रोजगारीको खोजीमा भारतकाे बरेली पुगेकी एक नेपाली महिलालाई चोरीको आशङ्कामा भीडले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार, पोखरा जिल्लाकी २५ वर्षीया सुस्मिता सरु मगर (उर्फ काजल) शनिबार राति बरेलीको बारादरी क्षेत्रमा रहेको एक चिनजानको घरमा बसिरहेकी थिइन्। राति करिब १ बजे टेरेसमा फोन गर्दैगर्दा उनलाई स्थानीयले चोर ठानी भीडले कुटपिट गरेको बताइएको छ।
किला प्रहरी चौकीका अनुसार, महिलालाई देखेपछि केही स्थानीयले टर्च बालेर चिच्याउँदै उनलाई पछ्याएका थिए। डरले भाग्ने क्रममा उनी छतबाट हाम्फाली तल खसेकी थिइन्। तर त्यहीँ रहेका स्थानीयले उनलाई समातेपछि लाठी डण्डाले कुटपिट गरेका थिए।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा ती महिला हात जोड्दै बारम्बार "म चोर होइन" भनी विन्ती गर्दैछिन् तर भीड भने आक्रमण गर्न रोकिएको देखिदैन।
घाइते अवस्थामा भेटिएकी उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। उनको दुईवटा दाँत भाचिएका छन् र खुट्टामा चोट लागेको छ।
वरिष्ठ प्रहरी अधीक्षक मनुष परिकले घटनाको भिडियो र पीडितको उजुरीका आधारमा चार जनालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा गौरव सक्सेना, शिवम सक्सेना, अमन सक्सेना र अरुण सैनी रहेका छन्। सबै बारादरी क्षेत्रका बासिन्दा हुन्।
अन्य संलग्नको पहिचान र पक्राउका लागि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुस्मिता पहिले नोएडामा काम गर्थिन् तर जागिर गुमेपछि चिनजानमार्फत बरेलीमा काम खोज्न आएकी थिइन्।
प्रहरीले यस घटनामा संलग्न जोकोहीमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाएको छ।