१ असोजमा भगवान विश्वकर्माको जन्मजयन्ती, नेपालसहित सम्पूर्ण हिन्दु समुदायले श्रद्धा र भक्तिभावका साथ मनाउँदै छन् । विश्वकर्मा पूजा हिन्दु धर्मको एक महत्वपूर्ण पर्व हो ।
विश्वकर्मालाई देव शिल्पीको रुपमा पूजा गरिन्छ । विश्वकर्मालाई सृजनाका देवता, शिल्पकला र यन्त्र प्रविधिका अधिपतिको रुपमा पनि पूजा गरिन्छ । विश्वकर्मा पूजा केवल धार्मिक पर्वमात्र होइन, यो सिर्जनात्मकता, परिश्रम, प्रविधि र श्रद्धाको संगम पनि हो । यो कर्मशील जीवनशैलीको प्रतीक हो । हामीले प्रयोग गर्ने सबै उपकरण, यन्त्र र शिल्प सामग्रीको सम्मानको सूचकको रुपमा यसलाई लिन सकिन्छ ।
विश्वकर्मा पूजालाई नेपाल, भारतलगायत हिन्दु धर्म मान्ने मुलुकमा विश्वकर्मा जयन्तीको रुपमा पनि मनाउने गरिन्छ । सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा सुनको लङ्का, द्वापरयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरका विशाल मूर्तिहरू विश्वकर्माकै अद्भुत सृजनाहरू हुन् ।
सृष्टिका पहिलो इन्जिनियर मानिएका विश्वकर्मा पूजाका अवसरमा देशभरका कलकारखाना, वर्कसप, सवारी सर्भिस सेन्टर, फलामे औजार र उपकरण उपयोग हुने स्थानहरूमा विशेष पूजा गरिने परम्परा छ । बारा र पर्साका उद्योग प्रतिष्ठानहरूमा पनि यस पटक विश्वकर्मा पूजाको तयारी भइरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम बताउँछन् ।
‘विश्वकर्मा पूजाको दिन विशेष गरी यन्त्र, उपकरण, मेसिनरी र औद्योगिक सामग्रीहरूको पूजा गरिन्छ । पूजाका दिन काममा प्रयोग हुने उपकरणलाई सफा गरी पूजाआजा गर्दा ती सामग्री लामो समयसम्म टिकाउ हुने, राम्रो काम गर्ने र प्रयोगकर्तालाई धोका नदिने विश्वास गरिन्छ,’ अध्यक्ष गौतमले भने ।
विश्वकर्मा पूजाको दिन कलकारखाना, वर्कसप, सवारीसाधन ग्यारेज, औद्योगिक क्षेत्र, फलामे औजार पसल, कम्प्युटर तथा मेशिनरी उपकरणहरू भएको स्थानमा विशेष पूजा गरिन्छ ।
मेसिनलाई सफा गरेर पूजा गर्दा उपकरण राम्रो चल्ने, टिकाउ हुने र कार्यमा सफलता मिल्ने भएकाले यो धार्मिक आस्थाको व्यावहारिक पक्ष पनि छ । सृजनात्मक कर्मका प्रतीक भगवान विश्वकर्माबाट प्रेरणा लिएर नयाँ निर्माण, सुधार र प्रगतिमा अग्रसर हुन सकिने विश्वास गरिन्छ ।
मेसिनहरूलाई सफा गरी रंगरोगन, फूलमाला, ध्वजापताका, रिवन आदि प्रयोग गरेर सजाइन्छ र तिनको पूजा गरिन्छ । विश्वकर्मा पूजाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्व छ । हिन्दु शास्त्रअनुसार भगवान विश्वकर्माले स्वर्गलोक, लङ्का, द्वारिका, इन्द्रप्रस्थजस्ता ऐतिहासिक तथा पौराणिक स्थानहरूको निर्माण गरेका थिए । इन्द्रको बज्र, विष्णुको सुदर्शन चक्र, शिवको त्रिशूल, यमराजको कालदण्डजस्ता दिव्य अस्त्र र शस्त्र पनि विश्वकर्माकै कृति हुन् ।
पौराणिक मान्यताअनुसार विश्वकर्मा भगवान ब्रह्माका वंशज हुन् । ब्रह्माका सात पुत्रमध्ये एक वास्तु थिए, जसका छोरा विश्वकर्मा थिए । वास्तु विद्या र शिल्पकलामा निपुण विश्वकर्माका पाँच छोराहरू मनु, मय, त्वष्टा, शिल्पी र दैवज्ञ शिल्पका भिन्नभिन्न विधामा प्रवीण मानिन्छन् । फलाम, काठ, तामा, इँटा, सुनचाँदीमा आधारित कला र निर्माणशैलीमा उनीहरूले विशेष योगदान दिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
आजको यन्त्र युगमा हरेक व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै न कुनै मेसिन प्रयोग गर्छ । विश्वकर्मा पूजाले मेसिनरीको सम्मान, रेखदेख, सुरक्षा र प्रभावकारी प्रयोगको सन्देश दिन्छ । यसले कर्म, सिर्जनात्मकता, परिश्रम र प्रविधिमा आस्था राख्न प्रेरित गर्ने उद्योगी राजेश क्याल बताउँछन् ।