खानपानमा सावधानी अपनाउनु पर्दछ
डा. लक्ष्मी थापा
स्त्री तथा प्रसूति रोग विशेषज्ञ
प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरकेही उपायहरू अपनाउँदा क्यान्सरबाट बच्न सकिन्छ । समयमा नै उपचार गर्न सकिन्छ । क्यान्सरबाट बच्न मुख्य कुरा खानपानका सावधानी दिनु पर्छ । अग्यानिक शाकाहारी खानामा जोड दिनुपर्ने हुन्छ । प्याकिङ्ग गरेको, क्यान, डब्बामा राखेर प्याकिङ्ग गरेको खाना, जंकफुडहरू खानु हुँदैन । घरमा बनेको ताजा, सादा शाकाहारी खाना खानु पर्छ । मांसाहारी खाना खानाले बढी क्यान्सर भएको देखिन्छ । सुर्तीजन्य पदार्थ र मादक पदार्थको सेवन गर्नु हुँदैन । यसले फोक्सो र कलेजोको क्यान्सर हुन्छ । अहिले विभिन्न केमिकलको कारणले पनि क्यान्सर भइरहेको छ । यसबाट पनि बच्नु गर्नु पर्छ । महिलाहरूले प्रयोग गर्ने मेकअपको समानहरू, कपालमा कलर गर्ने केमिकलहरू, हेयर रिमुभर क्रिमहरूले पनि पछि गएर असर गर्दछ । स्वच्छ वातावरणमा रहनु पर्छ । दूषित हावामा पनि धेरै प्रकारको टक्सिन तत्वहरू हुन्छन् । हिड्डुल गर्दा माक्स लगाएर हिड्नु पर्छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन स्वच्छ जीवनशैली अपनाउनु पर्छ । योगा, कसरत, आसन, प्रणायमहरू गर्ने, स्वस्थ्य खानपिन खाने जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । कतिपय रोगहरू लाग्न दिँदैन । कतिपय क्यान्सर वंशाणुगत गुणको कारणले गर्दा पनि लाग्ने हुन्छ । आमालाई ब्रेस्ट क्यान्सर छ भने छोरीहरूलाई पनि क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । परिवारमा क्यान्सर छ भने समयसमयमा स्केलिङ्ग जाँच गर्नु पर्छ । पहिलो चरणमा नै पत्ता लगाएमा क्यान्सरलाई निको पार्न सकिन्छ । सकेसम्म क्यान्सर रोगलाई लाग्न दिनु हँुदैन । लागिहालेमा पनि समयमा नै निको पार्न सकिन्छ । कतिपय क्यान्सरहरूको भ्याक्सिनहरू पनि उपलब्ध छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप आएको छ ।
स्वास्थ्यको विशेष हेरचाह गर्नुपर्छ
मञ्जरी श्रेष्ठ
क्यान्सर सर्भाइभरक्यान्सर लागेपछि पूर्णरुपमा पहिलाको अवस्थामा आउन सकिँदैन । आफूलाई लामो समयसम्म जोगाउन स्वास्थ्यको विशेष हेरचाह गर्नु पर्छ । क्यान्सरको उपचार भइसकेपछि बिरामीले स्वास्थ्यमा ध्यान राख्नु पर्छ । जीवनमा धेरै परिवर्तन ल्याउने कोशिस गर्नु पर्छ । मुख्य त खानेकुरामा ध्यान राख्नु पर्दछ । खाना समयमा खाने गर्नु पर्दछ । चिल्लो पदार्थ, अमिलो र पिरो खान कम गर्नु पर्दछ । दैनिक कसरत पनि गर्नु पर्दछ । धेरै चिन्ता लिनु हुँदैन । क्यान्सर पीडितले सधै सकारात्मक सोच राख्नु पर्छ । नकारात्मक सोचलाई मन मस्तिष्कमा आउन दिनु हुँदैन ।
जनचेतना फैलाउनु आवश्यक छ
डा.मञ्जु राय
(स्त्री तथा प्रसूति रोग विशेषज्ञ)
नारायणी अस्पतालनेपालमा क्यान्सरले सबैभन्दा बढी महिलाहरूलाई सताएको छ । महिलाहरूलाई प्रायः स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर हुन्छ । क्यान्सरबाट बच्न आम नागरिकलाई जनचेतना फैलाउनु आवश्यक छ । अझै पनि मधेश प्रदेशमा क्यान्सरसम्बन्धी चेतनाको कमी छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको दीर्घकालीन सक्रमणको कारणले हुन्छ । यो भाइरस लागेको १०÷२० वर्षसम्म पनि शरीरमा इन्फेक्सन रहेमा पछि क्यान्सरको रुप लिन्छ । समयमा भाइरसको पहिचान भएमा पूर्ण रुपमा रोकथाम र उपचार हुन्छ । महिलाहरूको कम उमेरमा विवाह हुनाले कम उमेरमा यौन सम्पर्क शुरू हुन्छ । कम उमेरमा यौन सम्पर्क भएको कारणले ह्युमन प्यापिलोना भाइरसको इन्फेक्सन हुन्छ । महिलाले धेरै जना पार्टनरसँग सम्पर्क राख्नु हुँदैन । कम उमेरको महिलामा भाइरसको इन्फेक्सन छ र उसको रोगसँग लड्ने क्षमता छ भने भाइरसको उपचार गरेर इन्फेक्सनमुक्त हुन्छ । इन्फेक्सन बढ्दै गएर १०÷२० वर्षसम्म इन्फेक्सन रह्यो भनेमात्र शरीरमा क्यान्सर देखिन्छ । इन्फेक्सन भएदेखि बीचको समयमा रोग पत्ता लगाएर उपचार गर्न सकिन्छ । पाठेघरको मुखको जाँच गर्न नेपाल सरकारले शिविरहरू पनि सचालन गरिरहेको छ । ३० देखि ४९ वर्षका महिला, जो यौन सम्पर्कमा सक्रिय छन् उनीहरू रोग लुकाएर घर भित्रमात्र सीमित हुन्छन् । ३० देखि ४९ वर्षका महिलाहरूले पाठेघरको मुखको जाँच एक पटक गरेपछि ३÷३ वर्षमा जाँच गर्दै जानु पर्छ । पाठेघरको मुखको जाँच गरेको ९ वर्षसम्म क्यान्सरको शंका देखिएन भने स्किलिङ बन्द गर्नु पर्छ । नेपाल सरकारको ९० प्रतिशत महिलाको पाठेघरको मुखको जाँच गराउने लक्ष्य भए पनि १० प्रतिशत महिलाहरूले मात्र जाँच गराएका छौं । तराईमा बिरामी भएपछि मात्र जाँच गर्न जाने गर्दछन् । शिविरमा भाइरसको इन्फेक्सन देखिने उमेर समूह भन्दा पनि महिनावारी सुकेका, पाठेघर निकालेका र ४५ काटेको महिलाहरू मात्र जाँचको लागि आउँछन् । जाँच गराउन नआएसम्म भाइरस भए नभएको पत्ता लगाउन सकिँदैन । ९ वर्षदेखि १४ वर्षसम्मको किशोरीहरूले एक डोज एचपीभी भ्याक्सिन लगाएमा संक्रण हुनबाट रोक्छ । ३० उमेर कटेको सम्पूर्ण महिलामा ५÷५ वर्षमा एचपीभी डीएनए परीक्षण गर्नु पर्छ । पोजेटिभ आएकामध्ये पाठेघरको पानीको जाँच गरेर भारइरसले पछि गएर असर गर्छ कि गर्दैन पत्ता लगाएर बच्न सकिन्छ । सबै क्यान्सर कसरी हुन्छ भन्ने अनुसन्धान भइरहेको छ । विभिन्न संघसंस्थाले विद्यालयमा विद्यार्थीहरू र आमाहरूलाई जनचेतना फैलााउने काम गर्नु पर्छ । सबै खालका क्यान्सरबाट बच्न पोषिलो र स्वस्थ खानपनि गर्नु पर्छ । केमिकल युक्त खानेकुरा खानु हुँदैन ।