डा. अक्षय द्विवेदी एमबीबीएस÷एमडी (रेडियोडायग्नोसिस) उपाधि प्राप्त रेडियोलोजिस्ट हुन् । उनले भारतको नयाँ दिल्लीस्थित आईएम दिल्लीबाट फेटल मेडिसिनमा आईएसयुओजी प्रमाणित फेलोसीप पाएका छन् । डा. द्विवेदी हाल वीरगञ्जस्थित अरुणा क्लिनिक एण्ड डायग्नोस्टिक इमेजिङ सेन्टरमा रेडियोलोजिस्टका रूपमा कार्यरत छन् । यसअघि उनले लुम्बिनी मेडिकल कलेज, पाल्पा र देवदह मेडिकल कलेज, रुपन्देहीमा रेडियोलोजिस्टका रूपमा सेवा प्रदान गरिसकेका छन् । उनी काठमाडौं विश्वविद्यालयको शैक्षिक संकायमा समेत आबद्ध भइसकेका छन् । अल्ट्रासाउन्ड, फेटल मेडिसिन तथा विभिन्न इमेजिङ परीक्षणमार्फत रोगको सही निदानमा विश्वास गर्ने डा. द्विवेदीसँग मध्य नेपालले गरेको कुराकानीको सार ः
अल्ट्रासाउन्ड किन गरिन्छ ? यसको उपयोगिता के छ ?
अल्ट्रासाउन्ड शरीरभित्रका अंगहरू हेर्न प्रयोग गरिने सुरक्षित, सरल र पीडारहित स्वास्थ्य परीक्षण विधि हो । यसमा रेडिएसन प्रयोग हुँदैन, त्यसैले गर्भवती महिला, बालबालिका तथा सबै उमेरका मानिसका लागि सुरक्षित मानिन्छ । अल्ट्रासाउन्डले शरीरभित्रको वास्तविक अवस्था देखाइदिने भएकाले रोगको सही कारण पत्ता लगाउन डाक्टरलाई ठूलो सहयोग पुग्छ । अल्ट्रासाउन्डको प्रयोग गर्भावस्थाको जाँचदेखि पेट, कलेजो, पित्तथैली, मिर्गौला, प्यान्क्रियास, पाठेघर, डिम्बाशय, प्रोस्टेट, अण्डकोष, मुटु तथा शरीरका विभिन्न भागमा देखिने समस्याको अवस्था पत्ता लगाउन गरिन्छ । पत्थरी, सुन्निनु, संक्रमण, पानी जमेको अवस्था, ट्युमर वा सिस्ट ठोस हो कि पानीले भरिएको हो भन्ने छुट्याउन पनि अल्ट्रासाउन्ड अत्यन्त उपयोगी हुन्छ । यस परीक्षणमा कुनै चिरफार वा सुई प्रयोग हुँदैन । छिटो गर्न सकिन्छ र आवश्यक परे बारम्बार गर्दा पनि शरीरलाई कुनै दीर्घकालीन हानि हुँदैन ।
कस्ता बिरामीलाई अल्ट्रासाउन्ड गरिन्छ ?
डाक्टरको सल्लाहअनुसार विभिन्न अवस्थाका बिरामीलाई अल्ट्रासाउन्ड गरिन्छ । गर्भवती महिलामा नियमित गर्भ जाँचका लागि, पेट दुखाइ, रक्तस्राव, बच्चा नचल्नेजस्ता समस्या देखिएमा यो अनिवार्य हुन्छ । पेट दुख्ने बिरामीमा लामो समयदेखि दुखिरहेको छ वा अचानक असह्य पीडा भएको छ भने कलेजो, पित्तथैली, मिर्गौला, आँत आदिको समस्या शंका गरेर अल्ट्रासाउन्ड गरिन्छ । पिसाबसम्बन्धी समस्या भएका बिरामीहरू जस्तैः पिसाब पोल्ने, पिसाब रोक्किने, पिसाबमा रगत देखिने वा मिर्गौलामा पत्थरीको आशंका भएमा पनि यो परीक्षण आवश्यक हुन्छ । महिलाहरूमा महिनावारी अनियमित हुने, धेरै रगत बग्ने, पाठेघर वा डिम्बाशयमा गाँठो वा सिस्टको शंका लागेमा अल्ट्रासाउन्ड अनिवार्य मानिन्छ । पुरुषहरूमा प्रोस्टेट बढेको शंका, अण्डकोष दुख्ने वा सुन्निने अवस्थामा पनि यो परीक्षण गरिन्छ । त्यस्तै घाँटी, पेट, हातखुट्टा वा शरीरका अन्य भागमा देखिने गाँठोको प्रकृति बुझ्न पनि अल्ट्रासाउन्ड आवश्यक हुन्छ । दुर्घटना वा चोटपटकपछि भित्रबाट रगत बगिरहेको छ कि छैन, अंग च्यातिएको छ कि छैन भन्ने यकिन गर्न तथा रेडिएसन प्रयोग गर्न नमिल्ने अवस्थामा पनि अल्ट्रासाउन्ड उपयुक्त विकल्प हो ।
गर्भवती महिलामा अल्ट्रासाउन्ड किन गरिन्छ ?
गर्भावस्थामा आमा र गर्भमा रहेको शिशु दुवैको स्वास्थ्य अवस्था सुरक्षित छ कि छैन भन्ने सुनिश्चित गर्न अल्ट्रासाउन्ड गरिन्छ । यसको मुख्य उद्देश्य बच्चा पाठेघरभित्र नै छ कि छैन भन्ने पुष्टि गर्नु हो । यसबाट गर्भको हप्ता वा महिना कति भयो भन्ने थाहा पाइन्छ, अनुमानित सुत्केरी मिति निकाल्न सहयोग मिल्छ । बच्चाको धड्कन छ कि छैन जाँच्न सकिन्छ । बच्चाको तौल, लम्बाइ र वृद्धि उमेरअनुसार ठीक छ कि छैन भन्ने मूल्याङ्कन गर्न पनि अल्ट्रासाउन्ड उपयोगी हुन्छ । एनमली स्क्यानबाट जन्मजात समस्या भए नभएको थाहा पाउन बच्चाको टाउको, मुटु, हातखुट्टा, पेटलगायत अंगहरूको बनावट हेर्न सकिन्छ । बच्चालाई घेरेको पानी कम वा धेरै भएको अवस्था, बच्चाको पोजिसन, जुम्ल्याहा वा एकभन्दा बढी गर्भ भए÷नभएको पनि यसैबाट पत्ता लाग्छ । अल्ट्रासाउन्ड पूर्ण रूपमा सुरक्षित हुन्छ र यसले आमा वा शिशुलाई कुनै नोक्सान गर्दैन ।
अल्ट्रासाउन्डले मातृ तथा शिशु स्वास्थ्यमा पार्ने प्रभाव कस्ता छन् ?
सही तरिकाले र डाक्टरको सल्लाहअनुसार गरिएमा अल्ट्रासाउन्ड पूर्ण रूपमा सुरक्षित हुन्छ । यसले आमामा कुनै दुखाइ वा दीर्घकालीन नकारात्मक असर पार्दैन । गर्भको अवस्था थाहा पाएपछि आमालाई मानसिक रूपमा ढुक्क हुन सहयोग मिल्छ । अल्ट्रासाउन्ड गर्दा कहिलेकाहीँ पेटमा लगाइने जेल चिसो लाग्न सक्छ वा पिसाब लामो समय थाम्नुपर्दा अलिक असजिलो हुन सक्छ । तर, यी समस्या सामान्य र अस्थायी हुन् र शिशुको विकासमा कुनै असर पर्दैन ।
अल्ट्रासाउन्डका मुख्य फाईदाहरू के कस्ता छन् ?
अल्ट्रासाउन्डबाट सबैभन्दा पहिले बच्चा जीवित छ कि छैन भन्ने जानकारी मिल्छ । बच्चाको वृद्धि र विकास ठीक छ कि छैन थाहा हुन्छ । कुनै समस्या देखिएमा समयमै उपचार र सावधानी अपनाउन सकिन्छ, जसले आमा र बच्चा दुवैको ज्यान जोगाउन मद्दत गर्छ । तर, अल्ट्रासाउन्ड सधैं डाक्टरको सल्लाहअनुसार मात्र गराउनु पर्छ । केवल शिशुको लिङ्ग थाहा पाउनका लागि अल्ट्रासाउन्ड गर्नु कानूनी र नैतिक रूपमा गलत हो । चिकित्सकीय आवश्यकताअनुसार गरिएको अल्ट्रासाउन्ड आमा र शिशु दुवैका लागि सुरक्षित र लाभदायक हुन्छ ।
अन्य कुन–कुन स्वास्थ्य समस्यामा अल्ट्रासाउन्ड सहयोगी हुन्छ ?
अल्ट्रासाउन्ड रोग पत्ता लगाउन मात्र होइन, उपचार योजना बनाउन र केही उपचार प्रक्रियामा प्रत्यक्ष सहयोगी हुन्छ । पेट र पाचन प्रणालीका समस्याहरू जस्तैः कलेजो सुन्निनु, फ्याटी लिभर, ट्युमर, पित्तथैलीको पत्थरी, मिर्गौलाको पत्थरी, सिस्ट तथा पेटभित्र पानी जमेको अवस्थामा यसको प्रयोग गरिन्छ । मिर्गौला, पिसाबनली र मूत्रथैलीसम्बन्धी समस्या, पिसाब रोक्किने, संक्रमण, प्रोस्टेट बढ्नुजस्ता अवस्थाको निदानमा पनि अल्ट्रासाउन्ड उपयोगी हुन्छ । महिलामा पाठेघरको गाँठो, डिम्बाशयको सिस्ट, महिनावारी गडबडी, बाँझोपनको जाँच तथा गर्भबाहिरको गर्भ पहिचान गर्न यसले ठूलो भूमिका खेल्छ । घाँटी (थाइराइड), काखी, पेट, हातखुट्टामा देखिने गाँठो ठोस हो कि पानीले भरिएको हो भन्ने छुट्याउन पनि यो विधि प्रयोग हुन्छ । मुटुको चाल, संरचना, रगत बग्ने गति, नसामा अवरोध छ कि छैन भन्ने जाँच गर्न पनि अल्ट्रासाउन्ड गरिन्छ । दुर्घटना र आकस्मिक अवस्थामा भित्रबाट रगत बगेको छ कि छैन पत्ता लगाउन, सिस्ट वा पस निकाल्दा सुई सही ठाउँमा पु¥याउन तथा बालबालिकामा जन्मजात अंगको समस्या र मस्तिष्कमा पानी जमेको अवस्था जाँच्न पनि अल्ट्रासाउन्ड अत्यन्त उपयोगी हुन्छ ।
अल्ट्रासाउन्ड सेवा सबैको पहुँचमा पु¥याउन के गर्नुपर्छ ?
यस्तो महत्वपूर्ण, सुरक्षित र उपयोगी स्वास्थ्य सेवा सबै नागरिकले सहज रूपमा पाउन सक्ने बनाउन प्रभावकारी कदम चाल्न आवश्यक छ । प्रत्येक प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड सेवा विस्तार गरिनु पर्छ । दुर्गम तथा ग्रामीण क्षेत्रका लागि मोबाइल अल्ट्रासाउन्ड सेवा सञ्चालन गर्नु जरुरी छ । यसका लागि सरकारी तथा निजीक्षेत्रबीच सहकार्य आवश्यक छ । दक्ष जनशक्ति विकास, रेडियोलोजिस्टको दरबन्दी थप र नियमित तालिम दिनु अत्यावश्यक छ । ग्रामीण क्षेत्रमा काम गर्न प्रोत्साहन दिने नीति अपनाइनु पर्छ । गर्भवती महिला, गरीब र विपन्न वर्गका लागि सरकारी अनुदान वा निःशुल्क सेवा उपलब्ध गराइनु पर्छ । सेवा शुल्कका लागि एउटै मापदण्ड निर्धारण हुनु पर्छ । उपकरण र प्रविधिको नियमित मर्मतसम्भार तथा बिजुली नहुने ठाउँमा सोलार वा वैकल्पिक ऊर्जाको व्यवस्था गर्नु पर्छ । अल्ट्रासाउन्ड के हो र के होइन भन्नेबारे जनचेतना फैलाउनु पनि उत्तिकै आवश्यक छ । रेडियो, स्वास्थ्य स्वयंसेविका र समुदायस्तरीय कार्यक्रममार्फत यो सेवा शिशुको लिङ्ग पहिचानका लागि होइन भन्ने स्पष्ट सन्देश दिनुपर्छ । सरकारी प्रतिबद्धता, दक्ष जनशक्ति र जनचेतनाको समन्वयबाट मात्र अल्ट्रासाउन्ड सेवा सहज, सुलभ र आम नागरिकको पहुँचमा पु¥याउन सकिन्छ ।
तपाईंकहाँ कस्ता सेवाहरू उपलब्ध छन् ?
हामीले पेट तथा पेल्भिसको अल्ट्रासाउन्ड जाँच, सामान्य प्रसूतिमा गर्भको अल्ट्रासाउन्ड, एनटी स्क्यान तथा प्रारम्भिक एनोमाली स्क्यान, लेभल–२ एनोमाली स्क्यान, ट्रान्सरेक्टल तथा ट्रान्सभ्याजाइनल अल्ट्रासाउन्ड जाँच, थाइराइड तथा घाँटीको अल्ट्रासाउन्ड जाँच, थ्री–डी ÷ फोर–डी अल्ट्रासाउन्ड स्क्यान, स्तनको अल्ट्रासाउन्ड जाँच, अण्डकोषको अल्ट्रासाउन्ड जाँच, फोलिकुलर मोनिटरिङ (डिम्ब विकासको निगरानी) जस्ता जाँच गर्दछौं । साथै साना अंग, मांसपेशी, हड्डी तथा जोर्नीको अल्ट्रासाउन्ड, मिर्गौलाको रगत प्रवाह, घाँटीको धमनीको रगत प्रवाह, धमनी तथा शिराको रगत प्रवाह, गर्भस्थ शिशुको रगत प्रवाह जाँच, नवजात शिशुको मस्तिष्कको अल्ट्रासाउन्ड, रोग पहिचान तथा उपचारका लागि तरल पदार्थ निकाल्ने प्रक्रिया, अल्ट्रासाउन्डको सहयोगमा सुईद्वारा जाँच, कलेजोको कडापन जाँचलगायतका सेवा दिँदै आएका छौं ।