वीरगञ्जस्थित नारायणी सेन्ट्रल अस्पतालले मेडिकल कलेज सञ्चालन गर्ने दीर्घकालीन योजना सार्वजनिक गरेको छ। अस्पतालले वीरगञ्ज तथा आसपासका क्षेत्रका नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पवन पटेलका अनुसार सञ्चालनको छोटो अवधिमै अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै चिकित्सा शिक्षातर्फ समेत कदम अघि बढाएको छ।
‘स्वास्थ्य सेवाका सबै मापदण्ड पूरा गरेर स्थापना भएको अस्पताललाई आगामी दिनमा मेडिकल कलेजका रूपमा विकास गर्ने तयारीमा छौं,’ उनले भने, ‘त्यसका लागि आवश्यक पूर्वाधार, सेवा र सुविधाको विस्तार भइरहेको छ।’
हाल १०० शय्याको क्षमतामा सञ्चालन भइरहेको नारायणी सेन्ट्रल अस्पतालमा सर्जरी, स्त्री तथा प्रसूति रोग, बालरोगलगायत सबै प्रकारका उपचार सेवा उपलब्ध छन्। डा. पटेलका अनुसार दुर्बिनमार्फत गरिने ल्याप्रोस्कोपी, पित्तथैली, प्रोस्टेट, मूत्रनलीका अपरेशन तथा पेनरहित डेलिभरी सेवामा अस्पताल यस क्षेत्रमै अग्रणी रहेको छ।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गरिब तथा विपन्न बिरामीका लागि निःशुल्क तथा न्यूनतम शुल्कमा उपचार सेवा उपलब्ध गराइँदै आएको उनले बताए।
नारायणी सेन्ट्रल अस्पतालले आगामी वर्षहरूमा सेवा र सुविधालाई अझ व्यापक बनाउने योजना बनाएको छ। अस्पतालमा आफ्नी आमाको उपचार गराइरहेका वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल केडियाले अस्पतालको सेवा, चिकित्सक, कर्मचारी तथा सरसफाइप्रति सन्तुष्टि व्यक्त गरे। उनले नारायणी सेन्ट्रल अस्पताल आगामी दिनमा यस क्षेत्रका सबै प्रकारका बिरामीका लागि आशाको केन्द्र बन्ने विश्वास व्यक्त गरे।
अस्पताल व्यवस्थापनका अनुसार नारायणी सेन्ट्रल अस्पताल नाफामुखी नभई सेवामुखी अवधारणामा सञ्चालन भइरहेको छ। आपतकालीन सेवा, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया, परामर्श सेवा तथा महिला र बाल स्वास्थ्य सेवामा निरन्तर सुधार गर्दै आधुनिक उपकरण, प्रविधि र अनुभवी चिकित्सकमार्फत बिरामी–केन्द्रित सेवा प्रवाहलाई प्राथमिकता दिइएको अस्पतालले जनाएको छ।