धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजारस्थित धनुषा आयल स्टोर्समा पेट्रोल बिक्री विवादका क्रममा कर्मचारी कुटपिट र १२ लाख ७५ हजार रुपैयाँ लुटपाटको घटना भएको पीडितको आरोप छ। तर, जाहेरी दर्ता नगरेको भन्दै प्रहरीले नै पिडितलाई थप पीडा दिएको गुनासो पीडित पक्षले गरेको छ।
आयल स्टोर्सका सञ्चालक ३२ वर्षीय विवेककुमार साहका अनुसार, भदौ ६ गते मध्यराति अशोककुमार साह तेली, नविन पुर्वछाने मगर, सन्तोष बलमपाखे मगर, निरज मगरसहित पाँच जनाको समूह तीन मोटरसाइकलमा आएर पेट्रोल मागेका थिए। ड्युटीमा रहेका कर्मचारी शत्रुधनकुमार साहले नेपाल आयल निगमको निर्देशनअनुसार प्लास्टिकको बोतलमा पेट्रोल बिक्री गर्न नमिल्ने भन्दै नदिँदा विवाद सुरु भएको थियो।
विवादकै क्रममा समूहले गाली–गलौज गर्दै कर्मचारीमाथि कुटपिट मात्र गरेनन्, पेट्रोल पम्पको डिस्पेन्सर नजिकैको ब्यागमा रहेको १२ लाख ७५ हजार रुपैयाँसमेत लुटेर फरार भएको जाहेरीमा उल्लेख छ।
पीडित पक्षले बिक्री विवरण, अनुगमन फाराम, निगमको विज्ञप्ति र सीसीटीभी फुटेजसहित प्रमाण बुझाए पनि जिल्ला प्रहरी कार्यालय धनुषाले जाहेरी नै दर्ता नगरेको दाबी गरेको छ। पम्प सञ्चालक विवेक साहले प्रहरी उपरीक्षक नरहरि रेग्मीमाथि गम्भीर आरोप लगाउँदै “स्पष्ट प्रमाण बुझाउँदा पनि जाहेरी दर्ता नगरेर घटना ढाकछोप गर्न खोजिएको” प्रतिक्रिया दिएका छन्।
तर, एसपी रेग्मीले भने “प्लास्टिकको बोतलमा पेट्रोल नदिँदा सामान्य धकेलाधकेल मात्र भएको” भन्दै जाहेरी दर्ता नगरेको स्पष्टीकरण दिएका छन्। उनले थपे, “सीसीटीभी फुटेजमा कुटपिट प्रमाणित भए जाहेरी दर्ता गरी कारबाही गरिनेछ।”