नारायणी अस्पताल वीरगञ्जमा समाचार संकलनका क्रममा पत्रकार आविद हुसैनमाथि भएको दुव्र्यवहार र आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको घटनालाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यतामाथिको सीधा हमला भन्दै दोषीमाथि कडा कारबाही गर्न सरकार र सम्बन्धित निकायहरूप्रति आग्रह गरेको छ।
समाचार संकलनमा पुग्दा हातपात, मोबाइल खोसियो
शनिबार राति अस्पतालमा उपचाररत बिरामी मनिष सिंह कुर्मीमाथि भएको लापरबाही तथा दुर्व्यवहारसम्बन्धी समाचार संकलनका क्रममा पत्रकार हुसैनमाथि मेडिकल अफिसर डा. दीपक चौरसियाले हातपात गरेको, उनको मोबाइल खोसेर पाँच घण्टासम्म नियन्त्रणमा राखेको र खिचिएको भिडियो जबरजस्ती मेटाएको आरोप लागेको छ।
महासंघले विज्ञप्तिमा भनिएको छ, “सञ्चारकर्मीले आम नागरिकलाई सत्य सूचना दिन गर्ने कार्यमा रहेका बेला चिकित्सकहरूको संलग्नतामा समाचार संकलनमा अवरोध सिर्जना हुनु दुर्भाग्यपूर्ण हो।”
महासंघले मोबाइल खोसिएको र खिचिएको भिडियो जबरजस्ती मेटिएको घटनालाई “अत्यन्त आपत्तिजनक र लोकतान्त्रिक मूल्यविपरीतको कार्य” भन्दै भर्त्सना गरेको छ।
दुर्व्यवहारको निन्दा, निष्पक्ष छानबिनको माग
महासंघले घटनाप्रति कडा निन्दा व्यक्त गर्दै सम्बन्धित पक्षहरूलाई पत्रकारको सुरक्षाप्रति गम्भीर र संवेदनशील बन्न आग्रह गरेको छ। साथै, नारायणी अस्पतालमा भएको घटनाको स्वतन्त्र, निष्पक्ष र छिटो छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकार र प्रशासनलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समय पत्रकारमाथि बढ्दो दुव्र्यवहार र आक्रमणका घटनाहरूले सम्पूर्ण पत्रकारिता क्षेत्रलाई नै असुरक्षित बनाउँदै गम्भीर सन्देश दिइरहेका छन्।”
महासंघले पत्रकारको आवाज दबाउने, प्रमाण नष्ट गर्ने र सुरक्षामा हमला गर्ने कार्यहरू कुनै हालतमा सह्य नहुने स्पष्ट पार्दै, यस्ता घटनालाई प्रेस स्वतन्त्रतामाथिको सीधा हस्तक्षेपका रूपमा व्याख्या गरेको छ। साथै, पत्रकारहरूलाई निर्वाध रूपमा सूचना संकलन र सम्प्रेषण गर्न पाउने वातावरण सुनिश्चित गर्न माग गरेको छ।
महासंघले घटनाको पूर्ण छानबिन गर्दै दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न जोडदार माग राखेको छ।