“स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग” भन्ने मूल नारासहित लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीले वीरगञ्ज–१५, भिस्वास्थित नवदीप एकेडेमीमा एकदिने योग शिविर कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष सुशीला साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसका प्रस्तावित डिस्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डे प्रमुख अतिथि थिए । योग प्रशिक्षक तथा पूर्व प्रधानाध्यापक लालबहादुर महतो कोइरी विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले योग गरौं, निरोग रहौं भन्ने नारा केवल नारामा सीमित नभई स्वस्थ जीवनशैलीको आधार भएको बताए। उनले योगलाई आज विज्ञानले समेत स्वीकार गरिसकेको र विश्वभर यसको महत्व बढ्दै गएको उल्लेख गर्दै हरेक वर्ष विश्व योग दिवस मनाइने जानकारी दिए। विद्यालयस्तरबाटै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन हुनु सकारात्मक कदम भएको बताए ।
अध्यक्ष साहले बालबालिकालाई आत्मविश्वासी, सचेत, अनुशासित र स्वस्थ नागरिक बनाउन योग शिविरको आयोजना गरिएको उल्लेख गर्दै योगले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले दैनिक जीवनमा योग अभ्यासलाई अपनाउन सबैलाई आग्रह गरिन्।
-1781241394.jpeg)
कार्यक्रममा वक्ताहरूले योगले शारीरिक तथा मानसिक स्वास्थ्यलाई सुदृढ बनाउँदै स्वस्थ, जिम्मेवार र नैतिक नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए। उनीहरूले विद्यालय तहबाटै योगसम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिएका थिए।
योग प्रशिक्षक कोइरीले प्रशिक्षणका क्रममा योगको महत्व, सकारात्मक सोच, आत्मसम्मान, भावनात्मक सन्तुलन तथा दैनिक जीवनमा अपनाउनुपर्ने व्यवहारिक पक्षबारे जानकारी गराएका थिए। उनले विभिन्न योगासनहरूको प्रयोगात्मक अभ्यास गराउनुका साथै मानव शरीरको स्वास्थ्यमा ताली बजाउने अभ्यासको समेत महत्व रहेको भन्दै सहभागीहरूलाई समयसमयमा ताली बजाउन आग्रह गरेका थिए।

कार्यक्रम क्लबकी कविता खड्काले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, जगत राई, अभिलाष गुप्ता, आकाश पटेललगायत विद्यालयका शिक्षक, कर्मचारी तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।