चुनावमा मात्र देखिने होइन, संकटमा पनि जनताको ढोका ढकढक्याउने नेता रोज्नुपर्ने सन्देश दिँदै पर्सा क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार प्रदीप यादवले मतदातालाई सचेत बन्न आग्रह गरेका छन्।
मंगलबार वीरगन्जमा आयोजित नेकपा एमालेका शुभेच्छुक पर्सा जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले जनताको सुख–दुःखमा सधैं साथ दिने नेतालाई नै विजयी गराउनुपर्ने बताए।
उनले भने, “चुनावका बेला मात्रै देखा पर्ने र अरु बेला गायब हुने नेताहरू फेरि उम्मेदवार बनेर आएका छन्। यस्ता नेताहरूबाट जनता सजग हुन जरुरी छ। जसले जनताको हरेक सुख–दुःख र आपतविपतमा साथ दिँदै आएको छ, त्यस्तालाई नै भोट दिएर जिताउनुहोस्।”
यादवले यसपटकको निर्वाचनमा पर्साका चारवटै निर्वाचन क्षेत्रमा एमालेले जनताको सुख–दुःखमा साथ दिने उम्मेदवार अघि सारेको दाबी गर्दै चारवटै क्षेत्रमा पार्टी विजयी हुने विश्वास व्यक्त गरे। “चारवटै निर्वाचन क्षेत्रमा एमालेलाई अत्यधिक बहुमतका साथ जिताउने जिम्मेवारी हाम्रो काँधमा आएको छ। हामी जिताउँछौं पनि। यो चुनावमा एमालेले जित्छ र संविधान पनि जोगाउँछ,” उनले भने।
खानेपानी मन्त्रीको जिम्मेवारीमा रहँदा वीरगन्जसहित पर्साका विभिन्न पालिकामा पानीको चरम अभाव हुँदा आफू जनताको घर–घरमा पुगेको स्मरण गर्दै यादवले संकटको समयमा जनतासँग उभिने नेता नै वास्तविक प्रतिनिधि हुने दाबी गरे। “त्यसबेला अहिले उम्मेदवार बनेर आएका कतिपय नेताहरू जनताको दैलोमा कतै देखिएनन्। तर म जनताको घर–घर पुगेँ, पानी खुवाएँ,” उनले भने।
उनले आगामी फागुन २१ गते हुने मतदानमा जनताले दुःख र विपतमा साथ दिने नेतालाई छनोट गर्ने विश्वाससमेत व्यक्त गरे।