भारतका प्रधानन्यायाधीश (सीजेआई) बीआर गगईमाथि सोमबार सर्वोच्च अदालतभित्रै एक वकिलले जुत्ता प्रहार गर्ने प्रयास गरेका छन्। तर सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएपछि घटना रोकिएको हो ।
घटना सीजेआईको नेतृत्वमा रहेको इजलासमा वकिलहरूले मुद्दा दर्ताबारे बोलिरहेका समयमा भएको हो। वकिल राकेश किशोर नाम गरेका व्यक्तिले डाइस नजिकै पुगेर आफ्नो जुत्ता खोल्दै फ्याँक्न खोजेका थिए। तर सुरक्षाकर्मीले तुरुन्तै रोकेर उनलाई अदालत परिसरबाट बाहिर निकाले। उनलाई लगिँदै गर्दा उनले “सनातनको अपमान सहँदैनौं” भन्ने चर्को स्वरमा नारा लगाएका थिए।
घटनापछि प्रधानन्यायाधीश गगईले अदालतलाई शान्त बनाउन आग्रह गर्दै भने, “यस्ता कुराले मलाई असर गर्दैन। अदालतको काम अघि बढाउन दिनुहोस्, हामी विचलित भएका छैनौं।”
खजुराहो मन्दिर विवादसँग जोडिएको विवाद
यो घटना केही दिनअघि मध्यप्रदेशस्थित युनेस्को विश्व सम्पदा सूचीमा परेको खजुराहोको जवरी मन्दिरमा भगवान विष्णुको सात फिट अग्लो मूर्तिलाई पुनर्निर्माण गरी पुनःस्थापना गर्न माग गरिएको रिट खारेज गर्ने क्रममा प्रधानन्यायाधीश गगईले गरेका टिप्पणीसँग जोडिएको देखिएको छ।
त्यस समयमा उनले निवेदकलाई उद्देश गर्दै भनेका थिए, “यो त केवल प्रचारका लागि गरिएको मुद्दा हो। यदि तपाईंलाई विष्णु भगवानमा विश्वास छ भने तपाईँ प्रार्थना र ध्यान गर्नुहोस्, उहाँलाई नै केही गर्न भन्नुहोस्।”
उनको यस भनाइलाई लिएर सामाजिक सञ्जालमा केही हिन्दू संगठनहरूले “धार्मिक विश्वासमाथि उपहास गरिएको” भन्दै विरोध गरेका थिए।
तर पछि प्रधानन्यायाधीश गगईले आफ्नो भनाइबारे प्रस्ट्याउँदै भने, “मेरो भनाइलाई सामाजिक सञ्जालमा अर्कै ढंगले प्रस्तुत गरिएको रहेछ। म सबै धर्मप्रति सम्मान राख्छु।”
सुरक्षा अनुसन्धान
सर्वोच्च अदालतको सुरक्षातर्फबाट यस घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ। वकिल किशोरको सम्भावित उद्देश्यबारे थप विवरण संकलन भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।