अमेरिका र इरानबीच जारी सैन्य तनाव थप चर्किँदै जाँदा इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने ‘स्ट्रेट अफ होर्मुज’ अर्को सूचना नभएसम्म बन्द रहने घोषणा गरेको छ।
इरानको नवगठित पर्सियन गल्फ स्ट्रेट अथोरिटी (PGSA) ले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा अमेरिकी सैन्य गतिविधि र इरानी सशस्त्र बलको पछिल्लो घोषणापछि ‘स्ट्रेट अफ होर्मुज’ बन्द गरिएको जनाएको हो।
प्राधिकरणले यसअघि जलमार्ग प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका जहाज तथा सम्बन्धित पक्षलाई धैर्य गर्न र थप निर्देशनको प्रतीक्षा गर्न आग्रह गरेको छ।
बुधबार अमेरिकाले इरानमाथि नयाँ आक्रमण गरेपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले ‘स्ट्रेट अफ होर्मुज’ सबै जहाजका लागि बन्द गरिएको घोषणा गरेको थियो।
यद्यपि अमेरिकी केन्द्रीय कमाण्ड (CENTCOM) ले इरानको उक्त दाबीलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरूको आवागमन अझै जारी रहेको जनाएको छ। तर IRGC ले अमेरिकी दाबीलाई खण्डन गरेको छ।
यसअघि इरानले जलमार्ग पूर्ण रूपमा बन्द नभएको तर इरानी अधिकारीहरूसँग समन्वय गरेर मात्र जहाजलाई आवतजावत गर्न दिइने बताउँदै आएको थियो। अमेरिका भने जहाज सञ्चालकहरूलाई PGSA सँग सहकार्य नगर्न चेतावनी दिँदै आएको छ।
विश्वव्यापी तेल आपूर्ति र ऊर्जा व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ पछिल्ला महिनादेखि युद्धका कारण प्रभावित बनेको छ। वित्तीय संस्था JPMorgan का अनुसार हाल यस जलमार्गबाट हुने जहाज आवागमन युद्धअघिको तुलनामा करिब १५ प्रतिशतमा झरेको छ।
विश्लेषकहरूका अनुसार ‘स्ट्रेट अफ होर्मुज’ लामो समयसम्म बन्द रहे विश्व तेल बजारमा ठूलो अस्थिरता आउनुका साथै ऊर्जा आपूर्ति श्रृंखला र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्न सक्छ।