आजको एक्काइसौं शताब्दी गहन वादविवादको युगको रुपमा विकसित हुँदै गहिरहेको छ । त्यो हो कसरी हामीले आर्थिक तथा सामाजिक र व्यक्तिगत विकासलाई हाम्रो प्राकृतिक वातावरण अनुकूल बनाउन सक्दछौं ? एकातर्फ विकसित जगतले आर्थिक एवम् भौतिक प्रगतिद्वारा श्रृजित उन्नतिबाट फाईदा लिएको छ, अर्कोतर्फ गरिबीबाट पिल्सिएको ठूलो समुदाय छ । अनियन्त्रित भौतिक एवं आर्थिक बृद्धिका कारण हुँदै गएको वातावरणीय एवम् प्राकृतिक स्रोत साधन ह्रासको प्रभावले गर्दा आर्थिक वृद्धिको विद्यमान सिद्धान्तले करोडौं गरिबीको रेखामुनी रहेका मानिसहरूको जीवन धान्नै नसक्ने क्षमताका लक्षणहरू देखा परिसकेका छन् । यसको सही समाधानका लागि बन र कृषिको समायोजनको प्रयोग आजको तरल युगमा गरिवी र भोकमरीविरुद्धको सबै भन्दा प्रभावशाली उपाय बन्न सक्ने देखिएको छ । यस सुत्रको प्रयोग जब विकसित देशहरूले गरे तबदेखि नै उनीहरूले आर्थिक र सामाजिक विकासको फड्को मारे । वन र कृषिको मिश्रित अवधारणा सम्पन्न र विपन्न सबै समुदाय एवम् जनमानसका लागि कृषि प्रधान देशमा सबैभन्दा उत्तम उपाय हो । मानवीय स्वास्थ्य र शिक्षालाई प्राकृतिक, आध्यात्मिक र भौतिक क्षेत्रको उचित समायोजनले सर्वागिंण विकासको मार्गमा आमूल परिर्वतन ल्याई समाज र राष्ट्रलाई दश गुणा बढि सम्वृद्धि प्रदान गर्न सक्छ । पारिस्थितिकीय हानी नोक्सानी नपु¥याइ छिटो आर्थिक विकास तब मात्र गर्न सकिन्छ जब प्रकृति संरक्षण प्रत्येक मानिसहरूका लागि जीवन मार्ग बन्दछ ।
एशिया महादेशमा अवस्थित नेपालको भौगोलिक स्थिति समुद्र सतहबाट ७२ मिटरदेखि ८ हजार ८ सय ४८ मिटरसम्म रहेको छ । उत्तर–दक्षिण केवल १५० देखि २०० किलोमिटर दुरीमा संसारभरि पाइने उष्ण, समशितोष्ण, शितोष्ण र हिमाली हावापानी पाइने रहस्यमय प्रकृति छ । ५६,८२७ बर्गमाइल क्षेत्रफल ओगटेको नेपालमा बिचित्रका पहाड र विभिन्न हावापानी भएकाले सबैखाले वनस्पतिका लागि सुहाउँदो वासस्थान सम्भव बनेको छ । नेपालमा हाल करिब ११८ किसिमका परिस्थितिजन्य प्रणालीहरू रहेको अनुमान गरिन्छ । नेपालले जैविक विविधताका लागि विश्वमा एक्काइसौं स्थान ओगट्छ भने एसियामा नवौं स्थानमा रहेको छ । जैविक विविधताका हिसाबले विश्वमा पाइने विविधताको २.०२ प्रतिशत नेपालमा पाइन्छ । नेपालको स्तरको जैविक विविधता भएको मुलुक विश्वमा थोरै छन् । यस किसिमको विविधताभित्र नेपालमा फूल फुल्ने बनस्पतिका मात्र ९५०० भन्दा बढी प्रजाति पाइने अनुमान गरिएको छ । त्यस्ता फूल फुल्ने वनस्पतिमध्ये ६५०० भन्दा बढी प्रजातिको र फूल नफुल्ने ४,०६४ समेत गरी १०,५६४ सूचीकरणसमेत भएको छ । जसमा २०० प्रजातिका सुगन्धित वनस्पतिहरू छन् । नेपालमा कुल २५० प्रजातिका आफ्नै रैथाने फूल फुल्ने वनस्पतिहरू छन् । विश्व वन्यजन्तु कोषको एक अध्ययनअनुसार नेपालमा कूल ५०७ प्रजातिका दुर्लभ, रैथाने र लोपोन्मुख बनस्पतिका प्रजातिहरू रहेका छन् । नेपालमा पाइएका झन्डै २,००० प्रजातिका गैरकाष्ठ बन पैदावरहरू परम्परागत औषधि, मसला, रंग र खाद्यपदार्थको रुपमा प्रयोग भएको पाइन्छन् । यी मध्ये १,००० भन्दा बढी प्रजातिहरूको औषधीय महत्व पत्ता लागेको छ र यिनीहरूमध्ये पनि महत्वपूर्ण औषधीय महत्व रहेको भनिएका २३८ किसिमका वानस्पतिक प्रजातिहरूको रासायनिक परीक्षणसमेत भइसकेको छ । यहाँका धेरैजसो वनस्पतिमा पाइने औषधीय गुण अन्य क्षेत्रमा पाइनेभन्दा उच्च कोटीको रहेको वैज्ञानिकको ठहर छ । वैदिककालदेखि नै हिमालय पर्वत श्रृंखलालाई औषधोपयोगी तथा अन्य उपयोगका लागि प्रयोग हुने अक्षय भण्डार मानिन्छ ।
विश्वभरमा करिव ७०,००० प्रकारका बनस्पति प्रयोगमा आएको अनुमान छ । आयुर्वेदिक औषधीय पद्धतिअनुसार पनि झण्डै २,००० बनस्पतिलाई जडीबुटीको रुपमा लिइन्छ । चिनियाँ आयुर्वेद पद्धतिमा उल्लेख भएका लगभग ५,७०० थरिका परम्परागत औषधीमध्ये अधिकांशको स्रोत बनस्पति नै रहेको पाइन्छ । दक्षिण एसियामा मात्र झन्डै ८,००० प्रजातिका जडीबुटी तथा सुगन्धित तेलयुक्त वनस्पति पाइने अनुमान छ । भारतका विभिन्न सौंन्दर्य प्रशाधन कम्पनीले करिब १,२०० प्रजातिका जडीबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिलाई उपयोगमा ल्याएको पाइन्छ । नेपालमा लगभग २,५०० प्रजातिका वनस्पतिलाई जडिबुटी, खाद्यबस्तु, रंग रोगन र अन्य काममा प्रयोग गरिँदै आएको विज्ञहरूले जनाएका छन् । सरकारी तथ्याँङ्कअनुसार निकासी बिक्री वितरणमा रहेका २६५ प्रकारका जडिबुटी एवम् गैरकाष्ठ वन पैदावारको सूची नेपाल राजपत्रमा प्रकाशित गरी राजस्व दस्तुरसमेत तोकिएको छ । तर, मुलुकभरमा जम्मा कति प्रकारका वनस्पति जडिबुटीको रुपमा प्रयोगमा आइरहेका छन् भन्ने हालसम्म यकिन हुन सकेको छैन । विभिन्न उपचार पद्धति र भिन्न प्रयोगस्तरमा जडिबुटीको बहुउदेश्य उपयोग हुने हुँदा खास स्तर र औषधि पद्धतिमा जडिबुटीको उपयोग फरकफरक हुने भएकाले नेपालमा अझै थुप्रै बनस्पतिहरू सचिकृत हुन बाँकी नै छन् ।
मानव स्वास्थ्यका लागि जमिन, जल र जंगलमा वनस्पति खाद्यान्न एवं जडीबुटीहरू प्रकृतिले हामीलाई अमूल्य उपहार दिएको छ । सबैको साझा स्थान यस पृथ्वीमा प्रकृति र मानवबीच अन्योन्याश्रित सम्बन्ध छ । मानव शरीर पञ्चभौतिक तत्वबाट निर्मित छ । यसको सिर्जना प्रकृतिले गरेको हुन्छ भने संरक्षण र सम्बद्र्धन पनि शायद यसैले गरेको हुन्छ । हावा पानी र खाद्यान्नबिना मानव स्वास्थ्यका लागि कुनै वैज्ञानिक आविष्कारबाट कुनै पनि जीवको स्वास्थ्यमा बिना विनासको विकास यति ठूलो र सहज देन सम्भव छैन । तर, यो सम्भव हुन्छ र त प्रकृतिले यो प्राकृतिक जीवनको उन्नति र अवन्नतिको फैसला गर्छ । त्यो प्राकृतिक फैसलालाई जिताउन आज जैविक जडिवुटी, उन्नत खाद्यान्न, बहुउपयोगी खेती एवम् बृक्षारोपण त्यसको संरक्षण र सदुपयोगबाहेक अर्को सरल उपाय छैन ।
विश्वमा आजसम्म प्रकृतिबिना कुनै पनि विकास पद्घति पूर्ण छैन । आधुनिक विज्ञानको प्रयोग र दुरुपयोगमा आजको दुनियाँ लठ्ठिएको छ । तर, पृथ्बीमा प्रकृति संरक्षणबिना कुनै विज्ञानले मात्र मान्छेको स्वास्थ्य बचाएर राख्न सक्दैन । प्रकृतिको प्रयोग नगरी आजसम्म कोही बाँचेको पनि छ्रैन । मानव तथा जीवहरूको स्वास्थ्यको सुरक्षाका लागि हजारौं वर्ष अघिदेखि भएका प्रयासहरूमध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय भनेको कृषि वन प्रणाली नै हो । यसको मूलतत्व प्रकृतिसँग जोडिएको छ । मानिसको पनि सम्पूर्ण क्रियाकलाप प्रकृतिमा निहित हुन्छ, त्यसकारण मानव स्वास्थ्यका लागि सबैभन्दा उत्तम पद्दति प्राकृतिक जीवन जीउनु नै हो । मानिस यस धरातलमा आएपछि र जानु अघिको समय हामी प्रकृतिको काखमा बसेर नियाल्ने प्रयास गरिरहेका छौं । मान्छे बाँच्नका लागि सर्वप्रथम गास, बास र कपासको आवश्यकता महशुस गर्दछ । त्यसपछि स्वास्थ्य, शिक्षा, अर्थ आदि इत्यादि पनि । आज मानिस जानेर होस वा नजानेर, चाहेर होस वा नचाहेरै भए पनि प्रकृतिको विनास गर्न लागिरहेको छ । त्यसैले गर्दा नै उ र उसको समाज आज दिनांनु दिन अस्वस्थ बन्दै गहिरहेको छ । मानिस र समाजको स्वास्थ्यलाई जोगाई राख्नकालागि प्रकृतिको पनि रक्षा गर्नु पर्दछ । कृषि वन प्रणालीमा कर्मयोग र आयुर्वेदको विकासलाई कृषि वन र प्रकृतिसँग जोडेर एकैसाथ लैजान सके सुनमा सुगन्ध हुन्छ ‘कृषि कर्मलाई योग र उत्पादनलाई आयुर्वेद’ बनाएर प्रयोग गर्दा यस सम्पूर्ण चराचर प्राणी जगतको भलो हुन सक्छ, हामीले प्रकृति र मानव स्वास्थ्यको संरक्षणका लागि यो महान अभियानलाई सार्थक बनाउनु आजको आवश्यकता हो ।
आज नेपालको जनसंख्या लगभग तीन करोड र विश्वको जनसंख्या करिब सात अर्ब पुगिसकेको छ । सबैलाई स्वस्थ भएर बाँच्नका लागि संघर्ष गर्नु परिरहेको छ र परिरहने छ । मानिस एक चेतनशील बुद्धि विवेकयुक्त श्रेष्ठ प्राणी भएकाले केही सोच्दछ र विचार गर्दछ । एक सचेत मानवमा आत्मा हुन्छ र आत्मामा परमात्मा हुन्छ । प्राणधारी जीवका लागि स्वास्थ्य नै ठूलो कुरा हो त्यो पनि अझ मान्छेका लागि झनै महत्वपूर्ण छ । स्वस्थ तन र मनबिनाको सफल जीवन आजको युगमा कल्पनासम्म पनि गर्न सकिँदैन । आफ्नो पीडाले भरिएको मानिसले अरूलाई पीडाबाट उन्मूक्ति दिन सक्दैन । एउटा भोको गरीब र रोगी मानिसले अर्को रोगी बनाउन सक्छ, तर सजिलै उद्धार गर्न सक्दैन । खाद्यान्न अभाव र वातावरणीय विनाशका कारण दिनरात नयाँनयाँ रोगहरूले संक्रमण गर्दै गहिरहेको यो भयावह र विकराल स्थितिमा स्वस्थ संसारको परिकल्पना साकार पार्न हामीले एक दशकभित्रै सम्पूर्ण नेपालीलाई कर्म गरेर बाँच्ने कलाले सुशिक्षित गर्दै प्राकृतिक सभ्यताको मार्गमा डो¥याउँदै आर्थिक सामाजिक रुपले विश्वलाई उछिन्न प्रयास गर्नु पर्दछ । सुदृढ, सम्वृद्ध, शिक्षित, स्वतन्त्र र स्वस्थ समाज एवम् समान अवसर प्राप्तिको मार्गमा कुनै महत्वकांक्षाविना नै आफूले आफैलाई परिस्कृत गर्नै उत्कृष्ट सुसंस्कृति र सभ्यताअनुरुप विकास गर्दै लैजाने उत्कृष्ट सेवाको भाव बोकेर हामी नेपालीले स्वस्थ मानव समाजको विकासका लागि हिड्ने समाजको उत्कृष्ट त्याग र तपस्यालार्ई उचाइ दिनका लागि हामीले पनि ऐतिहासिक इँटा थप्न सक्नु पर्दछ ।