पढ्ने, लेख्ने र भविष्य बनाउने सपना हरेक युवाहरुको हुन्छ । राम्रो अध्ययन गरेर भविष्यलाई सुनिश्चित गर्नु पहिलो उद्देश्य नै हो । तर, मधेशमा यसको विपरित अवस्था छ । यहाँ छोरीहरुलाई अध्ययन गराउनु पछाडी अधिकांश अभिभावकको चाहना विवाह गराउनेमा सिमित देखिएको हो ।
बालविवाहको विरुद्धमा व्यापक सचेतना कार्यक्रमहरु चलाउँदै आए पनि मधेश प्रदेशमा अधिकांश छोरीचेलीहरुलाई १२ को पढाई सक्ने बित्तिकै विवाहको दबाव भोग्नु पर्ने बाध्यता रहेको छ । अधिकांश छोरीहरुलाई १२ कक्षासम्म पनि यसै आशमा पढाइन्छ । उनीहरुलाई विवाह गर्दा राम्रो घरपरिवार भटियोस्, पढेलेखेपछि घर व्यवहार चलाउनमा सहज होस्, पढेलेखेका केटासँग विवाह गर्नकै लागि पनि छोरीहरुलाई कम्तीमा १२ कक्षासम्म पढाउने परिपाटी रहेको छ भन्ने पीडितहरुको भनाइ पनि छ ।
हाम्रो गाउँघरमा १२ कक्षाभन्दा माथि पढ्नका लागि कलेजहरु पनि छैनन् । त्यसै कारणले पनि छोरीहरुलाई बाहिर पढाउने, खर्च गर्ने र फेरी दाईजोको खर्च गरेर विवाह गर्नुको साटो जेनतेन १२ पढाएर विवाह गरिदिने चलन छ,’ रहेको धनुषाको लक्ष्मीनियाँ गाउँकी किशोरी क्लबकी अध्यक्ष प्रतिमा यादव बताइन् । बुधबार जनकपुरमा बालविवाह विरुद्ध प्रदेश स्तरीय सञ्जालद्धारा आयोजित मधेश बालिका सम्मेलन २०८२ को अवसरमा उनले यस्तो बताएकी थिइन् । ‘हाम्रो पढाई जागिर पाउनका लागि, आत्मनिर्भर हुनका लागि वा आफ्नो जीवनमा अगाडी बढाउनका लागि होइन’ उनले भनिन् । हाम्रो पढाई त विवाह गराउनका लागि मात्र हुँदो रहेछ उनले तर्क गरिन् । विवाहका बेलामा छोरीले १२ कक्षा पढेको छ भन्नका लागी मात्र पढाउने चलन रहेको प्रतिमाको आरोप छ ।
मुस्लिम समुदायका बालिकाहरुलाई विवाहका लागि अझ कम उमेरमै दबाव दिने गरेको पनि पाइन्छ । उनीहरु अभिभावककै दबावका कारण पढाई छाड्न बाध्य हुने गरेको बारा जिल्ला पुरैनियाकी उन्सा खातुनको तर्क छ । बालविवाहले छोरीहरुलाई जीवनमा अगाडी बढ्ने र स्वतन्त्र हुने अधिकार नै खोस्ने माध्यमिक कक्षामा अध्ययनरत छात्राहरुको भनाइ छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालमा सम्पूर्ण विवाहको ३५.१ प्रतिशत बालिकाहरुको बालविवाह हुने गरेको छ । त्यसमा पनि देशैभरीमा सबैभन्दा बढि बालविवाह ४२.४ प्रतिशत भएको पाइएको छ । त्यसमा पनि सबैभन्दा बढि बालविवाह धनुषामा ४७.५ प्रतिशत र रौतहटमा ४७ प्रतिशत हुने गरेको तथ्यांकले देखाउँछ । त्यसैगरी महोत्तरीमा ४३.३ प्रतिशत, सर्लाहीमा ४२.६ प्रतिशत, सिरहामा ४२.१ प्रतिशत, बारामा ४०.२ प्रतिशत, पर्सामा ३८.९ प्रतिशत र सप्तरीमा ३४.७ प्रतिशत बालविवाह हुने गरेको तथ्याँकले देखाएको छ ।
पछिल्लो समय बढ्दै गएको भागि विवाहको समस्याका कारण पनि बालविवाहको दर बढेको मधेश प्रदेश सभाकी महिला बालबालिका तथा जेष्ठ नागरिक समिति सभापति रुपमा यादवको भनाइ छ । अहिले सामाजिक सञ्जालमा दिनका दिन विद्यालयमा पढ्ने केटाकेटीहरुको भिडियोहरु सार्वजनिक हुन्छ । जसमा तिनीहरुले आफू आफ्नो घरबाट भागेर विवाह गरेको र यसका लागि कसैलाई पनि दोष नलगाउन आग्रह गरिराखेको पाइन्छ । यसरी पढ्न निस्केका बालबालिकाहरु भाग्दै विवाह गर्न थालेपछि अभिभावकका लागि समेत ठूलो समस्या बनेको यादवको तर्क छ । यो समस्यालाई रोक्नकै लागि कहिलेकाँही हाम्रा माननीयज्यूहरुले समेत विवाहको उमेर घटाउनु पर्छ भन्ने माँग नै राख्ने गरेको पनि सुनिन्छ । तर, यो गलत हो । केही घटनाहरु हुदैंमा सरकारले तोकेको विवाहको उमेर घटाउने कुरा बालिकाहरु माथि अन्याय हुने उनको सुझाव छ । त्यसैले अभिभावक सचेतनामा बढि ध्यान दिएर यस्ता घटनाहरुको न्यूनिकरण गरिनु पर्दछ ।’
एक त यसो पनि यस प्रदेशमा बालिकाहरु आफ्नो अधिकारका लागि, पढ्नका लागि संघर्ष गर्नुपर्ने बाध्यता छ । त्यसमा पनि विवाहको उमेर कम भयो भने बालविवाहले अझ बढि प्रसय पाउने निश्चित हुन्छ, ।’ महिला मानवअधिकार रक्षक सञ्जालकी राष्ट्रिय अध्यक्ष श्याम कुमारी साह भन्छिन्र्, मधेशबाट यस्तो खालको कुनै पनि नकारात्मक सन्देश जानु हुदैंन । बरु हाम्रो तीन तहका संरचनामा बसेका सरकारले छोरीमैंत्री नीतिहरु निर्माण गर्न भूमिका खेल्नु पर्दछ ।’
विवाहको उमेर घटाउनु बालबिवाहलाई मलजल गर्नु
एकातर्फ मधेशमा बालबिवाहको अत्याधिक समस्या छ भने अर्को तर्फ मधेशकै सदनमा र अहिले त संघीय संसदमै विवाह गर्ने उमेर घटाएर १८ वर्ष कायम गर्न सुझाव दिन थालिएको छ । विवाह गर्ने उपयुक्त उमेर कति हो ? भन्ने विषयमा सार्वजनिक बहस नै जरुरी छ । यो प्रश्नले जैविक, आर्थिक, सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणले समाजलाई नै प्रभावित पार्ने क्षमता राख्छ । हाम्रो देशमा जहाँ १६ वर्ष पुगेपछि नागरिकता पाउने अधिकार दिइएको छ । १८ वर्ष पुगेपछि मताधिकार प्रयोग गर्न पाउने र सवारीचालक अनुमतिपत्र लिन पाउने व्यवस्था नै छ । त्यस्तो बेला विवाह गर्नकै लागि २० वर्ष किन भन्ने प्रश्न जायज जस्तै लाग्छ । तर, प्रजनन स्वास्थ्यको हिसाबले २१ वर्षअगाडी आमा बनेकाहरुलाई कलिलो उमेरका आमा भनिन्छ । यस्तो कलिलो उमेरमा बच्चा जन्माउँदा जोखिमपूर्ण हुने कुरा विज्ञानबाट प्रमाणित छ । जनस्वास्थ्यविद्हरुका अनुसार शारीरिक र मानसिक परिपक्वताको लागि २५ देखि २६ वर्षको उमेर उपयुक्त हो । यस उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुबैका लागि राम्रो हुन्छ ।
संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले यस विषयमा पहल समेत गरेको थियो । महान्यायधिवक्ताको कार्यालयले विवाहको उमेर २० वर्षनै हुनुपर्ने सुझाव दिएपछि यो विषय हाललाई साम्य भएको हो । तर, विवाहको उमेर घटाउँदा बालविवाहलाई अझ मलजल हुने अधिकारकर्मीहरुको तर्क छ । मुलुकी देवानी संहिता, २०७४ ले विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ । ऐनमा तोकेको उमेर नपुगी भएको विवाह स्वतः बदर तथा प्रारम्भदेखि नै अमान्य हुने व्यवस्था संहितामा छ । तर, महान्यायाधिवक्ता कार्यालयले १६ वर्षमाथि र २० वर्षमुनिको उमेरमा विवाहको हकमा केही संशोधनको सुझाव दिए पनि १६ वर्षभन्दा कम उमेरमा गरिएको विवाहमा भने अहिलेकै कानून लागू गर्नु पर्ने जनाइएको पनि छ । दक्षिण एसियामै नेपालको नाम बालविवाह हुने देशमा दोस्रो नम्बरमा आउँछ । पहिलो नम्बरमा अहिले पनि बंगलादेश नै रहेको छ । पढ्ने, लेख्ने उमेरमा आर्थिक रुपले सक्षम नहुदैं विहेवारी हुँदा परनिर्भर बन्नुपर्ने बाध्यता हुन्छ । त्यसपछि शारीरिक र मानसिक तनावले जीवनलाई अझ बढि दुर्गती तर्फ लाने धेरैको ठम्याई छ ।
संयुक्त राष्टसंघ बालबालिका कोष (युनिसेफ) को सन् २०२२ को तथ्यांक अनुसार दक्षिण एसियाको २० देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरीमध्ये २८ प्रतिशतको विवाह १८ वर्ष पुग्नु अगावै हुुने देखाएको छ । आर्थिक रुपमा विपन्न, सामाजिक रुपमा पछाडी परेका र शिक्षा तथा रोजगारीको पहुँचबाट टाढा रहेका परिवारमा विवाह छिटो गर्ने क्रम बढी हुन्छ । कलिलो उमेरमा, शारीरिक र मनोसामाजिक रुपमा परिपक्वता नआउँदै र जीविकोपार्जनका लागि आत्मनिर्भर नहुँदै गर्दा बालबिवाहहरु शिक्षा, स्वास्थ्य, संरक्षण र मनोरञ्जन जस्ता आधारभूत मानव अधिकारबाट वञ्चित भएका, किशोर अवस्थामा आमा बन्दा किशोरीहरुमा प्रजनन् स्वास्थ्य समस्या आएका, मातृ मृत्यु,बाल मृत्युको जोखिम बढ्ने, बढ्दो परनिर्भरताले घरेलु हिंसा जस्ता सामाजिक कुरीति घट्न नसकिने हुनाले पनि विवाहको उमेरमा वर्तमान कानुनले २० वर्ष पु¥याएको देखाएको छ ।
कानुनी प्रावधानसँगै सरकारले बालविवाह अन्त्यका लागि २०७२ सालदेखि नै छुट्टै राष्ट्रिय रणनीति बनाएर कार्यान्वयन गरिराखेको छ । सानै उमेरमा पारिवारिक दायित्व थपिदा मानसिक चिन्ता, तनाव र डिप्रेसनले एकातर्फ घरेलु हिंसाको सम्भावनालाई प्रबल गर्न बल पुग्छ । अर्को तर्फ कलिलो उमेरको विवाहले स्वास्थ्य, शिक्षा, आर्थिक र सामाजिक क्षेत्रमा नकारात्मक असर पार्ने हुन्छ । त्यसैले बालविवाहको अन्त्यका लागि सबैको साझा प्रतिबद्धता हुनु पर्दछ ।