जब जनताले आफ्नो अनुहार आफ्नो देशको शासन व्यवस्थामा देख्दैनन्, त्यतिबेला शासन पद्धतिमाथि नै वितृष्णा जन्मिन्छ । नेपालको राजनीतिक परिदृश्य पछिल्लो सात वर्षदेखि वितृष्णा जन्माउने खालकै रह्यो । ‘मन्त्री होऔंला, ठूलाठूला कुर्सीमा बसौंला भनेर हामी राजनीतिमा लागेका होइनौं । खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस्, केटाकेटीले पढ्न पाऊन्, रोगीलाई औषधीमुलोको व्यवस्था होओस् भनेर नै हामी राजनीतिमा लागेका हौं ।’ यो भनाई नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको हो ।
बीपीले भनेर गएका यी शब्दहरू मात्रै कांग्रेसका लागि नभई राजनीति गर्ने प्रत्येक दलका लागि उत्तिनै उपयोगी छन् । तर, अन्य दलले त के कांग्रेसले समेत बीपीको मर्म बिर्सियो । कुर्सीलाई आफ्नो हक ठान्ने र सत्तामा टिकिराख्न हरसम्भव जालझेल गर्ने राजनीतिक प्रवृत्तिले नागरिकमा नैराश्यता र वितृष्णाको जालो फैलाएको हो ।
आफ्नाहरूको बलिदानी दिएर, लडेर, घाइते भएर ल्याएको संघीयतालाई भ्रष्टाचार र अनियमितता लुकाउने हतियारका रुपमा प्रयोग गर्न थालियो । संघीय संरचनाअनुसार गठन भएका प्रदेश तथा स्थानीय सरकारहरूले पछिल्लो सात वर्षको अवधिमा उपलब्धि के गरे ? त्यो सम्झिन गाह्रो भए पनि उनीहरूले कत्राकत्रा भ्रष्टाचार गरे, त्यो सबैलाई याद आइराख्ने खालको भयो । रोजगारीको अभाव, भ्रष्टाचार, अनियमितता, हिंसा र दुव्र्यवहारको भूमरीमा परेका युवाहरू देश छोड्नु नै भविष्य बनाउने अन्तिम विकल्प ठान्न थाले ।
आन्दोलनकै बलमा आएको प्रादेशिक सरकार र स्थानीय तहहरूले समेत युवा र नयाँ पुस्तालाई लक्षित गरेर न कुनै ठोस योजना ल्यायो, न उनीहरूको भविष्यलाई उज्ज्वल बनाउने खालका कुनै कार्य नै ग¥यो । उल्टै अनुत्पादक क्षेत्रमा देशको ढुकुटी रित्याउने गरी लगानी गरियो । यसले नयाँ पुस्ताको वितृष्णालाई थप मलजल दिएको हो । एउटा पार्सपोर्ट बनाउन, नागरिकता लिन वा कुनै पनि सरकारी दस्तावेज बनाउन जाँदा सरकारी कार्यालयका हाकिमहरूको रवाफ र उनीहरूको रुखो व्यवहारले प्रशासनप्रति आक्रोश बढाएको हो । अनावश्यक बहानाहरू झिकेर एक झ्यालबाट अर्को झ्यालमा दौडाउने कर्मचारीहरूको प्रवृत्ति र टेबुलमुनिबाट घूस नलिँदासम्म काम नै अगाडि नबढाउने रवैयाले विधिको शासनबाट विश्वास उठेको हो । परिणाम, जेनजी आन्दोलनमा सरकारी कार्यालयहरू ‘टारगेट’ गरिए ।
देशको अन्तर्राष्ट्रिय विमानस्थलमा आमाहरूको क्रन्दन, साथीहरूको बिलौना र आफ्नालाई छोडी परदेशिन लागेकाहरूको आँशुले पटकपटक देशलाई नै रुवायो । परदेशमा ज्यान गुमाएर बक्सामा बन्द भई स्वदेश फर्किने आफ्ना नागरिकको दुर्दशा देखेर पनि हाम्रा ठूलाबडा नेताहरूको आँखा नरसाउँदाको परिणाम हो–जेनजी विद्रोह ।
हिजोसम्म बेरोजगार रहेका कुनै व्यक्ति ठूलाबडा नेताको पछाडि लाग्नेबित्तिकै र उनको भक्तिगान गाउनेबित्तिकै रोजगारीका अवसरमात्र होइन, अकुत कमाउने मौका पाउनु, दिनरात मेहनत गरेर कमाउनेभन्दा त्यस्ता आसेपासेहरूको रवाफ बढी हुनु र उसले एउटा गरिखाने वर्गलाई मानव नै नठान्नुजस्ता प्रवृत्तिले युवा पुस्तालाई गिज्याउँदै आएको हो । निर्वाचनमा योग्यताभन्दा सामिप्यतालाई महत्व दिई राजनीतिक दलहरूले चर्को मूल्य तोकेर टिकट दिने र चुनाव जितेर आएका जनप्रतिनिधिले जनताको सबैभन्दा बढी शोषण गर्ने प्रवृत्ति सह्य हुन सकिराखेको थिएन ।
हरेक क्षेत्रमा राजनीति–शिक्षकहरूको आफ्नै राजनीतिक संगठन, व्यापारीहरूको आफ्नै, चिकित्सक, इन्जीनियर, कानून व्यवसायी र यतिसम्मकी पत्रकारहरूसमेतको पार्टीपिच्छेका राजनीतिक संगठनले यो देशलाई कार्यकर्ताको देश बनाएर छाडेको हो । पार्टीमा भएन भने कुनै पनि ठाउँ पाउन गाह्रो हुने देशमा युवालाई लठैत र गुलाममै सीमित राख्ने प्रवृत्ति व्यापक भयो । चुनावका बेला युवाहरूलाई प्रयोग गर्ने, तर चुनावपछि सत्तामा युवाको अपनत्व हुन नदिनुलाई सामान्य झैं ठानिएको थियो ।
चोरबाटोबाट एकैपटक सम्पन्नताको शिखरमा पुगेर महलहरू ठड्याएका हाम्रा नेताहरूको चुरिफुरीले स्वाभिमानी नेपालीको छातीमा मुक्का हान्ने काम गर्दैआएको थियो । यी सबै सुसुप्त वितृष्णाले विद्रोहको रुप लिएर भदौ २३ गते सडकमा बालबालिकाहरूलाई उत्रिन बाध्य बनायो ।
अहिले समाजको अभिन्न अंग बनिसकेको सामाजिक सञ्जाललाई सरकारले व्यवस्थापन गर्नुको साटो प्रतिबन्धित गर्न खोज्दा जेनजीहरू आक्रोशित भएको देखिनु एउटा पाटोमात्रै हो । तर, वितृष्णाको आगो लामो समयदेखि बल्न थालिसकेको थियो ।
एकातर्फ जनताका छोराछोरीले राम्रो विद्यालयको अभावमा पढ्न नपाउनु, जागिर नपाएर विदेश पलायन हुनु, उपचार अभावमा अकालमा ज्यान गुमाउनु र अर्कोतर्फ नेताका छोराछोरीहरूले विलासी जीवन बाँच्ने प्रवृत्तिलाई देखेर जेनजी पुस्ताले सामाजिक सञ्जालमा ‘नेपो बेबी’ अभियान चलाए । तर, सामाजिक सञ्जाल नै बन्द गरिएपछि विरोध, पीडा र दुःख पोख्ने ठाउँसमेत बन्द भयो । अनि जेनजीहरू सडकमा उत्रिएका हुन् । जेनजीले देखाएको आक्रोश पार्टीगत व्यवस्थाले गुलाम बनाएको नेपाली समाजप्रति हो । यसले भ्रष्टाचारमाथि गर्व गर्नेहरूलाई आम मानिसको शक्तिसँग परिचय गराउन खोजेको हो ।
हुन त जेनजी आन्दोलनका नाममा भएका कतिपय कृत्यहरूलाई कुनै पनि हिसाबले पृष्ठपोषण गर्न मिल्दैन । सार्वजनिक सम्पत्तिमा गरिएको क्षति अपूरणीय छ । जेनजीको नाममा आपसी दुश्मनी, राजनीतिक द्वेष र कुण्ठाहरू बाहिर ल्याउने र विध्वंश मच्चाउने काम भएकै हो । जसको परिणाम स्वरुप हाम्रो देशका अमूल्य सम्पत्ति खरानी बन्न पुगे । तर, यो सबैको आडमा जेनजीहरूका मर्म र उनीहरूको मागलाई गलत सावित गर्न सकिँदैन । वितृष्णाले जन्माएको विद्रोहलाई स्वाभाविक मान्दै त्यसका माग सम्बोधन गर्नुको विकल्प छैन । भ्रष्टाचार, अनियमितता र दलहरूको दलदलबाट देशलाई निकास दिई सबै नागरिकले आफ्नो अनुहार अनुभूति गर्न सक्ने नयाँ नेपाल निर्माण गर्नु अहिलेको आवश्यकता हो ।
जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएकाले यो देशमा शान्तिको सपना देखेका थिए । उनको दोष यत्तिमात्रै थियो कि, यो देश हाँसेको, बाँचेको र स्वतन्त्र देख्न खोजेका थिए । कुनै खालको पराधीनताबाट मुक्त समाजको निर्माण गर्न खोजेका ती बालबालिकाहरू, ति किशोर र युवाहरूले पार्टीको होइन, कुनै नेताको होइन, यो देश हाम्रो हो भनेर सडकमा उत्रिएका थिए । यो बलिदानीप्रति सच्चा श्रद्धाञ्जली आवश्यक छ । देशमा व्यवस्थाभन्दा पनि अवस्था परिवर्तन हुनै पर्छ ।
मै खाऊँ, मै लाऊँ
सुख सयल वा मोज मै गरूँ
मै हासुँ, मै नाँचू
अरू सबै मरून् दुर्बलहरू
कविशिरोमणी लेखनाथ पौड्यालले भनेजस्तै हाम्रै पार्टीले सरकार चलाइराख्नु प¥यो, मै आजीवन पार्टी अध्यक्ष भइराख्नु प¥यो, मेरै श्रीमती मन्त्री हुनुप¥यो, मेरै छोराछोरी मेयर र जनप्रतिनिधि हुनुप¥यो, मेरै नियममा देश चल्नु प¥यो र जनतालाई जे भयो त्यसको कुनै मतलव नराख्दा नै देशले यस्तो दुर्दशा खेप्नु परेको हो ।
हाम्रो मधेशमा नयाँ बाली लगाउनुपूर्व खेतमा भएका कुडाकरकटलाई जलाएर खरानी बनाउने गरिन्छ र नयाँ बिरुवा लगाइन्छ । हाम्रो राजनीतिमा पनि थुप्रै कुडाकरकटहरू भइसकेका थिए । जेनजी आन्दोलनले तिनलाई सफा गर्ने प्रयास गरेको हो । अब फेरि पनि नयाँ आश, भरोसा र उर्जाका साथ देश बनाउन सबै एकजुट हुनु पर्छ । कसैको पिछलग्गु नबनी आफ्नो विवेक प्रयोग गरेर देशलाई एक नव आयाममा पु¥याउनु पर्दछ । तबमात्रै जेनजी आन्दोलनको उद्देश्यले सार्थकता पाउन सक्दछ ।