भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले कम्तीमा ४ जनाको ज्यान गएको छ भने ५० जना बेपत्ता भएका छन्। बाढीका कारण ठूलो मात्रामा भौतिक क्षति पनि भएको छ।
उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी (डीएम) प्रशान्त आर्यका अनुसार लेदो र मलजलसहित आएको बाढीले स्थानीय पूर्वाधारमा गम्भीर क्षति पुर्याएको छ।
धाराली गाउँमा आरीघोप्टे वर्षापछि खीर गढ नालीमा आएको बाढीले गाउँका घर, होटल, पसललगायतका संरचनाहरू बगाएको हो। उक्त गाउँ भारतीय सेनाको हर्षिलस्थित शिविरबाट करिब ४ किलोमिटर टाढा पर्छ।
यस घटनापछि प्रसिद्ध धार्मिक स्थल गंगोत्री धामसँगको सम्पर्क मार्ग पूर्ण रूपमा विच्छेद भएको छ।
एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, “होटलदेखि बजारसम्म सबै कुरा नष्ट भएको छ, मैले जीवनमा यस्तो विपत्ति कहिल्यै देखेको थिइनँ।”
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै अवस्था नजिकबाट निगरानीमा राखिएको बताएका छन्। उनले वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा रही उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको उल्लेख गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, सेना र अन्य उद्धार टोलीहरू खटिएका छन्।
भारतीय सेनाले हालसम्म कम्तीमा १५ जनाको उद्धार गरिसकेको छ। अझै पनि धेरै मानिसहरू बेपत्ता रहेको र खोजी तथा उद्धार कार्य तीव्र रूपमा भइरहेको जनाइएको छ।