बनाउनु पर्छ । डाक्टरले शल्यक्रिया गरे पनि त्यसमा नर्सको ठूलो भूमिका हुन्छ । नर्सले गरेको काम समाजमा देखिनु पर्छ । नर्सहरूले पनि आफ्नो भूमिकाबारे समाजसँग अन्तरक्रिया गर्नु पर्छ । विश्वासको वातावरण बनाउनु पर्दछ । मैले गरेको कामबाट समाजले मलाई चिनोस भन्नेमा स्पष्ट हुन आवश्यक छ ।
नर्सिङ पढेर विदेश जाने प्रवृत्ति किन बढ्दो छ ?
नेपालमा अवसर र उचित पारिश्रमिक नहुँदा यस्तो भएको हो । विदेशमा अवसर र कमाइ दुवै छन् । नेपालमै नर्स टिकाउने वातावरण नबनाएसम्म यो क्रम रोकिँदैन । हामीले वातावरण बनाउनु पर्दछ । उनीहरूलाई विदेशभन्दा पनि नेपालमै गरिखाने वातावरण बनाउनु पर्दछ । यसका लागि हामी एकजुट भएर काम गर्नु पर्दछ ।
तपाईं भने विदेश पढेर पनि किन फर्किनुभयो ?
बाहिर सिकेको ज्ञान यहीँ उपयोग गरूँ भन्ने सोच आयो । फर्किएर यहीँ काम गर्दा पनि सन्तुष्टि मिल्दो रहेछ भन्ने अनुभव भयो ।
विदेश जाने नर्सहरूलाई तपाईंको सन्देश के छ ?
इच्छा, जागर र भरोसा भए नेपालमै पनि धेरै गर्न सकिन्छ । विदेश जानैपर्ने बाध्यता छैन । अवसर आफैं सिर्जना गर्नु पर्छ । तर, नर्सलाई नेपालमै टिकाउन हामी सबै मिलेर वातावरण बनाउनु पर्छ ।