बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगमा श्रम समस्या चुलिँदै गएको छ । पछिल्लो समय कोरिडोरका उद्योगमा मालिक र मजदूरबीच तनाव बढ्दो क्रममा रहेको भन्दै सरोकारका पक्षले चिन्ता प्रकट गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा कोरिडोरको त्रिवेणी सिन्पेक्सका व्यवस्थापकमाथि भएको हातपातको घटना सेलाउन नपाउँदै अर्को उद्योग भगवती स्टीलमा उद्योग व्यवस्थापनले नै तालाबन्दी गरे । उद्योग सञ्चालकले सेवा सुविधामा अन्याय गरेको भन्दै त्रिवेणीका कामदारहरूले उद्योग व्यवस्थापकलाई अर्धनग्न बनाएर कुटपिट गरेका थिए ।
यता भगवती स्टीलका सञ्चालकले सरकारले हालै बढाएको न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधामा कुरा नमिलेपछि उद्योगमा ताला लगाउने अवस्था आएको बताएका छन् । उद्योग सञ्चालक र मजदूर पक्षबीच यो विषयमा कुरा नमिलेपछि उद्योग व्यवस्थापन पक्षले नै तलाबन्दी गरेको हो ।
उद्योगले यही असोज १७ गते उद्योगको गेटमा सूचना टाँसेर उद्योग अनिश्चितकालका लागि बन्द भएको जनाएको छ । पाइप उत्पादन गर्ने युनिटमा उद्योग सञ्चालक आफैंले तालाबन्दीको सूचना टाँसेपछि यो उद्योग पूर्ण रुपमा बन्द भएको हो । यो यस्तो उद्योग हो, जसको फलामे डण्डी र जस्तापाता उत्पादन गर्ने युनिट यसअघि नै बन्द भइसकेका छन् ।
उद्योगको आर्थिक अवस्था कमजोर भएकाले मजदूरको माग पूरा गर्न नसक्ने अवस्था भएपछि उद्योगमा तालाबन्दी गर्नु परेको उद्योगका वित्तीय प्रबन्धक दीपक प्रियादर्सीले बताएका छन् । उद्योगले तालाबन्दीबारे श्रम कार्यालय वीरगञ्ज र बारा जिल्लाको प्रहरी र प्रशासनलाई जानकारी गराएको छ ।
ताला खोल्नेबारे कुनै सहमति बन्न नसकेको व्यवस्थापनले बताएको छ । तर, उद्योग व्यवस्थापनको यो कदमको मजदूरले विरोध गरेका छन् । १५० जनाभन्दा बढी कामदार कार्यरत रहेको उद्योगले मजदूरलाई दशैं बोनस दिनुपर्नेमा दशैं बिदा सकेर काम गर्न उद्योगमा फर्किदा उल्टै काम गर्न नदिएको आरोप मजदूर अगुवा ओमबहादुर क्षेत्रीले लगाएका छन् । ‘दशैंमा बोनस त दिएन नै । दशै बिदालगत्तै काममा फर्किएका मजदूरलाई काम गर्नबाट पनि बञ्चित गरियो,’ उनले भने ।
सरकारले हालै बढाएको न्यूनतम पारिश्रमिक, बोनस, समाजिक सुरक्षा कोषलगायतका सुविधा दिँदा उद्योगलाई करोडौं रुपैयाँबराबरको आर्थिक भार थपिने र सो भार उद्योगले बहन गर्न नसक्ने भएपछि ताला लगाउनु परेको उद्योग व्यवस्थापनले दाबी गरेको छ ।
सरकारले न्यूनतम पारिश्रमिक बढाएकोमा तोकिएको पारिश्रमिकभन्दा बढी तलब लिइरहेका मजदूरले बढेको पारिश्रमिक बढाउन दबाब दिएर आन्दोलन गर्ने परिपाटीका कारण उद्योगमा ताला लाग्ने गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम बताउँछन् ।
बारा र पर्साका अन्य उद्योगमा पनि बारम्बार उद्योग सञ्चालक र मजदूरबीच पारिश्रमिकको विषयलाई लिएर तनाव सिर्जना भएको गौतमको दाबी छ । गौतमका अनुसार कोरिडोरमा जगदम्बा स्टील, आर्या फर्मा, जीडी फर्मा, प्राजियोकेम, हुलास स्टीललगायतका उद्योगमा बारम्बार यस्ता समस्याहरू देखा पारेका छन् ।
उद्योग बन्द हुनुमा मालिक र मजदूरबीचको तानातान पनि एउटा मुख्य कारण बनेको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल बताउँछन् । ‘हाम्रो श्रम कानून न मालिकको पक्षमा भयो, न मजदूरको पक्षमा नै देखियो । यसले त उद्योग सञ्चालक र कामदारलाई लडाउने काममात्रै बढी गरेको छ,’ राजपालको तर्क छ ।
सञ्चालक र मजदूरबीचको असझदारीका कारण बारा–पर्सामा उद्योग बन्द हुनेक्रम बढेकोले निकासका लागि सरोकारका सबै पक्षलाई गम्भीर हुन आग्रह गरिएको अध्यक्ष गौतमले बताएका छन् ।