बंगलादेशमा विद्यार्थी राजनीतिमा फेरि रक्तपात मच्चिएको छ। शरिफ उस्मान हादीको हत्याको केही दिनमै अर्का युवा नेता मोतालेब सिकदरलाई अज्ञात समूहले गोली हानेको छ।
बंगलादेशको दक्षिण–पश्चिमी शहर खुलनामा सोमबार अज्ञात बन्दुकधारीले राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता मोतालेब सिकदरको टाउकोमा गोली प्रहार गरेका हुन्। द डेली स्टार का अनुसार सिकदरलाई गम्भीर अवस्थामा खुलना मेडिकल कलेज अस्पताल पुर्याइएको थियो।
स्थानीय सञ्चारमाध्यम द कालेर कान्था लाई उद्धृत गर्दै पीटीआई समाचार एजेन्सीले जनाएअनुसार सिकदरको टाउकोको बायाँ भागमा गोली लागेको थियो र अस्पताल ल्याउँदा अत्यधिक रक्तस्राव भइरहेको थियो। चिकित्सकहरूले तत्काल आपतकालीन उपचार सुरु गरेका थिए।
को हुन् मोतालेब सिकदर ?
राष्ट्रिय नागरिक पार्टी (एनसीपी) ले जारी गरेको विज्ञप्तिअनुसार मोतालेब सिकदर पार्टीका खुलना डिभिजन प्रमुख हुन्। साथै उनी पार्टीको श्रमिक मोर्चाका केन्द्रीय संयोजकको जिम्मेवारीमा पनि रहेका छन्।
एनसीपीले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एनसीपी खुलना डिभिजन प्रमुख तथा श्रमिक मोर्चाका केन्द्रीय संयोजक मोतालेब सिकदरलाई केही समयअघि गोली हानिएको छ।”
४२ वर्षीय सिकदर सन् २००४ मा भएको हिंसात्मक विद्यार्थी आन्दोलनका प्रमुख पात्रमध्ये एक रहेको बताइएको छ। उनी खुलना शहरको सोनाडांगा क्षेत्रअन्तर्गत पर्ने शेखपारा पल्लिका स्थायी बासिन्दा हुन्।
सोनाडांगा मोडेल प्रहरी चौकीका अनुसन्धान प्रमुख रफिकुल इस्लामलाई उद्धृत गर्दै द डेली स्टार ले जनाएअनुसार सोमबार बिहान करिब ११ः४५ बजे गाजी मेडिकल कलेज अस्पताल नजिकै सिकदरलाई लक्षित गर्दै गोली प्रहार गरिएको थियो। चिकित्सकका अनुसार गोली एक कानको छेउबाट छिरेर छाला छेड्दै अर्को तर्फबाट बाहिरिएको छ र हाल उनी खतरामुक्त अवस्थामा छन्।
यो आक्रमण केही दिनअघि मात्रै ढाकाको बिजयनगर क्षेत्रमा चुनावी अभियानका क्रममा मुखौटा लगाएका समूहले गोली हानेका विद्यार्थी आन्दोलनका प्रमुख नेता शरिफ उस्मान हादीको मृत्युपछि भएको हो।
गत वर्ष प्रधानमन्त्री शेख हसिनाको अवामी लिग सरकारको पतनतर्फ लैजाने विद्यार्थी आन्दोलनका अगुवा ३२ वर्षीय हादी सिंगापुरमा उपचारका क्रममा मृत्यु भएका थिए। उनी आगामी फेब्रुअरी १२ मा हुने आमनिर्वाचनका उम्मेदवारसमेत थिए।