मोरक्को विवादास्पद निर्णय र नाटकीय दृश्यहरूका बीच सेनेगलले मोरक्कोलाई पराजित गर्दै दोस्रो पटक 'अफ्रिका कप अफ नेशन्स' (AFCON) को उपाधि जितेको छ। खेलको अन्तिम समयमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै सेनेगलका खेलाडीले मैदान छाडेपछि खेल केही समय अवरुद्ध बनेको थियो।
मैदानमै तनाव: १७ मिनेट खेल अवरुद्ध
खेल गोलरहित बराबरीमा चलिरहँदा इन्जुरी समयको ९८औँ मिनेटमा रेफ्री जीन ज्याक एनडालाले मोरक्कोलाई पेनाल्टी दिएपछि विवाद सुरु भएको थियो। भिडियो असिस्टेन्ट रेफ्री (VAR) को सल्लाहमा रेफ्रीले सेनेगलका डिफेन्डर अल हाजी मलिक डिउफले ब्राहिम डियाजमाथि फाउल गरेको भन्दै पेनाल्टी दिएका थिए।
यसअघि आफ्नो एक गोल रद्द गरिदिएका कारण क्रुद्ध बनेका सेनेगलका मुख्य प्रशिक्षक पापे थियावले आक्रोशमा आफ्ना खेलाडीहरूलाई मैदान बाहिर जान निर्देशन दिए। यद्यपि, पूर्व लिभरपुल स्टार साडियो मानेले भने आफ्ना साथीहरूलाई खेल पुरा गर्न आग्रह गर्दै मैदानमै बसेका थिए। करिब १७ मिनेटको अन्योलपछि सेनेगलका खेलाडीहरू पुनः मैदान फर्किएका थिए।
पेनाल्टी मिस र सेनेगलको जित
मोरक्कोका लागि ब्राहिम डियाजले प्रहार गरेको पेनाल्टीलाई सेनेगलका गोलकिपर एडुआर्ड मेन्डीले सहजै बचाएका थिए। डियाजको फितलो 'पनेन्का' सट बचाएलगत्तै खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको चौथो मिनेटमा भिल्लारियलका मिडफिल्डर पापे गुआईले गोल गर्दै सेनेगललाई ५ वर्षमा दोस्रो पटक अफ्रिकी च्याम्पियन बनाए।
प्रशिक्षक र खेलाडीको प्रतिक्रिया
खेलपछि मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले सेनेगलले मैदान छाड्नु "लज्जास्पद" र अफ्रिकी फुटबलकै अपमान भएको टिप्पणी गरे। यता, सेनेगलका प्रशिक्षक थियावले भने आवेशमा आएर गल्ती गरेको भन्दै माफी मागेका छन्। उनले भने, "फुटबलमा यस्तो हुनु हुँदैनथ्यो, म फुटबल जगतसँग माफी चाहन्छु।"
सेनेगलका स्टार साडियो मानेले भने, "फुटबलमा विश्वको नजर थियो, हामीले राम्रो छवि देखाउनुपर्थ्यो। रेफ्रीले पेनाल्टी दिँदैमा मैदान छाड्नु गलत हुन्थ्यो। म हार स्विकार्न तयार थिएँ तर खेल छोड्नु हुन्थेन।"
विवादको पृष्ठभूमि
फाइनल खेलअघि नै सेनेगल फुटबल संघले मोरक्कोमा आफ्नो टोलीको सुरक्षा र व्यवस्थापनलाई लिएर असन्तुष्टि व्यक्त गरेको थियो। होटेलको अवस्था, टिकट वितरण र सुरक्षामा भएको कमजोरीले खेलअघि नै तनाव बढाएको थियो। फिफा अध्यक्ष जियानी इन्फान्टिनोको उपस्थितिमा भएको यो फाइनल खेल फुटबल कौशलभन्दा बढी 'ड्रामा' र विवादका कारण सम्झिने डर पैदा भएको छ।