यमपञ्चकको रुपमा पाँच दिनसम्म मनाइने नेपालीका दोस्रो ठूलो चाड तिहार शुरू भइसकेको छ । दशैंको रमझम सकिएपछि उल्लास र उज्यालो पर्वको रुपमा तिहार आउँछ । कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू भई द्वितीया अर्थात् भाईटीका गरेर समापन हुने यो पर्वको आफ्नै महत्व छ । नेपालीहरूलाई धार्मिक, सांस्कृतिक र सामाजिक पुनर्मिलन गराउने यस पर्वको विशिष्ट महत्व रहेको छ ।
काग तिहार, लक्ष्मीपूजा, गाई तिहार, गोबद्र्धन पूँजा हुँदै भाईटीका गरी मनाइने यस पर्वले नेपालको सास्कृतिक पक्ष र धार्मिक अन्तरसम्बन्धको अन्योन्याश्रित सम्बन्धलाई थप बलियो बनाएको छ ।
नेपाल बहुभाषिक, बहुसास्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण मुलुक भएकाले यहाँ विभिन्न जातजातिका आआफ्नै संस्कृति र परम्परा विद्यमान छन् । भूगोल र सम्प्रदायअनुसार सबैका आआफ्नै रीतिरिवाज र परम्पराहरूले यहाँको सांस्कृतिक पाटोलाई फराकिलो बनाएको छ ।
नेपालमा तिहारलाई सामाजिक कोणबाट दिदीबहिनी र दाजुभाईबीच सद्भाव र पारस्पारिक मिलनको रुपमा लिइन्छ । तिहारको धार्मिक महत्वसँगै यसको सांस्कृतिक र सामाजिक पक्ष पनि महत्वपूर्ण मानिन्छ ।
यमपञ्चकको रुपमा पाँच दिनसम्म मनाइने यस पर्वको सबै दिनमा आफ्नै महत्व रहेको ज्योतिषी पण्डित छविरमण सुवेदी बताउँछन् । ‘काग तिहारदेखि भाईटीकासम्म गरिने सबै धार्मिक पूजाआजाले उनीहरूप्रतिको मोह र महत्वलाई दर्शाउँछ । कागको पूजा गर्दै शुरूवात हुने यस पर्वले कागलाई सूचनाको वाहकको रुपमा अथ्र्याउँछ । यसलाई हिन्दू परम्पराअनुसार यमराजको दूतको रुपमा समेत लिइन्छ । धार्मिक मान्यताअनुरुप यसको पूजा गर्नु यसले सबैलाई समभावको रुपमा हेर्ने समेत विश्वास गरिन्छ,’ सुवेदीले भने ।
यमपञ्चकको दास्रो दिनमा पर्ने कुकुर तिहारमा निकै श्रद्धाका साथ कुकुरको पूजा गरिन्छ । यसले घरपालुवा जनावर कुकुर जसलाई मालिकभक्त भनेर समेत बुझिन्छ ।
कुकुरको पुूजा गर्नु उप्रतिको सम्मान हो । मानव समाजमा पशुको महत्व बोध गरेर गरिने यस्ता कार्यले कुकुरप्रतिको अपनत्व प्रकट हुने र मानवलाई पशुको महत्व महशुस गर्ने एक अवसर पनि हो । आज्ञापालक इमान्दार पशुको रुपमा लिइने यसलाई पूजा गर्नु यमदूतलाई पूजा गरेको मान्यता हिन्दु धर्मले राख्दछ ।
तेस्रो दिन गरिने लक्ष्मीपूजा र गाई तिहारको नेपाली समाजमा छुट्टै महत्व छ । गाईलाई हाम्रो राष्ट्रिय जनावरको रुपमा यसको विशिष्ट महत्वको पशुका रुपमा मान्दछौं । गाईलाई हिन्दू धर्मले देवीको रुपमा श्रद्धापूर्वक पूजाआजा गर्ने गरिन्छ । यसको गहुँत र गोबर धार्मिक कार्यमा पवित्र मानिन्छ । यसलाई हिन्दू धर्मले हरेक पवित्र कार्यमा अनिवार्य मानेको सुवेदी बताउँछन् ।
‘लक्ष्मी पूजा र गाईतिहारको धार्मिक पाटो हिन्दू संस्कारमा महत्वपूर्ण छ । धनकी देवी लक्ष्मीको विशेष पूजाआजा गरिने यस दिनमा ऐश्वर्य प्राप्तिको लागि लक्ष्मीको पूजाआजा गरी घरआँगन उज्यालो बनाउने गरिन्छ । यसबाट धनसम्पत्ति आर्जन र ऐश्वर्यप्राप्ति हुने धार्मिक मान्यता छ,’ उनले भने ।
त्यसपछिको गोबर्धन पूजामा गोरुलाई पूजा गर्ने गरिन्छ । यसमा वर्षभरि अन्न उत्पादनमा मूल भूमिका निर्वाह गर्ने गोरुलाई पूजा आजा गरी मनाइने यस दिन सबैले घरघरमा गाईको गोबरले गोबर्धन बनाई त्यसको पूजा गर्ने गरिन्छ ।
सबै भन्दा महत्वपूर्ण मानिने यमपञ्चकको पाँचौँ दिनमा पर्ने भाईटीकामा दिदीबहिनीले दाजुभाईको पूजा गरी लामो आयुको कामना गर्ने यस पर्वले पारिवारिक पुनर्मिलन र भातृत्वको भावना विकास गर्ने गर्दछ । लामो समयदेखि बिछोडिएका दिदीबहिनीहरूले दाजुहरूको सम्मानमा टीका लगाइदिने र दाजुभाईले उपहार कोसेली प्रदान गर्ने गर्दछन् ।
दिदीबहिनीले भाईटीकाको दिन दाजुभाईलाई भाईटीका लगाउन पानी तथा तेलले ७ घेरा हाली छेक्नु पर्छ । फूल, अक्षता, चन्दन तथा लावाले पूजा गरी दाजुभाईको शीरमा तेल लगाइदिनु पर्छ । सगुनका रूपमा दही दिनु पर्छ ।
भाईटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन भने सयपत्री फूलको रंग कहिल्यै उडेर जाँदैन । दूबोलाई लामो आयुको प्रतीक मानिन्छ । यसरी मनाइने तिहारको आफ्नै धार्मिक महत्व छ ।
यसको सांस्कृतिक र सामाजिक पाटो पनि अत्यन्त महत्वपूर्ण रहेको सामाजशास्त्रका सहप्राध्यापक वीरेन्द्रप्रसाद साह बताउँछन् । तिहार एक सांस्कृतिक र सामाजिक महत्वको पर्वसमेत भएको उनी बताउँछन् ।
‘यही समयमा नातागोताहरू भेट हुने एक अवसको रुपमा पनि यसको महत्व रहेको छ,’ उनले भने, ‘देउसी र भैलोले यसको थप सामाजिक र सास्कृतिक पाटो उजागर गर्दछ ।’
गाउँघरमा यो समय सबै जम्मा हुने र भैलौ खेल्ने परम्परा छ जसले सामाजिक र सांस्कृतिक पाटो नीहित छ । सामाजिक विकृति विसंगति लगायत चेतनामूलक गीतसंगीतको माध्यमबाट समाजलाई सुसूचित समेत तिहारको माध्यमबाट गर्ने परम्परा हालसम्मै विद्यमान छ ।
युवादेखि वृद्धसम्म सबै आआफ्नै समूहमा खेलिने भैलोले सामाजिक सद्भाव र राजनीतिक सचेतता प्रदान गर्न मुख्य भूमिका खेलेको दृष्टान्त आजपर्यन्त कायम छ ।
‘पञ्चायतकालीन निरंकुश अवस्थामा समेत तिहारको समयमा गीतसंगीतको माध्यमबाट जनतालाई व्यवस्थाविरुद्ध सचेत बनाउन देउसी र भैलोको माध्यमबाट सचेत बनाइन्थ्यो । त्यस समयमा गाउँघरमा जागरण ल्याउन भैलो खेली राजनीतिक चेतना जगाउने काम समेत कलाकारहरूले गर्ने गर्दथे,’ शाह सम्झिन्छन् ।
यसले मानिसहरूलाई सचेत बनाउने र व्यवस्थापरिवर्तको आन्दोलनमा सांस्कृतिक कार्य देउसी भैलोले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । सामाजिक र राजनीतिक सचेतना प्रदान गर्न देउसी भैलौ खेल्ने प्रचलन थियो ।
दिदीबहिनी दाजुभाई पेशाकर्मी लगायत अधिकांश क्षेत्र र समुदायका मानिसहरू मौलिकरुपमा खेलिने देउसीभैलोले सामाजिक एकता र सास्कृतिक प्रर्बद्धनमा टेवा पु¥याएको शाहको तर्क छ ।
‘नेपालको हरेक क्षेत्रमा आआफ्नै सांस्कृतिक मूल्यमान्यताहरू छन् । यस पर्वको हाम्रो देशको सन्र्दभमा धार्मिकसँगै सामाजिक र सास्कृतिक दृष्टिले बहुआयमिक महत्व रहेको छ,’ उनले थपे ।