शनिबार बेलायतको राजधानी लन्डनको केन्द्र क्षेत्रमा करिब १ लाख १० हजार भन्दा बढी प्रदर्शनकारीले ¥याली गरेका छन्। उनीहरूले बेलायत र इङ्ग्ल्याण्डका झन्डा बोकेका थिए भने प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको छ। यसलाई बेलायतको पछिल्लो समयको सबैभन्दा ठूलो दक्षिणपन्थी प्रदर्शन मानिएको छ।
‘युनाइट द किङ्डम’ ¥याली नाम दिइएको उक्त प्रदर्शन विवादास्पद आप्रवासीविरोधी अभियन्ता टोमी रोबिन्सनले आयोजना गरेका थिए। सोही समयमा ‘स्ट्यान्ड अप टु रेसिज्म’ समूहले आयोजना गरेको प्रतिप्रदर्शनमा करिब ५ हजार मानिस सहभागी भएका थिए।
प्रहरीका अनुसार ¥याली अत्यधिक ठूलो भएकाले निर्धारित मार्ग ‘ह्वाइटहल’ भित्र समेट्नै नसकिने अवस्था आएको थियो। ¥यालीलाई नियन्त्रणमा राख्न खोज्दा प्रहरीले ‘अस्वीकार्य हिंसा’ भोग्नु परेको बताएको छ। प्रहरीमाथि लात्ताघुँस्साको प्रहार हुनुका साथै बोतल, फ्लेयर र अन्य वस्तु प्रहार गरिएको थियो।
प्रहरीले २६ जना प्रहरी घाइते भएको पुष्टि गरेको छ, जसमा ४ जनाको अवस्था गम्भीर छ। अहिलेसम्म २५ जना पक्राउ परेका छन्। लन्डन महानगरीय प्रहरीले यो मात्र सुरुवात भएको बताउँदै दंगामा संलग्न सबैलाई चाँडै कारबाही गर्ने चेतावनी दिएको छ।
प्रदर्शनकारीहरूले बेलायतको ‘युनियन ¥याक’ र इङ्ग्ल्याण्डको रातो सेतो ‘सेन्ट जर्ज क्रस’ बोकेका थिए। केहीले अमेरिकन र इस्रायली झन्डा समेत ल्याएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित ‘मेक अमेरिका ग्रेट अगेन’ (MAGA) टोपी लगाएर सहभागी हुनेहरू पनि देखिएका थिए। उनीहरूले प्रधानमन्त्री कियर स्टारमरविरुद्ध नाराबाजी गर्दै ‘Send them home’ लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।
आयोजक रोबिन्सन (वास्तविक नाम स्टिभन याक्स्ले–लेनन) ले समर्थकहरूलाई सम्बोधन गर्दै यसलाई बेलायतमा ‘सांस्कृतिक क्रान्तिको सुरुवात’ भनेका छन्। उनले “यो हाम्रो देशलाई फर्काउने क्षण हो” भन्दै ठूलो देशभक्ति देखाएको दाबी गरे।
अमेरिकी अर्बपति एलन मस्कले भिडियोमार्फत ¥यालीलाई सम्बोधन गर्दै बेलायतमा सरकार परिवर्तनको माग गरे। उनले जनतालाई स्वतन्त्र अभिव्यक्ति गर्न डर लागेको आरोप लगाएका थिए।
यसबीच, प्रतिप्रदर्शनमा सहभागी शिक्षक बेन हेचिनले भने, “घृणाले हामीलाई विभाजन गर्दैछ। हामीले आप्रवासीलाई स्वागत गर्न सके देश अझ बलियो हुन्छ।”
शनिबार मात्र लन्डनमा दुवै प्रदर्शनलाई नियन्त्रणमा राख्न १ हजार ६ सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो, जसमा ५०० जना अन्य क्षेत्रका प्रहरी थिए। सोही दिन उच्चस्तरीय फुटबल खेल र कन्सर्ट पनि भएकाले प्रहरी थप दबाबमा परेको थियो।
हाल आप्रवासन बेलायतको प्रमुख राजनीतिक मुद्दा बनेको छ। यस वर्षमात्र करिब २८ हजारभन्दा बढी आप्रवासी सानो डुङ्गा प्रयोग गरेर इंग्लिस च्यानल पार गरी बेलायत पुगेका छन्। सडकहरूमा रातो सेतो झन्डा व्यापक रूपमा फहराइएका छन्। समर्थकहरूले यसलाई ‘देशभक्तिको लहर’ भनेका छन् भने आप्रवासीविरोधी सन्देश फैलाउने प्रयास भएको आलोचकहरूको टिप्पणी छ।