गम्भीर स्वभावकी १२ वर्षिया स्वेच्छा दुवे वीरगञ्ज महानगरपालिकाको वडा नं. ८ पानिटंकीमा रहेको डेसिमल सेकेन्डरी स्कूलको ७ कक्षामा अध्ययनरत छात्रा हुन् । उनको घर वीरगञ्ज महानगरपालिका वडा नं. २६ सुगौलिबिर्तामा पर्दछ । उनका पिता धर्मेन्द्र दुवे व्यवसायमा संलग्न छन् भने आमा रानी दुवे घरगृहस्थीमा व्यस्त हुन्छिन् । स्वेच्छा परिवारमा दुई दाजुभाइ बहिनीको बीचको सन्तान हुन् । उनका एक दिदी र एक भाइ पनि सोही विद्यालयमा अध्ययनरत छन् ।
खेलकुदको तुलनामा पढ्न रुचाउने स्वेच्छा मिलनसार स्वभावकी छात्रा हुन् । साथीहरूसँग सहजै मेलमिलाप राख्ने, सबैसँग मित्रता गर्ने र सबैको प्रिय हुने गुण उनीमा छ । पढाईसँगै विद्यालयका विभिन्न खेल, सांस्कृतिक कार्यक्रम र विशेषतः नृत्यमा पनि उनी सक्रिय सहभागी हुन्छिन् ।
विद्यालयका सबै विषयहरू उनलाई सामान्यतः सहज लाग्छन्, तर गणित विषय अलि कठिन छ भने पनि पढ्न रमाइलो लाग्ने उनी बताउँछिन् । उनका अनुसार पढाइसँगै आफ्नो लक्ष्यतर्फ अग्रसर रहन महत्वपूर्ण छ । भविष्यमा फिजिसियन डाक्टर बन्ने सपना लिएर अघि बढ्ने उनको स्पष्ट योजना छ । ‘म मेहेनत गरेर अध्ययन गर्छु र असम्भवलाई पनि सम्भव बनाउने प्रयास गर्छु,’ उनले भनेकी छन् ।
स्वेच्छाको मिल्ने साथी गिताञ्जली हुन्, जससँग उनी सबै कुरा शेयर गर्छिन् र सहयोग प्राप्त गर्छिन् । शिक्षकहरूमध्ये उनले विद्यालयकी प्रधानाध्यापक स्मृति मलिकलाई विशेष रुचाउने बताइन् । स्वेच्छाको खानाप्रति रुचि पनि फरक छ । उनी बाहिरी खानाभन्दा घरमा बनाउने खाना मन पराउँछिन् । विशेषगरी दाल, भात र आलुको भुजिया उनलाई मन पर्छ । घरमा हुँदा पढ्ने, खेल्ने र आमालाई घरको काममा सहयोग गर्ने उनको नियमित अभ्यास हो । टिभी हेर्न पनि उनी कहिलेकाहीँ समय निकाल्छिन् ।
उनको परिवारले उनलाई आवश्यक सहयोग र माया प्रदान गरेको छ, तर सबैभन्दा बढी माया उनलाई हजुरआमाबाट प्राप्त भएको उनी बताउँछिन् । बुबा–आमा दुवैले उनलाई पढाईमा सहयोग गरिरहेका छन् र डाक्टर बन्ने उनको लक्ष्यमा पूर्ण समर्थन छ ।
विद्यालयका प्रधानाध्यापक स्मृति मलिकका अनुसार स्वेच्छा एक अनुशासित, जेहेन्दार र सक्रिय विद्यार्थी हुन् । उनी विद्यालयका अतिरिक्त गतिविधिहरूमा पनि सक्रिय सहभागी रहन्छिन् र शिक्षकहरूप्रति सम्मान प्रकट गर्छिन् । उनका परिवारले पनि पढाईप्रति गहिरो चासो देखाउँछन् । प्रधानाध्यापक स्मृति मलिकका अनुसार यदि स्वेच्छाले निरन्तर मेहनत जारी राखेमा भविष्यमा उनको लक्ष्य पुरा हुनेमा कुनै शंका छैन ।
‘स्वेच्छाको कथा मेहनत, लगनशीलता र स्पष्ट लक्ष्य राख्ने क्षमताको उत्कृष्ट उदाहरण हो । उनी न केवल अध्ययनमा उत्कृष्ट छन्, तर सामाजिक, सांस्कृतिक र पारिवारिक जिम्मेवारीमा पनि सक्रिय र जिम्मेवार छन् । उनको दृढ इच्छाशक्ति र सकारात्मक दृष्टिकोणले भविष्यमा सफल फिजिसियन डाक्टर बन्ने सपना अवश्य पूरा हुनेछ,’ स्मृति भन्छिन् ।