ज्येष्ठ नागरिक महासंघको मधेस प्रदेश महाधिवेशन शनिबार वीरगञ्जमा सम्पन्न भएको छ। महाधिवेशनमा सहभागी ज्येष्ठ नागरिकहरूले सरकार तथा समाज दुवै पक्षले आफ्नो हक, सम्मान र आवश्यकता उपेक्षा गरेको गुनासो व्यक्त गरेका छन्।
महाधिवेशनमा उनीहरूले वर्तमान सरकारका कुनै पनि तहले आफूहरूको जीवनस्तर र प्राथमिक आवश्यकतालाई ध्यान नदिएको टिप्पणी गर्दै, आफूहरूप्रति रहेको सामाजिक सोच परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।
“हामी अब उपयोगी छैनौं भन्ने सोच समाजमा व्यापक रूपमा फैलिएको छ,” एक सहभागीले भने, “हामी केही गर्न सक्दैनौं भन्ने धारणा गलत हो। हामीसँग अनुभव, सीप र योगदान गर्ने क्षमता अझै छ। आफ्ना हक–अधिकार सुनिश्चित गर्न र संरचना निर्माण गर्न हामी आफैं पनि जिम्मेवार छौं।”
महाधिवेशनको प्रमुख अतिथि तथा मधेस प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालले ज्येष्ठ नागरिकको हितमा प्रदेश सरकारले विभिन्न योजना अघि सारेको जानकारी दिए।
“हामी ज्येष्ठ नागरिकको लागि बीमाको व्यवस्था गर्ने तयारीमा छौं,” मन्त्री जयसवालले भने, “योजना बनाउँदा स्थानीयदेखि प्रदेश तहसम्म उनीहरूको सुझावलाई विशेष प्राथमिकता दिइनेछ।”
उनले समाजमा ज्येष्ठ नागरिकको भूमिका अझ स्पष्ट र सम्मानजनक रूपमा स्थापित हुनुपर्नेमा जोड दिए।
महाधिवेशनमा सहभागी ज्येष्ठ नागरिकहरूले आफूहरूको आवाज बुलन्द गर्दै सरकारसँग यथाशीघ्र दीर्घकालीन नीति र कार्यक्रम ल्याउन माग गरेका थिए। कार्यक्रमको समापनसँगै सहभागीहरूले अनुभव साटासाट गर्दै आगामी दिनमा अझ सशक्त रूपमा संगठित भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।