एशिया कप २०२५ को समूह ‘ए’ अन्तर्गत आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले हराएपछि उत्पन्न विवाद अझै चुलिएको छ। खेलपछि भारतीय टोलीले पाकिस्तानसँग हात मिलाउन अस्वीकार गरेपछि पाकिस्तान क्रिकेट टोलीका म्यानेजर नवीद अख्तर चिमाले म्याच रेफ्री एन्डी पाइक्रफटका सामु औपचारिक गुनासो दर्ता गराएका छन्।
यसअघि नै खेललाई लिएर वातावरण सहज थिएन। पहलगाम आतंकी आक्रमण र भारतले सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ पछि भारतमै खेल बहिष्कारको माग भइरहेका बेला दुबईमा खेल आयोजना भएको थियो। यस वर्षको सुरुवातमा कश्मीरमा भएको भीषण आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसको प्रतिक्रियास्वरूप भारतले पाकिस्तान र पाकिस्तान-अधीनस्थ कश्मीरमा रहेका आतंकी शिविरलाई लक्ष्य गर्दै अपरेशन सिन्दूर थालेको थियो।
पाकिस्तानको गुनासो
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले ह्वाट्सएपमार्फत सार्वजनिक गरेको विज्ञप्तिअनुसार, खेलअघि टसको क्रममा रेफ्री पाइक्रफ्टले पाकिस्तानका कप्तान सलमान अली आघालाई सुर्यकुमार यादवसँग हात नमिलाउन सुझाव दिएका थिए। तर, खेलपछि हात नमिलाउने कुनै निर्देशन भने थिएन।
“भारतीय टोलीको व्यवहार खेलभावनाविपरीत भएको भन्दै पाकिस्तान क्रिकेट टोलीका म्यानेजर नवीद अख्तर चिमाले औपचारिक रूपमा गुनासो दर्ता गर्नुभएको छ,” विज्ञप्तिमा उल्लेख छ।
विवादमा कप्तान आघा
भारतीय टोलीले खेलपछि हात नमिलाएपछि पाकिस्तानका कप्तान सलमान अली आघाले पनि आधिकारिक प्रसारक सोनीसँगको अनिवार्य अन्तर्वार्ता बहिष्कार गरेका थिए। पीसीबीले पुष्टि गरेअनुसार, उनले यसलाई भारतीय खेलाडीहरूको व्यवहारविरुद्धको विरोधस्वरूप नगरेका हुन्।
खेलमै देखिएको तनाव
खेल सुरु हुनुअघि नै कप्तान सुर्यकुमार यादव र सलमान अली आघाबीच न त हात मिल्यो, न त आँखा मिल्यो। तर, यसलाई ठूलो विवादका रूपमा लिइएको थिएन, किनभने भारतीय कप्तानले यसअघि युएई कप्तान मुहम्मद वसीमसँग पनि हात मिलाएका थिएनन्।
तर, नाटकीय दृश्य भने भारतले जित हासिल गरेपछि देखियो। विजयी छैठौं रन हानेपछि सुर्यकुमार र शिवम दुबे प्रत्यक्ष ड्रेसिङ रुमतर्फ लागे, पाकिस्तान टोलीसँग हात नमिलाईकनै। सुरुमा पाकिस्तान खेलाडीहरू पनि त्यस्तो औपचारिकतामा खासै चासो नदेखाएको जस्तो देखिए पनि केहीबेरमै कप्तान आघा र प्रशिक्षक माइक हेसनको नेतृत्वमा पाकिस्तानी टोली भारतीय ड्रेसिङ रुम अगाडि पुगे। तर, भारतीय व्यवस्थापनले ढोका बन्द गरी कुनै पनि सम्भावना टारेपछि वातावरण तनावपूर्ण बन्यो।
यस घटनापछि पाकिस्तान प्रशिक्षक हेसन पत्रकार सम्मेलनमै उपस्थित भई आफ्नो आक्रोश प्रकट गरे। उनले भने, “हाम्रो टोली हात मिलाउन तयार थियो, तर त्यसको प्रतिफल पाइएन।”
सुर्यकुमारको समर्पण
विजयपछि भारतीय कप्तान सुर्यकुमार यादवले भने जित भारतीय सेनालाई समर्पण गर्ने घोषणा गरे।
“हामी पहलगाम आतंकी आक्रमणका पीडित परिवारसँग ऐक्यबद्ध छौं। यो जित हाम्रो साहसी सशस्त्र फौजलाई समर्पण हो। उनीहरूको प्रेरणाले हामीलाई पनि मैदानमा अझ राम्रो गर्न उत्साहित बनाउँछ,” उनले पोस्ट–म्याच प्रस्तुतीमा भने।