न्यूजिल्यान्डका स्टार ब्याट्सम्यान तथा पूर्वकप्तान केन विलियम्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट तत्काल प्रभाव लागू हुने गरी सन्न्यास घोषणा गरेका छन्। करिब १६ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा उनले टेस्ट, एकदिवसीय र टी–२० गरी कुल ३७८ खेल खेल्दै न्यूजिल्यान्ड क्रिकेटमा ऐतिहासिक योगदान दिएका छन्।
हाल इंग्ल्यान्ड भ्रमणमा रहेको न्यूजिल्यान्ड टोलीका सदस्य रहेका विलियम्सनले लर्ड्स टेस्टलाई आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल बनाएका छन्। इंग्ल्यान्डविरुद्धको जारी टेस्ट शृंखलामा न्यूजिल्यान्ड १–० ले पछि परेको अवस्थामा उनले सन्न्यासको घोषणा गरेका हुन्।
सन्न्यास घोषणा गर्दै विलियम्सनले अन्तर्राष्ट्रिय क्रिकेटप्रति आफ्नो समर्पण र प्रेम सधैं कायम रहेको बताए। उनले न्यूजिल्यान्डका लागि खेलेको प्रत्येक खेलमा आफ्नो सम्पूर्ण क्षमता दिएको उल्लेख गर्दै अब सही समयमा क्रिकेटलाई विदाइ दिन पाउँदा सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन्।
“मैले यो निर्णयबारे धेरै समयदेखि सोचिरहेको थिएँ। पछिल्ला केही दिनमा भने यही उपयुक्त समय हो भन्ने महसुस भयो,” विलियम्सनले भने, “न्यूजिल्यान्डको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मानमध्ये एक हो।”
उनले टोलीको भविष्यप्रति आशावादी रहेको उल्लेख गर्दै न्यूजिल्यान्ड क्रिकेटमा प्रशस्त प्रतिभा रहेको र आगामी वर्षहरूमा टोलीले थप सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
न्यूजिल्यान्डका मुख्य प्रशिक्षक रोब वाल्टर ले विलियम्सनलाई असाधारण खेलाडी, उत्कृष्ट कप्तान र प्रेरणादायी व्यक्तित्वको रूपमा वर्णन गरेका छन्। उनले विलियम्सन सधैं टोलीलाई व्यक्तिगत उपलब्धिभन्दा माथि राख्ने खेलाडी रहेको बताए।
विश्व क्रिकेटमा शालीनता, निरन्तरता र नेतृत्वका लागि परिचित केन विलियम्सनलाई न्यूजिल्यान्ड क्रिकेट इतिहासका महानतम खेलाडीमध्ये एकका रूपमा स्मरण गरिनेछ। उनकाे सन्न्याससँगै अन्तर्राष्ट्रिय क्रिकेटले आफ्नो एक युगको अन्त्य भएको महसुस गरेको छ।