शर्मिला ठकुरी आर्थिक महिला पत्रकार संघ (फेजा) की अध्यक्ष हुन् । सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका-६, मा जन्मिएकी हुन् ठकुरी महिलाहरू पुरुषको तुलनामा बढी इमान्दार हुन्छन् र नचाहिँदो बार्गेनिङ्ग गर्दैनन् भन्नेमा स्पष्ट छिन् । अहिले पनि महिलाले स्टोरी लेख्न सक्र्दैनन्, महिलामा ज्ञान छैन, महिलालाई समय हुँदैन भनेर अघि बढ्नबाट बञ्चित गर्ने गरेको भोगाइ उनीसँग छ । महिलाले धेरै दायित्व पूरा गरेर पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले धेरै शक्ति र क्षमता चाहिने उनको मान्यता छ । नेपालमा पत्रकार महिलाका लागि सम्भावना र चुनौतीबारे मध्य नेपालले ठकुरीसँग गरेको कुराकानीको सार :
पत्रकारितामा कसरी आउनुभयो ?
सिन्धुपाल्चोकको पहिलो पत्रकार ईश्वरीमान श्रेष्ठसँग भेट भयो । उहाँलाई भेटेर कुराकानी गर्दै जाँदा पत्रकारिता भनेको के हो सोधेँ । समाचार लेख्दा रातारात भाग्न बाध्य भएको कुरा बताउनुभयो । यसबाट म पत्रकारितामा लाग्न प्रेरित भएँ । पत्रकार भनेको जोखिम र जनतालाई सुसूचित गर्ने पेसा रहेछ भन्ने बुझेँ । पत्रकारिता पढ्न कहाँ पाइन्छ भनेर सोधेँ । उहाँले पत्रकारिता पढ्न सूचना विभागबाट छात्रावृत्ति पाइन्छ भन्नुभयो । मैले पत्रकारिता पढेँ । माओवादीको द्वन्द्वकालमा माओवादीहरू आएर घरमा धेरै दिन बस्ने, खाने गर्थे । घरको परिवार बोल्न सक्दैनथे । म उनीहरू घरबाट निस्केर जाओस् भनेर विरोध गर्थेँ । सानैदेखि निडर थिए ।
विवाह कसरी भयो ?
विवाह स्नाहतकको अध्ययन गर्दागर्दै भएको हो । हामी दुवैजना एउटै लेभलमा अध्ययन गथ्र्यौं । दुवैजना एउटै पेसामा आबद्ध छौं । हाम्रो प्रेम र अन्तरजातीय विवाह हो । दुवैले आआफ्नो परिवारलाई बुझाउन सकेको भएर प्रेम विवाहमा परिणत भयो ।
पत्रकार महिला विवाहपछि पेसाबाट पलायन हुन्छन् भन्ने छ नि ?
महिलालाई विवाह गर्नुअगाडि र विवाह गर्नुपछाडि धेरै फरक हुन्छ । विवाह अगाडि मेरो इच्छा भन्ने हुन्छ । विवाह गरेपछि इच्छामा अर्को मानिस पनि जोडिन्छ । विवाहपछि श्रीमानको बुझ्ने क्षमता कस्तो छ भन्ने हुन्छ । अर्को पेशामा काम गर्ने श्रीमान छ भने छोड भन्ने गरेको हुन्छ । एउटा समाचार लेखेमा तेरो घरपरिवार देखेको छ नि भन्छन् । पत्रकार महिलाले बिहान बेलुका हिड्नुपर्ने हुन्छ । केन्द्रीयस्तरमा आर्थिक बिटमा काम गरिहँदा मेरो तहका साथीहरू १० जना थियौं, बाँकी सबै पुरुष नै थिए । विवाहपछि कतिपयले काम छोडेका छन् । मेरो एउटै क्षेत्र र बिटमा काम गर्ने भएर बुझ्नुभएको थियो । श्रीमानको मप्रति विश्वास थियो । त्यसैले मलाई काम गर्न सहज भयो । पत्रकारिता पेशाबाट पलायन हुने अवस्था आएन । पेशा बुझेका श्रीमान भएमा महिलाले पेशाबाट पलायन हुनु पर्दैन ।
पत्रकार महिला र पुरुषलाई हेरिने दृष्टिकोणमा के फरक छ ?
एउटै उमेरका पुरुष र महिला एकै धारमा काम गर्छन् भने पनि उनीहरूलाई हेर्ने नजर फरक हुन्छ । व्यवहार पनि त्यस्तै गर्छन् । आर्थिक पत्रकार महिला र पुरुषले एकै ठाउँमा काम गर्दा पनि ३० प्रतिशत तलब कम हुन्छ । उनीहरूको प्रश्न कति समय दिन सक्छौ ? विवाह गरेको छ कि छैन ? तिमीले लेख्ने समचार कत्तिको स्तरीय हुन्छ ? कतिपय पत्रकार महिलाको समाचर बाइलाइन आउँछ ? उसको फलानो केटाले लेखिदिएको भन्ने कुरा गर्छन् । यथार्थमा सत्य त्यो हुँदैनन् । महिलाहरूले एमफिल र पत्रकारितामा स्नातकोत्तर गरेका छन् । पत्रकार महिलाले मज्जाले लेख्न सक्छन् । महिलाले स्टोरी लेख्न सक्र्दैनन् । महिलामा ज्ञान छैन । महिलालाई समय हुँदैन । विवाहित महिला हो भन्छन् । तर, उनीहरूलाई के थाहा हुँदैन भने त्यो महिलाले रातभर पनि पढ्न सक्छे । ज्ञान आर्जन गर्न सक्छे । ऊ पनि मजत्तिको प्रतिस्पर्धी हो भनेर स्वीकार्न सकेका छैनन् ।
पत्रकार महिलालाई समाजले गर्ने व्यवहार कस्तो पाउनुभएको छ ?
महिलाहरू विश्वासिला हुन्छन् । महिलाहरू बार्गेनिङ्ग गर्दैनन् । ठोक पत्रकारिता गर्न सक्दैनन् भन्ने विश्वास हुन्छ । यसलाई शेयर गरे पनि हुन्छ, नगरे पनि हुन्छ । यसले मलाई बिगार्ने पनि केही गर्दिन । सपार्ने पनि खासै ठूलो बढाइचढाइ गर्ने भूमिका पनि हुँदैन भन्ने सोच्छन् । एउटा सीईओले पत्रकार महिलालाई गर्ने व्यवहार र पुरुष पत्रकारलाई गर्ने व्यवहारमा धेरै फरक हुन्छ । बार्गेनिङ्ग गर्न नसकेपछि महिला पत्रकारलाई भाउ दिन पनि कुनै जरुरी छैन । समाजमा बीचको धार समात्ने महिलाहरूलाई गाह्रो हुन्छ । महिलाहरू जहिले पनि इमान्दार हुन्छन् । उनीहरू कहिले पनि बार्गेनिङ्ग गर्दैनन् । उदाहरणका लागि महिलाले कुनै सीईओको अफेयरको कुरा थाहा पाए पनि समाचार लेख्दिनन्, किन कि मैले नियम पढेको छु । मैले जे पढेको छ, त्यो लागू गर्न चाहन्छु । अधिकांश केटीहरूले पढेका कुरालाई व्यवहारमा उतार्न चाहन्छन् । सीईओको अफेयरको कुरा पुरुष पत्रकारले थाहा पाए भने बार्गेनिङ्ग गरेर ऊ करोडपति बनिदिन्छ । पुरुषहरूले मात्र अवसर लिन्छन् । आफ्ना नराम्रा कुरालाई छोप्न पनि पुरुष पत्रकारलाई सम्मान गरिरहेका हुन्छन् । त्यही समय महिला पत्रकार गएमा यसले बार्गेनिङ्ग गर्दिन भनेर वास्ता गर्दैनन् ।
महिलाले स्थापना गरेका संस्थाहरू कसरी विकास भइरहेका छन् ?
फेजा किन गठन भयो । धेरै अग्रज दिदीहरूले पनि नेपाल आर्थिक पत्रकार संघ र आर्थिक पत्रकार समाजले अवसर दिइरहेको छन् नि । किन फेजाको गठन गर्नुप¥यो । फेजा किन चाहियो भने । मैले लेख्ने समाचार, मैले निकाल्न सक्ने समय, मैले पाउने ज्ञान पुरुषसँग दाँज्न सकिँदैन । आमा, बुहारी, श्रीमतीको दायित्वलाई पूरा गरेर पुरुषहरूसँग प्रतिस्पर्धा गर्ने पत्रकार पनि हो । पुरुष श्रीमतीले दिएको कफी ओछ्यानमा खाएर अर्को ठाउँमा कफी खान पनि जान सक्छ । राति १/२ बजेसम्म आफ्नो स्रोतहरूलाई भेटेर जानकारी लिएर घर आउन पनि सक्छ । महिला त्यही समयमा अफिस पनि भ्याइरहेका छौं । छोराछोरी रोएको पनि थाहा छ । बच्चालाई पनि सम्हाल्नु प¥यो । सासुससुरा बिरामी भए नर्सको काम गरेर उनीहरूसँग मैदानमा उत्रिनु पर्छ । सबै साथीहरूको एउटै समस्या हुन्थ्यो । समस्या भएका साथीहरू मिलेर फेजा संस्था गठन गर्यौं । सेजन र नाफिजमा पनि ज्ञान प्राप्त गर्ने अवसर पाइन्छ । तर, हाम्रो समयमा ज्ञान प्राप्त गर्ने अवसर पाइँदैन । जसले गर्दा हामी पुरुषभन्दा पछि हुन्छौं । ज्ञान कम भएपछि तलबमा फरक हुन्छ । हाम्रो सम्मानमा फरक हुन्छ । फेजाले समानता चाहन्छ । हामी हाम्रो समय मिलाएर पुरुषसँग काँधमा काँध मिलाएर काम गर्न सकौं । जबसम्म घर, श्रीमान, सासुससुरा सहयोगी हुँदैन भने महिलालाई नेतृत्वमा आउन गाह्रो हुन्छ । श्रीमानको सहयोगबिना श्रीमती अगाडि बढ्न सक्दैन भन्ने श्रीमानमा चेत आउनु पर्छ । शिक्षाले मात्र परिवर्तन हुँदैन । पढेका कुरालाई आत्मसात गरेर व्यवहारमा उतार्न सकेमात्र पढाइको महत्व हुन्छ । अक्षरको थुप्रो पढेर काम छैन । अक्षरंस पालना गर्न सकेमात्र पढाइको काम हुन्छ ।
पत्रकार महिलाको अवस्था कस्तो देख्नुभएको छ ?
महिलाले पत्रकारिता सोखभन्दा पनि पेशा बनाउनु पर्दछ । पेशामा पत्रकारिता गर्दा कामको प्रतिफल चाहनुहुन्छ । ज्ञान र समय लगानी गरेको प्रतिफल पाउनु पर्छ । धेरै साथीहरूको ज्यालामा बाँच्न नै गाह्रो छ । जिल्लाका साथीहरूका समयमा तलब पाउँदैनन् । महिलामात्र होइन, जिल्लाका पुरुष पत्रकार पनि पेलिएका हुन्छन् । स्टेन्जरको रुपमा राखिदिने र न्युजवेसमा तलब दिदाँ उनीहरूको पेशा पनि जोखिममा हुन्छ । जागिरको सामाजिक सुरक्षा हुँदैन । पेशामा असुरक्षित हुन्छौं । पेशागत पत्रकारिता गर्न चाहनुहुन्छ भने ज्ञान लिन जरुरी हुन्छ । कतिपय पत्रकार महिलाहरू ज्ञान लिन हिचकिच्याउँछन् । गाह्रो काम आउनेबित्तिकै पछाडि हट्ने हुन्छन् । आउँदैन भने सोध्ने र सिक्नु पर्छ । सोध्नु र सिक्नुभन्दा पनि महिलाको ध्यान मेकअपतिर जान्छ । कति ज्ञान आर्जन गर्नुभयो । कति ज्ञान छ भन्ने कुराले पत्रकारितामा फरक पार्छ । कतिपय महिला फेसनतिर झुकेका हुन्छन् । उसलाई ज्ञानभन्दा पनि फेसनतिर झुकाव छ भन्ने किसिमले नै पुरुष पत्रकारहरूले व्यवहार गर्छन् । तपाई जब ज्ञान प्राप्त गर्नुहुन्छ भने पुरुष पत्रकारले तपाईंको सम्मान गर्छन् । अवसर चाहियो भन्नेलाई फिर्ता पठाएको पनि छैनन् । उनीहरूले अवसर पाइरहेको हुन्छन् । अधिकार मागेर लिने हो । कसैले त्यसै दिँदैन । भोक लागेमा शिकार खोज्न आफै जानु पर्छ, कसैले ल्याएर दिँदैन ।
आरक्षणलाई कसरी लिनु हुन्छ ?
जतिबेलासम्म तपाई सक्षम हुनुहुन्न त्यो बेलासम्ममात्र आरक्षण चाहिन्छ । पुरुष र महिलाको मापदण्ड बनाएर अधिकृतसम्म बराबरी लान आरक्षण चाहिन्छ । पहुँच नभएकाको लागि आरक्षण हो । पहुँचसम्म पुग्ने बाटो देखाउन आरक्षण चाहिन्छ । महिलाको लागि आरक्षण निश्चित समयसम्मको लागि हुनु पर्छ । बाँकी प्रतिस्पर्धा नै हुनु पर्छ । महिलाहरूले प्रतिस्पर्धा गर्दै जाँदा एक चरणमा महिलाहरूलाई गाह्रो हुन्छ । बिस्तारै समाज परिवर्तन हुँदै जान्छ । आरक्षण चाहिने अवस्था आउँदैन ।
नेतृत्वमा महिला रहदाँ पत्रकारितामा कस्तो प्रभाव छ ?
महिलाहरूले जबसम्म लेख्दैनन्, तबसम्म पत्रकारितामा मान्यता हुँदैन । जब स्टोरीहरू, क्रियटिभ आइडियाहरू लेख्नु हुन्छ भने नेतृत्वमा धेरै ठूलो प्रभाव पार्छ । तपाईं कुनै पनि संस्थाको नेतृत्व गर्नुहुन्छ भने त्यसले के लेखेको छ भनेर हेरिरहेका हुन्छन् । नेतृत्वमा जान पनि काम गर्नु पर्छ । नेतृत्वमा रहँदा पनि काम गर्नु पर्छ । नेतृत्वमा रहँदा काम गरेपछि मात्र उसले काम गरेकी छ, काम गर्न सक्छे भन्ने प्रमाणित हुन्छ । पुरुषभन्दा महिलालाई हरेक चरणमा कामको प्रमाणित गर्न जरुरत छ । पेशागत पत्रकारितामा समाचार छैन भने महिलाको नेतृत्व छैन । उसले कतिवटा न्युज लेखेको छ भन्ने कुराले पनि नेतृत्वमा प्रभाव पार्छ ।
महिलाहरूको भविष्य पत्रकारितामा कस्तो देख्नुहुन्छ ?
आर्थिक पत्रकारितामा धेरै अवसरहरू छन् । आर्थिक पत्रकारितामा ४० हजारभन्दा कम तलब खाने कमै छन् । फेजाका सदस्यहरू ४० हजारभन्दा माथि नै तलब खान्छन् । कतिपय त ९० हजार मासिक तलब खान्छन् । महिला पत्रकार अब्बल छन् भने राम्रो तलब दिइरहेको हुन्छ । तर तलबमा बार्गेनिङ्ग नगर्नुस् । आफूसँग भएको क्षमताअनुसार माग गर्न सक्नु पर्छ । स्वतन्त्र पत्रकार भएर पनि काम गर्न सकिन्छ । धेरै वातावरण फन्डका कामहरू आइरहेका हुन्छन् । फेलोसिपहरू गर्न सक्नुहुन्छ । त्यसकोलागि ज्ञान पनि बढाउनु पर्छ । अवसर पनि खोज्नु पर्छ । इन्टरनेश्नल न्युज एजेन्सीहरू, इन्टरनेश्नल मिडियाले न्युज स्टोरी अनुसार पेमेन्ट गर्छन् । एउटा स्टोरी गर्नु भयो भने त्यही अनुसारको पैसा आउँछ । तपाइले कति लगानी गर्नुभयो । त्यहीअनुसार फिर्ता आउँछ । समयअनुसार आफूलाई पनि अपडेट गर्नुपर्छ ।
तपार्इँ फेजाको नेतृत्व गरिरहदाँ पत्रकार महिलाहरूलाई कस्तो अवस्थामा पुर्याउने लक्ष्य छ ?
हामी महिला पत्रकारको गुणस्तार र संख्यात्मक दुवै कुरामा काम गर्छांै । पहिलो प्राथमिकता गुणस्तर र दोस्रो प्राथमिकता संख्यालाई हुन्छ । हामीले महिला पत्रकारको क्षमता कसरी अभिवृद्धि गर्ने भनेर तालिम, फेलोसिपदेखि रिसर्चसम्मको काम गर्दैछौं । १ वर्षदेखि ५ वर्षसम्म काम गरेका महिलाहरू, ५ देखि १५ वर्षसम्म काम गरेका महिलाहरू र १५ वर्षदेखि माथि काम गरेका महिलाहरू कार्य अनुभवको आधारमा श्रेणीगत गरेर काम खोजेर काम दिने हो । शुरूको अवस्थाको पत्रकारहरूको लागि पत्रकारिता सिकाउने हो भने मध्य अवस्थाको पत्रकारहरलाई तालिम सँगसँगै फेलोसिप कार्यक्रम दिने हो । तालिम सँगसँगै उपलब्धी के हो त भन्ने फेलोले बताउँछ । फेलोको कायक्रम पनि गर्ने सोच बनाइरहेका छौं । सात प्रदेशबाट नै आर्थिक पत्रकार गुणस्तार र संख्यात्मक दुवै पत्रकार महिला बनाउन सकियोस् । महिलाको समानताको लागि पत्रकारलाई ज्ञान लगानी गर्नु पर्छ । पत्रकारको ज्ञानमा लगानी गरे उसले लेख्ने समाचारले करौंडोको भ्रष्टचार रोक्न मद्दत गर्छ । सुशासनलाई थप मजबुत बनाउँछ । सामाजिक पद धारण गरेकाहरूलाई थप जवाफदेही बनाउँछ । पारदर्शी बनाउन बाध्य बनाउँछ भने त्यसको फाईदा पाउने राज्यले नै हो ।