आजको नेपाली समाजमा विदेश पलायन एक सामान्य र व्यापक वास्तविकताका रूपमा देखिन थालेको छ । शिक्षित युवा हुन् वा श्रमिक वर्ग, राम्रो भविष्यको खोजीमा देश छोड्नेहरूको संख्या दिनानुदिन बढ्दो छ । वैदेशिक रोजगारी, अध्ययन वा स्थायी बसोबासका लागि विदेशिने क्रमले देशको सामाजिक, आर्थिक र मनोवैज्ञानिक संरचनामा गहिरो प्रभाव पारेको छ । यस्तो अवस्थामा प्रश्न उठ्नु स्वाभाविक छ । विदेश पलायन नेपाली युवाको बाध्यता हो कि सचेत रोजाइ भन्नेमा विभिन्न राय आउन सक्छन् ।
हामीले विदेश पलायनको प्रमुख कारण पत्ता लाएर केही हदसम्म स्वदेशमै पर्याप्त रोजगारीको हुन नसक्नु कारण हो । उच्च शिक्षा हासिल गरेका युवाहरू समेत आफ्नो योग्यता अनुसारको काम नपाएर निराश बन्ने अवस्था छ । निजी क्षेत्र सीमित छ भने सरकारी रोजगारीमा प्रतिस्पर्धा अत्यधिक छ । यसका साथै न्यून तलब, श्रमको उचित मूल्यांकन नहुनु, तथा अवसरको असमान वितरणले युवालाई विदेशतर्फ धकेलिरहेको छ । यस्ता परिस्थितिमा विदेश जानु धेरैका लागि बाध्यता जस्तै बनेको देखिन्छ ।
शिक्षा प्रणाली पनि पलायनको अर्को महत्वपूर्ण कारण हो । नेपालको शिक्षा प्रणाली सैद्धान्तिक बढी र व्यवहारिक कम भएको आरोप लाग्दै आएको छ । विद्यार्थीहरू सीपभन्दा प्रमाणपत्रमा सीमित हुने अवस्था छ । फलस्वरूप, देशमै रोजगारीका लागि आवश्यक दक्षता नहुँदा युवाहरू विदेशमा अवसर खोज्न बाध्य हुन्छन् । अझ, विदेशमा पढाइ सकेपछि स्वदेश फर्किनुभन्दा त्यहीं बस्न चाहने प्रवृत्ति पनि बढ्दो छ । राजनीतिक अस्थिरता, सुशासनको अभाव र भविष्यप्रतिको अनिश्चितताले पनि पलायनलाई तीव्र बनाएको छ । बारम्बार सरकार परिवर्तन, नीति नियमको अस्थायित्व र भ्रष्टाचारले युवामा निराशा पैदा गरेको छ । यहाँ बसेर केही हुँदैन भन्ने सोच पलायनको मानसिक आधार बनेको छ । यस्तो अवस्थामा विदेश जानु बाध्यताभन्दा बढी निराशाको परिणाम जस्तो देखिन्छ ।
विदेशलाई अवसरको भूमि ठानी सचेत रूपमा रोजेका छन् । राम्रो शिक्षा, उच्च जीवनस्तर, अन्तर्राष्ट्रिय अनुभव र आधुनिक प्रविधिसँग साक्षात्कार गर्ने चाहना पनि पलायनको कारण बनेको छ । आजको विश्वव्यापीकरणको युगमा विदेश गएर सीप, ज्ञान र पूँजी आर्जन गर्नु गलत होइन । समस्या तब हुन्छ, जब त्यो सीप र अनुभव देश फर्काएर प्रयोग हुँदैन । विदेश पलायनका प्रभावहरू मिश्रित छन् । एकातिर वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ भने अर्कोतिर गाउँ रित्तिँदै गएका छन्, परिवार टुट्दै गएका छन् र देशले आफ्नो ऊर्जाशील जनशक्ति गुमाइरहेको छ । दीर्घकालीन रूपमा यसले राष्ट्रिय विकासमा गम्भीर चुनौती खडा गर्न सक्छ ।
यस समस्याको समाधानका लागि राज्य गम्भीर हुन आवश्यक छ । स्वदेशमै रोजगारी सिर्जना, सीपमूलक शिक्षा प्रवद्र्धन, उद्यमशीलतालाई प्रोत्साहन, सुशासन र राजनीतिक स्थिरता बिना पलायन रोकिने छैन । साथै, विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आकर्षित गर्ने नीतिहरू पनि आवश्यक छन्। अन्ततः, विदेश पलायन न पूर्ण रूपमा बाध्यता हो, न त केवल रोजाइ । यो परिस्थितिजन्य यथार्थ हो, जहाँ व्यक्तिगत सपना र राष्ट्रिय असक्षमता एकआपसमा जुधिरहेका छन् । यदि देशले आफ्ना नागरिकलाई आशा र अवसर दिन सकेन भने पलायन रोक्न सकिँदैन । त्यसैले प्रश्न विदेश जाने–नजाने होइन, देशले आफ्ना युवालाई यहाँ बस्ने कारण दिन सकेको छ कि छैन भन्ने हो ।
विदेश पलायन केवल व्यक्तिगत निर्णयको विषय होइन, यो राज्यको नीति, समाजको संरचना र भविष्यप्रतिको सामूहिक भरोसासँग गाँसिएको गम्भीर प्रश्न हो । जबसम्म स्वदेशमै सम्मानजनक रोजगारी, गुणस्तरीय शिक्षा, सुरक्षित भविष्य र न्यायपूर्ण प्रणालीको अनुभूति हुँदैन, तबसम्म युवाको विदेशप्रतिको आकर्षण स्वाभाविक नै रहनेछ । त्यसैले विदेश पलायनलाई दोषारोपणको दृष्टिले होइन, आत्ममूल्यांकनको अवसरका रूपमा हेर्न आवश्यक छ । युवालाई देशमै सपना देख्न सक्ने वातावरण निर्माण गर्नु नै आजको सबैभन्दा ठूलो आवश्यकता हो । यदि राज्य समयमै सचेत भई सही दिशा लिन सफल भयो भने, आज विदेशिएका युवा भोलिका दिनमा राष्ट्र निर्माणका आधारस्तम्भ बन्न सक्छन् । नत्र भने, विदेश पलायन बाध्यताबाट रोजाइ बन्दै जानु देशका लागि गम्भीर चेतावनी सावित हुनेछ ।