लगातार आठ कारोबार दिनसम्म बढेपछि आज सेयर बजारमा गिरावट देखिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से सूचकांक १८.४४ अंकले ढलेर २९६४ अंकमा पुगेको हो।
बजारले आज सुरुवाती कारोबारमा उछाल लिँदै १२:५० बजे ३०१२ अंकसम्म पुगे पनि त्यसपछि बिक्री चाप बढ्ने गरेको छ। गत वर्ष साउन ३० गते बजार बन्द हुँदा नेप्से ३ हजार अंकमा पुगेको थियो भने अहिले यही अंकलाई बजारले प्रतिरोधको रूपमा सामना गरिरहेको छ। नेप्से सूचकांकले ४ वर्षअघि २०७८ साल भदौ २ गते ३१९८ अंकको रेकर्ड कायम गरेको थियो।
कारोबार रकम उल्लेख्य बढ्यो
आज कारोबार रकम पनि बढेको छ। गत बिहीबार १८ अर्ब ४९ करोड रुपैयाँ कारोबार भएकोमा आज २६ अर्ब ५७ करोड रुपैयाँ कारोबार भएको छ। यो गत वर्षको भदौ २ गतेको २८ अर्ब ८३ करोड रुपैयाँ पछिको उच्च कारोबार हो। गत वर्ष साउन ३० गते २९ अर्ब ९५ करोड रुपैयाँको अबसम्मको उच्च कारोबार दर्ता भएको थियो।
हाइड्रोपावर समूह अगाडि, ४३% कारोबार
आजको कारोबारमा हाइड्रोपावर समूह सबैभन्दा अगाडि रहेको छ। यस समूहको मात्र ११ अर्ब ६२ करोड रुपैयाँ कारोबार भएको छ, जुन कुल कारोबारको ४३% हो। विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूहको कारोबार पनि २ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।
६३ कम्पनीको मूल्य बढ्यो, १८६ को घट्यो
आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ को घटेको छ। विकास बैंक (१.२३%), उत्पादन तथा प्रशोधन (१.०८%) र व्यापार (१.४४%) समूहको मूल्य बढेको छ भने माइक्रोफाइनान्स समूह १ अंकभन्दा कमले ढलेको छ।
फाइनान्स समूह सबैभन्दा बढी १.९९% ले ढलेको छ। यसबाहेक बैंकिङ (०.७१%), होटल तथा पर्यटन (१.७९%), हाइड्रोपावर (१.०९%), लगानी (१.६६%), जीवन बीमा (१.३५%), निर्जीवन बीमा (०.६७%) र अन्य (०.८६%) समूहको मूल्य घटेको छ।
३ कम्पनीको मूल्य १०% बढ्यो
समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य १०% बढेको छ। हालै सूचीकृत ट्रेड टावरको प्रतिकित्ता मूल्य ७१३ रुपैयाँ र सान्भी इनर्जीको ६३५.६० रुपैयाँ पुगेको छ। यसबाहेक लुम्बिनी विकास बैंक (८.४७%), ग्रिन भेन्चर्स (६.२९%) र सगरमाथा जलविद्युत (६%) को मूल्य बढेको छ।
नारायणी डेभलपमेन्ट बैंक (६.३४%), राप्ती हाइड्रो (४.९९%) र बुटवल पावर (४.११%) को मूल्य घटेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा शिवम् सिमेन्ट, ङादी ग्रुप, नेपाल पुनर्बीमा, कालिका पावर र ग्रिन भेन्चर्स रहेका छन्।