भारतस्थित जम्मु–काश्मीरको दारा नजिकको लिडवास क्षेत्रमा सोमबार सुरक्षा निकायले ठूलो आतङ्कविरोधी अपरेशन चलाएका छन्। शंकास्पद आतङ्ककारी गतिविधिको सूचनाका आधारमा सुरु गरिएको अपरेशनमा तीन जना आतङ्ककारी मारिएका छन्।
भारतीय सेनाको चिनार कोर्प्सका अनुसार, "तीन आतङ्ककारीहरू मारिएका छन्। भीषण गोली हानाहानपछि अपरेशन अझै जारी छ।" सेनाका अनुसार, बिहान ११ बजेबाट मुठभेड सुरु भएको हो।
‘अपरेशन महादेव’ अन्तर्गत कारबाही
यो अपरेशनलाई ‘अपरेशन महादेव’ नाम दिइएको छ। हर्वन क्षेत्रको मुलनार क्षेत्रमा सुराकीका आधारमा भारतीय सेना, सीआरपीएफ र जम्मु–काश्मीर प्रहरीको संयुक्त टोलीले खोजी अपरेशन सुरु गरेको थियो।
सुरक्षाफौजले उक्त क्षेत्रमा ड्रोनद्वारा निगरानी पनि गरिरहेको छ। चिनार कोर्प्सले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) ह्यान्डलमा लेखेको छ “ओपी महादेव: लिडवास क्षेत्रमा सम्पर्क स्थापित, अपरेशन जारी।”
मारिएका आतङ्ककारी लश्कर-ए-तैयबा समूहका
श्रीनगर प्रहरी प्रमुख एसएसपी जीभी सुन्दीप चक्रवर्तीका अनुसार मारिएका सबै तीन आतङ्ककारीहरू पाकिस्तानी नागरिक हुन् र लश्कर-ए-तैयबा (LeT) आतङ्ककारी समूहसँग आबद्ध थिए।
यद्यपि, उनले यी आतङ्ककारीहरूको अप्रिल २२ मा भएको पहलगाम आक्रमणसँग प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि नभएको बताएका छन्। उनले भने, “हामी उनीहरूको विस्तृत पहिचान र पहलगाम घटनासँग सम्बन्ध छ कि छैन भन्ने पत्ता लगाउने प्रक्रियामा छौं।”
पहलगाम आक्रमणको दोषीको खोजी
यसअघि, सुरक्षाफौजले अप्रिल २२ मा पहलगाममा भएको आतङ्ककारी आक्रमणको दोषीको खोजीका लागि ठूलो स्तरको अपरेशन सुरु गरेको थियो। सो आक्रमणमा २६ जनाको ज्यान गएको थियो।
पहलगाम घटनाका सन्दिग्ध आतङ्ककारीहरू श्रीनगरबाट करिब २० किलोमिटर टाढा पर्ने दाचिगाम क्षेत्रमा लुकेका हुनसक्ने अनुमान गरिएको थियो। हालसम्म मारिएका तीन आतङ्ककारीको सो हमलासँग प्रत्यक्ष सम्बन्ध छ कि छैन भन्ने पुष्टि हुन बाँकी छ।
सुरक्षाफौजका अनुसार, अपरेशन अझै जारी रहेको र थप सहयोगका लागि अतिरिक्त फौज परिचालन गरिएको छ। दारा क्षेत्र एक अप्ठ्यारो भौगोलिक बनावट भएको ट्रेकिङ क्षेत्र भएकोले अपरेशन चुनौतीपूर्ण रहेको सुरक्षा स्रोतले जनाएका छन्।