दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्ष पूरा भएको अवसरमा चीनले राजधानी बेइजिङस्थित तियानआनमेन स्क्वायरमा भव्य सैन्य परेड आयोजना गरेको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङका अगाडि हजारौं सैनिकहरूले आकर्षक मार्चपास गरेका थिए। परेडमा अत्याधुनिक र शक्तिशाली हतियारहरूको समेत प्रदर्शन गरिएको थियो। नेपाली समयअनुसार बिहान ६:४५ बजे सुरू भएको यो कार्यक्रम चीनको इतिहासकै सबैभन्दा ठूलो सैन्य परेड मानिएको छ।
यो अवसरलाई चीनले दोस्रो पटक भव्य समारोहका रूपमा मनाएको हो।
अन्तर्राष्ट्रिय उपस्थिति
परेड अवलोकनका लागि विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरू सहभागी भएका थिए। एशियाबाट पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ, इरानका राष्ट्रपति मसउद पेजेश्कियन, मंगोलियाका राष्ट्रपति उखनागिन खुरेल्सुख, इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तोलगायतका नेता उपस्थित भए।
त्यस्तै, काजाकस्तान, उज्बेकिस्तान, ताजिकिस्तान र किर्गिस्तानका नेताहरू पनि सहभागी भएका थिए। युरोपतर्फबाट भने स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र सर्बियाका राष्ट्रपति एलेक्जान्डर भुचिच मात्र उपस्थित भए।
अफ्रिका र क्यारेबियन मुलुकहरूबाट क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेल र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु सहभागी भए।
सी–पुटिन–किम एउटै फ्रेममा
परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन एउटै फ्रेममा देखिनु ऐतिहासिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
अवलोकनका क्रममा तीनै नेता काँधमा काँध मिलाएर हिँडेको दृश्यले विशेष ध्यान खिचेको थियो। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार यी तीन नेताहरू एकसाथ देखिएको यो पहिलो पटक हो।
भूराजनीतिक सन्देश
सिएनएनले चीन, रूस र उत्तर कोरियाबीचको नजिकिएको सम्बन्धलाई पश्चिमी मुलुकहरूको वर्चस्वलाई चुनौती दिने संकेतका रूपमा व्याख्या गरेको छ।
पछिल्लो समय चीन र उत्तर कोरियाबीच सम्बन्ध केही चिसिएको आकलन गरिँदै आएको भए पनि, यस समारोहमा किमलाई सी जिनपिङले आफैं निमन्त्रणा दिएका थिए। किम बुलेटप्रुफ रेलमार्फत चीन पुगेका थिए।
विश्लेषकहरूको भनाइमा, तीन नेताको काँधमा काँध मिलाएर हिँड्नुले विश्व भूराजनीतिमा बढ्दो ध्रुवीकरणको सन्देश दिन खोजिएको छ। साथै, चीन र उत्तर कोरियाबीचको सम्बन्ध सुधार भएको संकेत पनि यसले दिएको छ।
अमेरिकी मिडियाहरूले तीन नेताको संयुक्त उपस्थितिलाई आगामी दिनमा उनीहरूको कूटनीतिक तथा सैन्य सहकार्य टुट्ने सम्भावना न्यून रहेको सन्देशका रूपमा व्याख्या गरेका छन्।