विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस कुनै न कुनै प्रकारको मृगौला (किड्नी) रोगबाट प्रभावित छन् । नेपालमा पनि मृगौला रोगको समस्या तीव्र रूपमा बढ्दै गएको छ र प्रत्येक वर्ष करिब तीन हजार नयाँ बिरामी थपिने अनुमान गरिएको छ । तर नेपालमा मृगौला रोगसम्बन्धी यकिन र अद्यावधिक राष्ट्रिय तथ्यांक अझै उपलब्ध नभएको मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ बताउँछन् ।
मृगौला मानव शरीरको अत्यन्तै महत्वपूर्ण अंग हो । शरीरमा दुईवटा मृगौला हुन्छन्, जसको मुख्य काम रगतबाट विषाक्त पदार्थ बाहिर निकालेर पिसाब बनाउनु हो । तर मृगौलाको भूमिका यतिमै सीमित छैन । मृगौलाले शरीरमा नुन र पानीको सन्तुलन कायम राख्छ, रक्तचाप नियन्त्रण गर्छ । हेमोग्लोबिन उत्पादनमा सहयोग पु¥याउँछ र भिटामिन डीलाई सक्रिय बनाउने काम पनि गर्छ । त्यसैले मृगौलामा समस्या आउँदा शरीरका धेरै प्रणालीहरू एकसाथ प्रभावित हुन्छन् ।
मृगौला रोगका सबैभन्दा ठूला कारणमध्ये मधुमेह (डायबिटिज) र उच्च रक्तचाप प्रमुख हुन् । यी दुई रोगलाई मृगौलाका ‘साइलेंट किलर’ मानिन्छ । मधुमेहका कारण रगतमा चिनीको मात्रा लामो समयसम्म बढिरहँदा मृगौलाका साना रक्तनलीहरू क्षतिग्रस्त हुन्छन् । यसले गर्दा पिसाबमार्फत प्रोटिन चुहिन थाल्छ र बिस्तारै मृगौलाको काम गर्ने क्षमता घट्दै जान्छ । त्यस्तै, उच्च रक्तचापले मृगौलाभित्रको रक्तसञ्चार प्रणालीमा दबाब बढाउँछ, जसले मृगौलाको संरचना र कार्यक्षमतामा गम्भीर असर पार्छ ।
मधुमेह र उच्च रक्तचापका अतिरिक्त ग्लोमेरोनेफ्राइटिस (मृगौलाको फिल्टरमा हुने सुजन), बारम्बार हुने युरिनरी ट्र्याक्ट इन्फेक्सन, किड्नीको पथरी, लामो समयसम्म दुखाइ कम गर्ने औषधिको अत्यधिक प्रयोग, पोलिसिस्टिक किड्नी डिजिज (जन्मजात समस्या) तथा अन्य जन्मजात विकृतिहरू पनि मृगौला रोगका प्रमुख कारण हुन् ।
मृगौला रोगको सबैभन्दा खतरनाक पक्ष भनेको प्रारम्भिक चरणमा लक्षण नदेखिनु हो । शरीरले बिस्तारै रोगसँग अनुकूलन गर्ने भएकाले सुरुआती अवस्थामा मानिसलाई कुनै असहजता महसुस हुँदैन । धेरैजसो बिरामीले आफू पूर्ण रूपमा स्वस्थ भएको ठानिरहेका हुन्छन् । तर रोग बढ्दै जाँदा हातखुट्टा र अनुहार सुन्निनु, शरीर भारी हुनु, अत्यधिक थकान महसुस हुनु, खानामा रुचि घट्नु, वाकवाकी लाग्नु, पिसाबको मात्रा घट्नु, राति बारम्बार पिसाब लाग्नु जस्ता लक्षण देखिन थाल्छन्। यी लक्षण देखा पर्दासम्म प्रायः मृगौला रोग गम्भीर अवस्थामा पुगिसकेको हुन्छ ।
मृगौला रोगलाई मुख्य रूपमा दुई भागमा वर्गीकरण गरिन्छ–आकस्मिक (एक्युट किड्नी इन्जुरी ) र दीर्घकालीन (क्रोनिक किड्नी डिजिज) । एक्युट किड्नी इन्जुरी अचानक देखिने आपतकालीन अवस्था हो, जुन गम्भीर संक्रमण, अत्यधिक रक्तस्राव, औषधिको असर वा अन्य गम्भीर रोगसँगै देखा पर्न सक्छ । समयमै उपचार भएमा यस्तो अवस्थामा मृगौलाको काम पुनः सामान्य हुन सक्छ ।
क्रोनिक किड्नी डिजिज भने बिस्तारै विकास हुन्छ र लामो समयसम्म असर गर्दै जान्छ । यस अवस्थामा मृगौलाको क्षति क्रमशः बढ्दै जान्छ र धेरैजसो बिरामीलाई मृगौला फेल हुने बेलामा मात्र रोग पत्ता लाग्छ । प्रारम्भिक परीक्षणमा युरिनमा प्रोटिन देखिनु वा रगतमा क्रेटिनिनको मात्रा बढ्नु मृगौला रोगको सुरुआती संकेत हुन सक्छ । उमेरको हिसाबले हेर्दा ४० वर्षभन्दा माथिका व्यक्तिमा मृगौला रोगको जोखिम बढी देखिन्छ । विशेषगरी मधुमेह, उच्च रक्तचाप, मुटु रोग वा दीर्घकालीन औषधि सेवन गरिरहेका व्यक्तिहरू उच्च जोखिम समूहमा पर्छन् ।
क्रोनिक किड्नी डिजिज अन्तिम चरणमा पुगेपछि डायलाइसिस वा मृगौला प्रत्यारोपणबाहेक अन्य विकल्प हुँदैन । जब मृगौलाले ९० प्रतिशतभन्दा बढी काम गर्न छोड्छ, बिरामीलाई हप्तामा दुई वा तीन पटक नियमित डायलाइसिस आवश्यक पर्छ । शरीरमा विषाक्त पदार्थ अत्यधिक जम्मा हुनु, एसिडको मात्रा बढ्नु, पिसाब अत्यन्त कम हुनु, शरीर सुन्निनु, सास फेर्न गाह्रो हुनु र औषधिले काम नगर्नु डायलाइसिस सुरु गर्नुपर्ने संकेतहरू हुन् ।
सरकारले निःशुल्क डायलाइसिस सेवा उपलब्ध गराए पनि सबै बिरामीको पहुँचमा पुग्न सकेको छैन । सरकारी सेवाबाट बाहिर परेका बिरामीहरूले डायलाइसिसका लागि ठूलो आर्थिक भार व्यहोर्नुपरेको छ । मृगौला प्रत्यारोपण दीर्घकालीन रूपमा सबैभन्दा प्रभावकारी उपचार मानिन्छ । नेपालमा ‘लिभिङ रिलेटेड डोनर’ प्रणाली लागू छ, जसअनुसार बिरामीका नजिकका आफन्त वा स्वास्थ्य मिल्ने नातेदारबाट मृगौला प्रत्यारोपण गर्न सकिन्छ ।
नेपालमा पछिल्ला १५ वर्षमा डायलाइसिस सेन्टरहरूको संख्या उल्लेख्य रूपमा बढेको छ । तर बिरामीको संख्या तीव्र रूपमा बढिरहेका कारण सेवा सहज रूपमा उपलब्ध गराउन अझै चुनौती छ । चिकित्सकहरूका अनुसार मृगौला रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय नियमित जाँच र सचेत जीवनशैली हो । सामान्य व्यक्तिले पनि वर्षमा कम्तीमा एकपटक रुटिन किड्नी जाँच गराउनु पर्छ । मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले भने अझ नियमित रूपमा परीक्षण गराउनुपर्ने आवश्यकता हुन्छ ।
मृगौला रोग प्रायः लक्षण नदेखाई लाग्ने भएकाले सानासाना शारीरिक समस्या बेवास्ता गर्नु हुँदैन । समयमै गरिएको स्क्रिनिङले रोग प्रारम्भिक चरणमै पत्ता लगाउन र उपचार सुरु गर्न सहयोग पु¥याउँछ । सचेत जीवनशैली, नियमित स्वास्थ्य परीक्षण र जोखिम समूहमा परेका व्यक्तिको विशेष ध्यान नै मृगौला रोगबाट बच्ने सबैभन्दा सुरक्षित उपाय हो । ऐजेन्सीको सहयोगमा