मधेश नेपालको भौगोलिक, आर्थिक र व्यापारिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो । भारतसँगको खुला सीमा, समथर भूभाग, प्रमुख भन्सार नाका र कृषि तथा औद्योगिक सम्भावनाका कारण मधेश लजिस्टिक सेवाका लागि स्वाभाविक केन्द्र बन्न सक्ने क्षेत्र मानिन्छ । तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि मधेशमा लजिस्टिक सेवा अझै व्यवस्थित, प्रविधिमैत्री र दीर्घकालीन योजनाअनुसार विकास हुन सकेको छैन । लजिस्टिक सेवा भनेको केवल सामान ओसारपसार मात्र होइन; यसले भण्डारण, आपूर्ति शृंखला व्यवस्थापन, कोल्ड चेन, सीमा व्यापार, ढुवानी, भन्सार सहजीकरण र बजार पहुँचलाई समेट्छ । उद्यम व्यापार, उत्पादन, कृषि, पर्यटनको केन्द्र मानिएको मधेशमा लजिस्टिक सेवा सुदृढ हुन सके नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक रूपान्तरण सम्भव छ ।
मधेशको भौगोलिक अवस्थाले यसलाई लजिस्टिक सेवाको केन्द्र बन्ने विशेष अवसर दिएको छ । यो प्रदेश भारतसँग करिब ६५० किलोमिटरभन्दा लामो खुला सीमाले जोडिएको छ । समग्रमा नेपाल भारतसित १७५१ किलोमीटर खुला सिमाना जोडिएको छ । पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा र सप्तरी जिल्लाहरू भारतका बिहार र उत्तर प्रदेशका ठूला बजारसँग प्रत्यक्ष जोडिएका छन् । वीरगञ्ज, भिट्ठामोड, जलेश्वर, मटिहानी, राजविराज र लहानजस्ता नाकाहरू व्यापारिक हिसाबले महत्वपूर्ण छन् । वीरगञ्ज भन्सार नाकामार्फत मात्र नेपालको अधिकांश आयातनिर्यात हुने तथ्यले मधेशको लजिस्टिक क्षमतालाई स्पष्ट देखाउँछ । समथर भूभागका कारण सडक, रेल, वेयरहाउस, ड्राइपोर्ट र औद्योगिक करिडोर निर्माण पहाडी क्षेत्रभन्दा सहज र कम लागतमा सम्भव छ ।
हाल मधेशमा लजिस्टिक सेवाको अवस्था मिश्रित देखिन्छ । पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग र भारत जोड्ने सहायक सडकहरू भए पनि धेरै ठाउँमा सडकको अवस्था कमजोर छ । साँघुरा सडक, ट्राफिक जाम, भारी सवारीका लागि पार्किङको अभाव र वर्षायाममा सडक बिग्रिने समस्या लजिस्टिक सेवाका प्रमुख बाधा हुन्। ट्रक र कन्टेनरका लागि छुट्टै लेन नहुँदा ढुवानी ढिलो र खर्चिलो हुन्छ ।
वेयरहाउस र भण्डारण सुविधाको अवस्था पनि सन्तोषजनक छैन । मधेश कृषि उत्पादनको प्रमुख क्षेत्र भए पनि आधुनिक वेयरहाउस र सुरक्षित भण्डारण संरचनाको अभाव छ । धान, गहुँ, मकै, तरकारी र फलफूलजस्ता उत्पादनहरू उचित भण्डारण नहुँदा खेर जाने समस्या व्यापक छ । निजी गोदामहरू अव्यवस्थित छन् र सरकारी स्तरमा ठूला वेयरहाउसको योजना सीमित छन् । कोल्ड चेन प्रणाली पनि कमजोर छ । केही निजी कोल्ड स्टोरेज सञ्चालनमा भए पनि ती सीमित स्थानमा मात्र केन्द्रित छन् र साना किसानको पहुँचभन्दा बाहिर छन् । यसका कारण फलफूल, तरकारी, दुग्धजन्य वस्तु र मासुजन्य उत्पादनहरू बजारसम्म पुग्नुअघि नै नोक्सान हुन्छन् ।
भन्सार र सीमा व्यवस्थापनमा पनि लजिस्टिक चुनौतीहरू छन् । वीरगञ्ज ड्राइपोर्ट नेपालको प्रमुख लजिस्टिक केन्द्र भए तापनि भीड, प्रशासनिक ढिलाइ र प्रविधिको सीमित प्रयोगका कारण समय र लागत बढ्ने समस्या छ । अन्य सीमावर्ती नाकाहरूमा त अझै आधारभूत लजिस्टिक पूर्वाधार नै पर्याप्त छैन । डिजिटल भन्सार प्रणालीको प्रयोग बढे पनि पूर्ण रूपमा प्रभावकारी हुन सकेको छैन ।
मधेशमा लजिस्टिक सेवाको विकास किन आवश्यक छ भन्ने प्रश्नको उत्तर सीधा रूपमा अर्थतन्त्रसँग जोडिएको छ । लजिस्टिक सेवा कमजोर हुँदा कृषि र औद्योगिक उत्पादनको लागत बढ्छ, बजारमा प्रतिस्पर्धा घट्छ र किसान तथा उद्यमीले उचित मूल्य पाउँदैनन् । सुदृढ लजिस्टिक सेवाले कृषि उत्पादनको मूल्य अभिवृद्धि गर्न, औद्योगिक विकासलाई गति दिन, आयात–निर्यात लागत घटाउन, रोजगारी सिर्जना गर्न र प्रदेश तथा स्थानीय सरकारको राजस्व बढाउन मद्दत गर्छ ।
भविष्यतर्फ हेर्दा मधेशमा लजिस्टिक सेवाका धेरै अवसरहरू छन् । वीरगञ्ज, लहान, जनकपुर र राजविराजजस्ता स्थानमा मल्टिमोडल लजिस्टिक हब विकास गर्न सकिन्छ, जहाँ सडक, रेल, वेयरहाउस र ड्राइपोर्ट आपसमा जोडिएका हुन्छन् । यसले नेपाल–भारतमात्र होइन, बंगलादेश र तेस्रो मुलुकसँगको व्यापारमा पनि मधेशलाई केन्द्र बनाउने सम्भावना छ । कृषि–आधारित लजिस्टिक चेन विकास अर्को ठूलो अवसर हो । फार्म गेटदेखि बजारसम्मको सम्पूर्ण आपूर्ति शृंखला व्यवस्थित गर्न सके किसानको आम्दानी बढ्छ र उत्पादनको नोक्सानी घट्छ ।
निजीक्षेत्रको लगानीका लागि पनि मधेश आकर्षक क्षेत्र बन्न सक्छ । लजिस्टिक पार्क, वेयरहाउस, कोल्ड स्टोरेज, ट्रान्सपोर्ट कम्पनी र डिजिटल फ्रेट सेवामा ठूलो लगानी सम्भावना छ । प्रदेश सरकारले स्पष्ट नीति, कर सहुलियत र जग्गा व्यवस्थापन गरे निजीक्षेत्रको सहभागिता बढ्न सक्छ । डिजिटल प्रविधिको प्रयोगले लजिस्टिक सेवा अझ प्रभावकारी बनाउन सक्छ । जीपीएस ट्रयाकिङ, अनलाइन फ्रेट बुकिङ, डिजिटल वेयरहाउस म्यानेजमेन्ट र ईभन्सार प्रणालीले पारदर्शिता र दक्षता बढाउँछ ।
लजिस्टिक सेवाको विकाससँगै रोजगारी र सीप विकासको अवसर पनि बढ्छ । चालक, मेकानिक, वेयरहाउस अपरेटर, लजिस्टिक म्यानेजर, डेटा व्यवस्थापकजस्ता क्षेत्रमा हजारौँ रोजगारी सिर्जना हुन सक्छन् । यसका लागि प्राविधिक तालिम र सीपमूलक शिक्षा आवश्यक हुन्छ । यस प्रक्रियामा सरकारको भूमिका अत्यन्तै महत्वपूर्ण छ । प्रदेश सरकारले दीर्घकालीन लजिस्टिक नीति निर्माण गर्नुपर्छ र औद्योगिक तथा कृषि योजनासँग लजिस्टिकलाई जोड्नु पर्छ । स्थानीय सरकारले स्थानीय उत्पादन संकलन केन्द्र, साना वेयरहाउस र बजार जोड्ने सडकमा ध्यान दिनु पर्छ । संघीय सरकारले रेल सेवा, अन्तर्राष्ट्रिय व्यापार नीति र भन्सार सुधारमा सहजीकरण गर्नु पर्छ ।
भन्सार र सीमा व्यवस्थापनको कुरा गर्दा वीरगञ्ज नाका नेपालकै प्रमुख व्यापारिक द्वार हो । यहाँबाट नेपालको अधिकांश आयात–निर्यात हुन्छ । तर, यही नाकामा पनि भीड, ढिलाइ र प्रशासनिक जटिलता देखिन्छ । डिजिटल भन्सार प्रणाली सुरु भए पनि पूर्ण रूपमा प्रभावकारी हुन सकेको छैन । अन्य सीमावर्ती नाकाहरूमा त अझै आधारभूत लजिस्टिक पूर्वाधार नै अभाव छ । यदि सीमामा समय र लागत घटाउन सकियो भने मधेशले क्षेत्रीय व्यापारमा ठूलो फड्को मार्न सक्छ ।
लजिस्टिक सेवा कमजोर हुँदा उद्योगको विकास पनि प्रभावित हुन्छ । मधेशमा औद्योगिक क्षेत्रहरू भए पनि कच्चा पदार्थको ढुवानी, उत्पादनको भण्डारण र बजारसम्म पु¥याउने प्रणाली प्रभावकारी नहुँदा उद्योग प्रतिस्पर्धी बन्न सक्दैनन् । लगानीकर्ता पनि लजिस्टिक जोखिमका कारण मधेशमा उद्योग खोल्न हिच्किचाउँछन् । यसले रोजगारी सिर्जना र आर्थिक गतिविधि दुवैमा नकारात्मक असर पार्छ । तर निराश हुनुपर्ने अवस्था मात्र छैन । मधेशमा लजिस्टिक सेवाका भविष्यका अवसरहरू अत्यन्तै ठूलो छन् । सबैभन्दा पहिले, मल्टिमोडल लजिस्टिक हबको अवधारणा मधेशमा लागू गर्न सकिन्छ । वीरगञ्ज, लहान, जनकपुर र राजविराजजस्ता स्थानमा सडक, रेल, वेयरहाउस र ड्राइपोर्ट जोडिएको लजिस्टिक हब विकास गर्न सकिन्छ । यसले नेपाल–भारत मात्र होइन, बंगलादेश र तेस्रो मुलुकसँगको व्यापारमा पनि मधेशलाई केन्द्र बनाउनेछ ।
कृषि–आधारित लजिस्टिक चेन विकास अर्को ठूलो अवसर हो । फार्म गेटदेखि बजारसम्मको सम्पूर्ण आपूर्ति शृंखला व्यवस्थित गर्न सके किसानको आम्दानी बढ्छ र उत्पादनको नोक्सानी घट्छ । स्थानीय तहमा कलेक्सन सेन्टर, प्रदेश स्तरमा कोल्ड स्टोरेज र राष्ट्रिय स्तरमा वितरण नेटवर्क विकास गर्न सकिन्छ। यसले कृषि क्षेत्रलाई व्यावसायिक बनाउनेछ ।
मधेशमा लजिस्टिक सेवा विकास केवल प्रदेशको विषय होइन, यो नेपालको समग्र आर्थिक रूपान्तरणसँग जोडिएको विषय हो । भौगोलिक सहजता, कृषि उत्पादन र सीमा व्यापारको फाइदा उठाउन सके मधेश नेपालकै लजिस्टिक मेरुदण्ड बन्न सक्छ । तर, त्यसका लागि अहिले नै दीर्घकालीन योजना, संरचनागत लगानी र नीतिगत स्पष्टता आवश्यक छ । यदि अवसर गुमाइयो भने मधेश केवल पारवहन क्षेत्रमै सीमित रहनेछ । तर सही निर्णय र लगानी गरियो भने मधेश उत्पादन, भण्डारण र व्यापारको केन्द्रका रूपमा स्थापित हुन सक्छ ।