स्वास्थ्य सेवा प्रत्यक्ष रूपमा मानिसको जीवनसँग जोडिएको संवेदनशील क्षेत्र हो, जहाँ चिकित्सकीय दक्षतासँगै सक्षम व्यवस्थापन, उत्तरदायित्व र सेवाभाव अनिवार्य हुन्छ । वीरगञ्जजस्तो व्यस्त शहरमा गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु आफैंमा ठूलो चुनौती हो । यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै नारायणी सेन्ट्रल हस्पिटलले पछिल्ला वर्षहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । यस अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डा. पवनकुमार पटेल पछिल्ला ६ वर्षदेखि चिकित्सक सेवामा सक्रिय छन् । चिकित्सकीय पेशासँगै अस्पताल व्यवस्थापनको दोहोरो जिम्मेवारी सम्हालिरहेका डा. पटेल नारायणी सेन्ट्रल हस्पिटलले सर्वसाधारणको पहुँचमा उपचार सेवा पु¥याउने प्रयास गरिरहेको बताउँछन् । अस्पतालको सेवा सुविधा र भविष्यका योजनाबारे मध्य नेपालका लागि कमला भण्डारीले डा. पटेलसँग गरेको कुराकानी ः
अस्पताल व्यवस्थापनको जिम्मेवारी सम्हाल्न कत्तिको सहज छ ?
व्यवस्थापकीय पक्षको जिम्मेवारी वहन गर्न सहज छैन । धेरै संघर्षपूर्ण छ । डाक्टर पेशाबाहेक अन्य सबै कुराको व्यवस्थापन गर्न त्यति सहज छैन । जसरी हस्पिटल सञ्चालन गरेर बिरामीहरूलाई सेवा दिइरहेका छौं । त्योभन्दा पनि राम्रो गर्न प्रयत्नरत छौं । बिरामीको उचित सेवाका लागि प्रतिस्पर्धा गरिरहेका छौं ।
नारायणी सेन्ट्रल हस्पिटलमा कस्ता सेवाहरू उपलब्ध छन् ?
नारायणी हस्पिटलमा इन्पेसेन्टको व्यवस्था छ । २४ सै घण्टा इमरजेन्सी सेवाको सुविधा, आईसियु, एनआईसियु सेवा, प्रसुति सेवा र नियमित शल्यक्रिया सेवा सञ्चालनमा छ । अहिले हस्पिटलमा शल्यक्रियातिर बढी केन्द्रित भएका छौं । सक्रिय युवा डक्टरहरूको समूह बनाएर काम गरिरहेका छौं । मुत्रनलीको, पत्थरीको अप्रेशन, पित्तको थैलीको अप्रेशन, एपेनडिक्सको अप्रेशन दुरबिनद्वारा गरिन्छ । आन्द्राको, पेटमा पिप जमेको अप्रेशन, पिसाबको नलीको बनावट साँघुरो वा खुम्चिएको नलीको अप्रेशन गरिन्छ । हस्पिटलमा बिरामीका लागि १ सय शैया उपलब्ध छ । इन्डोस्कोपी, कोलोस्कोपी, श्वासप्रश्वास नली, खाना नली हेर्ने दुरबिन, सिस्टोस्कोपी मेसिन (मुत्रनलीमा हेर्न) ल्याप्रोस्कोपी सर्जरी (बिना चिरफार अप्रेशन गर्न), ल्याबमा हरेक प्रकारको परिक्षण गरिन्छ । वीरगञ्जको परिपे्रक्षमा लगभग सबै प्रकारका उपकरणहरू हस्पिटलमा उपलब्ध छन् । २ महिनादेखि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ ।
सामाजिक सुरक्षा कोषले कस्ता रोगलाई समेट्छ ?
सामाजिक सुरक्षा कोषमा आवद्ध भएका बिरामीहरूलाई उपचार खर्चको २० प्रतिशत शुल्क लिएर नेपाल सरकारले दिएको सेवा सुविधाअनुसार दिएका छौं । नेपाल सरकारले बनाएको नीति, नियम, कानूनअनुसार सञ्चालन गरिरहेका छौं । नेपाल सरकारले मुटुका बिरामीहरू, मिर्गौलाका बिरामीहरू, श्वासप्रश्वाससम्बन्धी रोगहरू, टिबीका बिरामीहरूलाई विशेष सेवा दिइरहेको छ । अन्य रोगहरूमा दम, आस्थामा, प्रेसर, मधुमेह, थाइराईडजस्ता बिरामीहरूलाई सामाजिक सुरक्षा कोषबाट सेवा दिइरहेका छौं । सामाजिक सुरक्षा कोषबाट सेवा लिने बिरामीले समग्र औषधी, उपचार र उपचारको क्रममा गरिने स्वास्थ्य परीक्षण खर्चलगायत उपचारपछिको औषधीको खर्चसमेतको सेवासुविधा पाउँछन् । आमा सुरक्षा कार्यक्रम र जेष्ठ नागरिक सामाजिक सुरक्षाको लागि नेपाल सरकारको अनुमतिको कुरिरहेका छौं ।
कुन–कुन रोग उपचारको लागि विशेषज्ञ डाक्टरहरू उपलब्ध छन् ?
तत्काल हस्पिटलमा जनरल सर्जन, गाइनोक्लोजिष्ट, बालरोग विशेषज्ञ, डेन्टल सर्जन, जनरल फिजिसियन, नाक, कान, घाँटी विशेषज्ञ, न्युरो सर्जन, अर्थोपेडिक्स रेडियालोजिष्ट, फिजियोथेरापी सेवा, मानसिक रोग विशेषज्ञ छन् । नारायणी सेन्ट्रल हस्पिटलमा सबै सेवा उपलब्ध छन् ।
सेवा सुविधा सर्वसाधरणको पहुँचमा छ ?
अहिलेसम्म वीरगञ्जमा सञ्चालनमा भएका हस्पिटलहरूमा नारायणी सेन्ट्रल हस्पिटल फरक छ । सबै हस्पिटलहरू भन्दा न्यून सेवा शुल्कमा सबै रोगको सेवा दिइरहेका छौं । अन्य सेवाहरूलगायत कार्डियोलोजिष्ट सेवा पनि उपलब्ध गराइरहेका छौं । जसले गर्दा सर्वसाधरणलाई सहज भएको छ । हरेक महिना हस्पिटलको आय व्यय र प्रगति विवरण महानगरपालिकालाई पेश गरिरहेका छौं । समाजबाट र नगरपालिकाबाट अपेक्षाकृत साथ पाइरहेका छौं । भविष्यमा अझै राम्रो गर्ने अपेक्षा राखेका छौं ।
हस्पिटललाई व्यवस्थित गर्न अझै के गर्नु पर्ला ?
अत्याधुनिक ल्याप्रोस्कोपी सेवा उपलब्ध छ । बिना चिरफार दुरबिन प्रविधिद्धारा एपेन्डीस, हर्निया, अण्डाशय लगायतको शल्यक्रिया गर्दछौं । सेवाग्राहीहरूलाई सहज बनाउन हस्पिटलमा प्रोस्टेडको शल्यक्रिया गर्ने सेवा उपलब्ध गराउन प्रयत्नमा छौं । डाईलाइसिसको व्यवस्था गरेर बिरामीको सहज उपचार गराउने सोचमा छौं । आमा सुरक्षा कार्यक्रम र जेष्ठ नागरिक सामाजिक सुरक्षा कार्यक्रम ल्याउने प्रयासमा छौं । सामाजिक सुरक्षा कोष लागू भएपछि सेवाग्राहीको संख्या केही बढ्दै गएका पनि छन् । हस्पिटलको सेवामा सन्तुष्ट भएको पाइन्छ ।
नारायणी सेन्ट्रल हस्पिटलले मेडिकल कलेज चलाउने कुरा सुनिएको छ नि, के हो ?
तत्काल हस्पिटल अपेक्षाकृत राम्रो हुँदै गइरहेको छ । भविष्यमा पनि अझै राम्रो गर्दै जाने सोचमा छौं । सक्रिय युवा डक्टरको समूह मिलेर भविष्यमा मेडिकल कलेज खोल्ने योजना गरेका छौं । यो यहाँको आवश्यकता पनि हो ।
अहिले जाडो गएर गर्मी आउनेक्रममा छ, यस्तोमा कस्ता खालका रोगहरूले बढी सताउँछ ?
रुघाखोकी, भाइरल इन्फेक्सन, श्वासप्रश्वाससम्बन्धी रोगहरू, फोक्सो, हर्टआट्याक हुने, मस्तिष्क घात हुने मुटुको बिरामीहरू बढी देखिन्छ । यस्ता रोगहरूबाट बच्न चिसोको मौसममा बिहान मर्निङ्ग वाक नगर्ने, घाम लागेपछि मात्र घर बाहिर निस्किने । धुवाँजन्य पदार्थबाट टाढा बस्ने (पराल, टायर बाल्ने कम गर्ने), वातावरण प्रदूषण भइरहेकोले श्वासप्रश्वास रोगहरू बच्चामा पनि बढ्दै गएरहेको छ । वातावरणीय तत्वलाई पनि मौसम अनुसार ख्याल गर्नु पर्छ ।
श्वासप्रश्वासका रोगलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?
मुटुको रोग छ भने जीवनशैली परिवर्तन गरेर ठिक हँुदै जान्छ । मोटोपनलाई कम गर्दा प्रेशर कम हुन्छ । मुटुको रोग कम हुन्छ । धुम्रपान गर्ने, धुलो धुँवामा काम गर्नेले माक्सको प्रयोग गरेर चुरोट खान कम गरेमा श्वासप्रश्वास रोग कम हुन्छ । मासु बढी खाने मानिसलाई लिभर र कलेजाकोे रोग हुने सम्भावना बढी हुन्छ । जुन कुराले रोगलाई बढाउने काम गर्छ त्यस्ता खानपिन खान बन्द गरेमा धेरै रोगहरूलाई कम गराउँछ । हरेक मानिसले कम्तिमा ६ महिनामा स्वास्थ्य परीक्षण गराउँदा आफूमा रोग छ वा छैन पत्ता लगाउन सकिन्छ । वंशाणुगत रोगहरू निको हुन गाह्रो हुन्छ । श्वासप्रश्वास रोग पनि वंशाणुगत छ भने निको हुन गाह्रो हुन्छ ।
वंशाणुगत रोग भएको कसरी थाहा पाउन सकिन्छ ?
वंशाणुगत रोग बच्चाको भु्रण अवस्थामा राम्रोसँग जाँच गरेमा पत्ता लगाउन सकिन्छ । गर्भवती अवस्थामा भर्खर जन्मेको बच्चाहरूलाई डाइबिटिज हुने सम्भावना हुन्छ । बच्चा जन्मेपछि श्वासप्रश्वास प्रक्रिया कम हुने सम्भावना हुन्छ । पहिला नै जाँच गरेपछि यो बच्चालाई यो रोग छ र यो रोगबाट यसरी निर्मूल पार्न सक्छौं भनेर ध्यान दिन सकिन्छ । जसले गर्दा रोगलाई बढाउने खालका कुराहरूबाट टाढा रहन सहज हुन्छ ।
गर्मी महिनामा कस्ता समस्या बढी हुन्छन् ?
गर्मी महिनामा सरुवा रोगहरू बढी लाग्ने हुन्छ । दुषित खानपनिबाट सर्ने रोगहरू बढी हुन्छ । कडा घाम लागेको बेलामा काम गर्दा हिटस्ट्रक हुन्छ । दूषित खानपिनबाट झाडापखाला, वान्ता हुने र ग्याष्ट्रिकको समस्या हुन्छ । यसबाट बच्नको लागि खानपिन र सरसफाईमा ध्यान दिनुपर्छ । आफूलाई नेचुरल डिजास्टबाट (प्राकृतिक प्िरक्रया) बचाउनु पर्छ । मानवीय जीवन प्राकृतिकसँग जोडिएको हुन्छ । प्राकृतिमा मौसम जसरी परिवर्तन हुन्छ, त्यस्तै हिसाबले रोगहरू पनि परिवर्तन हुन्छ । कुनै कुनै रोगहरू वर्षौदेखि भइरहन्छ भने कुनै रोग सिजनल हुन्छ । चिसोको मौसममा भाइरल इन्फेक्सन बढी देखिन्छ । रुघाखोकी, भाइरल ज्वरो आउने हुन्छ । मौसम परिवर्तन भएपछि अटम सिजन आउँछ । हावाहुरी चल्न थालेपछि इन्फुलुञ्जा भाइरसले रुघाखोकी लाग्ने, हाच्छँयु बढी आउने, नाकबाट सिँगान आउने र ज्वरो आउने हुन्छ । गर्मी महिना आएपछि खाना चाँडै कुहिने, चाँडै दूषित हुने, पानी फोहर हुने, संक्रमित रोगहरू बढी फैलिने सम्भावना हुन्छ ।
कस्तो सावधानी अपनाउन सकिन्छ ?
रोगबाट बच्न सरसफाईमा ध्यान दिनु पर्छ । प्राकृतिक कुराहरूसँग मिलेर हिड्न सक्नुपर्छ । सबै नागरिकमा कोरोनाले गर्दा साबुन पानीले हात धुने बानी भयो । हात धुने बानीले गर्दा धेरै रोगहरूको निवारण भएको छ । हावाहुरी चलेको समयमा माक्सको प्रयोग गर्ने । श्वासप्रश्वासको रोगहरू छ भने धुलो धुँवामा बढी ननिस्कने, चिसोमा नजाने, न्यानो कपडाको प्रयोग गर्नु पर्छ ।
अन्त्यमा के सुझाव दिन चाहनुहुन्छ ?
राम्रो खानपिन खाऔं । सरसफाईमा ध्यान दिऔं । आफूलाई स्वस्थ्य राख्नको लागि हरेक मानिस सफासुग्घर र वातावरण अनुकूलको खानपनिको प्रयोग गर्दा राम्रो हुन्छ ।